• १६ चैत २०८१, शनिबार

अमेरिकाको सुरक्षामा ग्रिनल्यान्ड

blog

अमेरिका विश्वको महाशक्ति सम्पन्न मुलुक हो । ऊ आफूभन्दा शक्तिशाली अर्को मुलुक बन्न नसकोस् भन्ने चाहन्छ । आर्थिक हिसाबले अमेरिकालाई चीनले टक्कर दिँदै छ । चीनले आफूलाई उछिल्ने हो कि भन्ने लागेर त्यसलाई रोक्न अमेरिकाले हरेक प्रयत्न गर्दै छ । चीन आफूभन्दा शक्तिशाली बने विश्व व्यवस्था, नियन्त्रण र सन्तुलनमा आँच आउने उसको ठहर छ । त्यही भएर नयाँ रणनीतिका साथ ग्रिनल्यान्ड किन्ने पक्षमा अमेरिका उभिएको छ । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड टापु किन्न खोज्नुभएको छ । उहाँले भूराजनीतिक सन्तुलन मिलाउन, मुुलुकको सुरक्षा र आर्थिक फाइदाका लागि दीर्घकालीन सोच बनाएर यो टापु किन्न खोज्नुभएको हो । यो आर्कटिक टापुमा दोस्रो विश्वयुद्धपछि अमेरिकी सैन्य अखडा कायम छ ग्रिनल्यान्ड उत्तर अमेरिकी महादेशमा पर्ने भए पनि पूरै प्रभाव युरोपको छ । डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्डमा मात्र ५७ हजार बासिन्दा छन् । डेनमार्कभन्दा ग्रिनल्यान्ड ५० गुणा ठुलो छ । 

यसको भूरणनीतिक महत्व पनि अत्यधिक छ । त्यही भएर नै त्यहाँ डेनमार्कको भन्दा अमेरिकाको सैन्य उपस्थिति धेरै छ । ग्रिनल्यान्डमा डेनमार्कले ७५ सैनिक, केही जहाज र कुकुरले तान्ने स्लेड अनि एउटा निगरानी विमान तैनाथ गरेको छ । ग्रिनल्यान्डको उत्तरी भेगमा पिटुफिक स्पेस बेसमा दुई सय अमेरिकीका साथै उसका सहयोगी मुलुकका ४५० सैनिक छन् । जहाँ अमेरिकाको क्षेप्यास्त्र चेतावनी प्रणाली, अन्तरिक्ष निगरानी र स्याटलाइट कमान्डसमेत छ । उत्तरी ध्रुवबाट मात्र १५ सय किमिको दुरीमा रहेको यो अमेरिकी अखडाले ग्रिनल्यान्ड अमेरिकाको सुरक्षाका लागि कति महìवपूर्ण छ भन्ने देखाउँछ । 

अमेरिकाका लागि आर्कटिकमा चिनियाँ र रुसी चासो प्रमुख चुनौती हो । अमेरिकाले आर्कटिकलाई भूराजनीतिक प्रतिस्पर्धाको थलोका रूपमा लिन थालेको छ । ग्रिनल्यान्डबाट अरू महाशक्तिलाई बाहिर राख्नु अमेरिकाका लागि महìवपूर्ण हुने छ । जलवायु परिवर्तनले आर्कटिकको हिउँ पग्लिँदै जाँदा यो ठाउँको भूरणनीतिक महत्व झनै बढ्दै गएको छ । जसका कारण यहाँबाट नयाँ व्यापार मार्ग खुल्ने छन्, जसले अमेरिका, चीन र रुसबिच यहाँ नयाँ खालको प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । सन् २०१९ मा पहिलो पटक ट्रम्पले आर्थिक पक्षलाई जोड दिँदै ग्रिनल्यान्ड किन्ने प्रस्ताव गर्नुभएको थियो । “राष्ट्रिय सुरक्षाका कारण ग्रिनल्यान्ड हामीलाई चाहिएको छ,” उहाँले भन्नुभएको थियो ।

ग्रिनल्यान्डमा ठुलो खनिज र तेल भण्डार रहेको छ । सोही कारण ट्रम्प जसरी पनि ग्रिनल्यान्ड हात पार्न चाहनुहुन्छ । ग्रिनल्यान्ड अमेरिकाको हिस्सा हुने गरी कुनै सम्झौता हुने विषयमा गम्भीरतापूर्वक सोच्न थालिएको छ । १७ औँ शताब्दीमा डेनमार्कले फ्रान्सबाट सेन्ट क्रोइ किनेको थियो । सो स्थानलाई सन् १९१६ मा अमेरिकाले किन्यो । जुन अहिले भर्जिन आइल्यान्ड्सको हिस्सा छ । यसै गरी ग्रिनल्यान्ड किन्न सकिने भए पनि त्यहाँका बासिन्दामा अमेरिकाको हिस्सा बन्ने चाहना नहुन सक्छ । ग्रिनल्यान्डका प्रधानमन्त्रीले भने यो टापुलाई स्वतन्त्र बनाउन जोड दिनुभएको छ । उहाँले ग्रिनल्यान्ड बिक्रीमा नरहेको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले यो टापु किन्ने वा कब्जा गर्ने जुनसुकै उपाय अवलम्बन गर्ने कुरालाई नकार्नु भएको छैन । ग्रिनल्यान्डले स्वतन्त्र हुने निर्णय गरे पनि अमेरिकाले उसलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ । यस्तो सम्झौता उसले माइक्रोनेसिया, मार्सल आइल्यान्ड र पालाउसँग पनि गरेको छ । त्यस्तो सम्झौताले त्यहाँको सैन्य अधिकार अमेरिकालाई दिने छ । त्यसो हुँदा आर्कटिक जलमार्गमा चिनियाँ पहुँच र मुरमान्स्कस्थित रुसी हवाई तथा सैन्य अखडामा निगरानी गर्न अमेरिकालाई सहज हुने छ । यो भनेको लगभग हाल ग्रिनल्यान्ड र डेनमार्कबिच रहेको व्यवस्था जस्तै हो । ट्रम्पले ग्रिनल्यान्ड किन्न पाउनुभएन वा कुनै रक्षा सम्झौता पनि भएन भने उहाँले त्यहाँ सैन्य अखडा थप्न सक्नु हुने छ । 

सन् २०१९ मा ट्रम्पले ग्रिनल्यान्ड किन्ने प्रस्ताव गर्दा आलोचना भयो । जसका कारण उहाँको डेनमार्कको राजकीय भ्रमण पनि रद्द भयो । छ वर्षपछि ट्रम्पले पुनः अमेरिकी राष्ट्रपति पद सम्हाल्दा यस विचारलाई फेरि अघि सार्नुभएको हो । २०२५ को जनवरी ८ मा उहाँले आफ्नो गम्भीरता देखाउन छोरा डोन जुनियर र प्रतिनिधिलाई ग्रिनल्यान्ड पठाउनुभयो । ट्रम्पलाई ग्रिनल्यान्ड किन्न आर्थिक कोणबाट कुनै समस्या देखिँदैन किनभने उहाँलाई खर्बपति एलन मस्कको वित्तीय समर्थन छ । ग्रिनल्यान्ड प्राप्त गर्न खोज्ने अमेरिकाको नीति नौलो भने होइन । अमेरिकाले ग्रिनल्यान्डलाई सन् १८६८ देखि नै लिने प्रयास गर्दै आएको इतिहास छ, जसमा सन् १९४६ मा राष्ट्रपति ह्यारी एस ट्रुम्यानको प्रयास उल्लेखनीय छ ।

ग्रिनल्यान्डप्रतिको ट्रम्पको पुनर्जागृत चासो अमेरिकाको भौगोलिक विस्तारको पुरानो परम्परासँग मेल खान्छ । सन् २०१९ को तुलनामा यो प्रस्ताव अहिले धेरै तर्क सङ्गत देखिन्छ किनभने ग्रिनल्यान्डमा धेरै महत्वपूर्ण खनिजको ठुलो भण्डार छ । त्यहाँ ऊर्जा प्रविधिका लागि आवश्यक ५० मध्ये ४३ खनिजको भण्डार छ । चीनले व्यापार युद्धका क्रममा खनिज निर्यातमा कडाइ गर्दै गएपछि ग्रिनल्यान्डका स्रोतमा पहुँच पाउनुले अमेरिकी आपूर्ति शृङ्खलाको सुरक्षा बढाउन र चीनको दबाब कम गर्न मद्दत पु¥याउन सक्छ ।

ग्रिनल्यान्डको रणनीतिक अवस्थितिले यसलाई अमेरिकाका लागि थप मूल्यवान् बनाएको छ । त्यहाँ रहेको ‘पिटुफिक’ स्पेस आधार अमेरिकी क्षेप्यास्त्र प्रारम्भिक चेतावनी र रक्षा प्रणालीका लागि महत्वपूर्ण छ र यसले अन्तरिक्ष निगरानीमा मुख्य भूमिका खेल्छ । भविष्यमा यो आधारको विस्तारले आर्कटिक महासागर र उत्तर एटलान्टिकमा रुसी नौ सेनाका गतिविधि निगरानी गर्ने अमेरिकी क्षमता बढाउन सक्छ । ट्रम्पको सम्झौता सफल भयो र ग्रिनल्यान्डमा अमेरिकी सार्वभौमसत्ता कायम भयो भने प्रतिद्वन्द्वी विशेषतः चीनलाई ग्रिनल्यान्डमा पकड जमाउनबाट रोक्न सकिन्छ । यद्यपि चीनको खतरा धेरै चिन्ताको विषय नहुन सक्छ । किनभने ग्रिनल्यान्ड नेटो सदस्य डेनमार्कको हिस्सा रहेको अवस्थामा डेनमार्कले वार्षिक करिब ५० करोड अमेरिकी डलर अनुदानबाट त्यहाँको अर्थतन्त्र चलाइरहेको छ । ग्रिनल्यान्डको स्वतन्त्रता जसको समर्थन क्रमशः बढ्दै गएको छ, त्यसले थप र न्यून नियमन गरिएको विदेशी लगानीका लागि ढोका खोल्न सक्छ । यस्तो अवस्थामा चीनले लगानी गर्ने अवसर पाएमा यसले बलियो उपस्थितिको प्रयास गर्ने सम्भावना छ ।

रुस र चीनबिच बढ्दो सुरक्षा सहयोग र रुसको बढ्दो सैनिक आक्रामकतालाई हेर्दा ट्रम्पको तर्क थप विश्वसनीय देखिन्छ । क्यानडा, डेनमार्क र नर्वेले हालै आर्कटिक क्षेत्रमा बढ्दो रुसी र चिनियाँ प्रभावलाई रोक्ने प्रयास गरेका छन् । त्यसैले ट्रम्पको प्रस्ताव गलत आधारमा गरिएको हो भन्न मिल्दैन । विशेषतः बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका समयमा आर्कटिक क्षेत्रमा बढ्दो रुसी र चिनियाँ प्रभाव एक सुरक्षा समस्या हो । यस सन्दर्भमा ग्रिनल्यान्डले अमेरिकाका लागि विशेष र महìवपूर्ण सुरक्षा चुनौती पेस गर्छ ।

ग्रिनल्यान्डको अर्थतन्त्र तीन अर्ब डलरभन्दा केही ठुलो छ । यहाँका बासिन्दालाई खुसी पार्न डेनमार्कले हरेक वर्ष झन्डै ६० करोड डलर बाँड्छ । त्यही भएर इन्युइट आदिवासी समुदायको बहुल ग्रिनल्यान्डको प्रतिव्यक्ति आय ५७ हजार डलर छ । यो युरोपेली सङ्घको औसतभन्दा बढी हो ।

थोरै जनसङ्ख्या भएको र बर्सैभरि हिउँले ढाकिने भए पनि ग्रिनल्यान्डको जमिनमुनि तेल र खनिज पदार्थ धेरै छ । ग्रिनल्यान्डले सन् २००९ मा डेनमार्कसँग सम्झौता गरेर आफ्नो जमिनमुनि रहेको खनिज पदार्थमा पूर्ण नियन्त्रण स्थापित गरेको छ । त्यो सम्झौता अनुसार ग्रिनल्यान्डले खनिज पदार्थबापत बर्सेनि जति कमाउँछ, त्यति नै मात्रामा डेनमार्कबाट पाउने सहायता घट्ने छ ।

पृथ्वीका दुई ध्रुव धेरै साँघुरा छन् भने बिचको भाग फैलिएको छ । संसारको प्रायः जनसङ्ख्या उत्तरी गोलाद्र्धमा छ । साँघुरो उत्तर ध्रुवीय क्षेत्रमा पनि पानीजहाज चल्न थाले अमेरिका, युरोप र एसियाका बजारबिच व्यापार गर्न एकदमै सजिलो हुने छ । यसले ती महादेशबिच सामान ओसारपसार गर्न कम समय लाग्छ । खर्च पनि ह्वात्तै घट्छ ।

पहिले पहिले अत्यधिक चिसोका कारण आर्कटिक सागर पूरै बरफले ढाकिएको थियो । पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले बरफ पग्लिन थालेको छ । उत्तरी ध्रुव नजिकको आर्कटिक सागर पग्लिँदै गए ध्रुवीय क्षेत्रमा पनि पानीजहाज चल्न सक्छन् । त्यसैले ग्रिनल्यान्डमा जसले नियन्त्रण गर्छ, उसले यो छोटो सामुद्रिक रूटको व्यापारिक फाइदा लिन सक्छ ।

अमेरिकाले सबभन्दा पहिला सन् १८०३ मा लुइजियाना राज्य एक करोड ५० लाख डलरमा फ्रान्ससँग किनेको थियो । त्यसको झन्डै ६५ वर्षपछि एन्ड्रयु जोन्सन राष्ट्रपति हुँदा सन् १८६७ मा अमेरिकाले ग्रिनल्यान्डभन्दा अलि सानो क्षेत्रफलको अलास्का ७२ लाख डलरमा रुसबाट किनेको थियो । त्यतिबेला जोन्सन भीषण गृहयुद्धपछिको पुनर्निर्माणमा व्यस्त रहेकाले अलास्का किन्दा विदेशमन्त्री विलियम सेवार्डले मोलमोलाइ गर्नुभएको थियो । 

अमेरिकाले डेनमार्कबाट पनि जमिन किनेको उदाहरण छ । सन् १९१७ मा अमेरिकाले अहिले युएस भर्जिन आइल्यान्ड्स भनेर चिनिने टापुहरू दुई करोड ५० लाख डलरमा डेनमार्कबाट किनेको थियो । दोस्रो विश्वयुद्धपछि तत्कालीन राष्ट्रपति ह्यारी ट्रुमेनले पनि सय करोड डलरमा ग्रिनल्यान्ड किन्न खोज्नुभएको थियो । उहाँको प्रस्ताव डेनमार्कले अस्वीकार गरेको थियो ।