• ७ चैत २०८१, बिहिबार

आर्टिफिसियल इन्टेलिजेन्सले भाषा, साहित्यमा असर पार्ने

blog

आर्टिफिसियल ईन्टेलिजेन्सको युगमा भाषा, साहित्य र प्रेसको स्थान विषयक बौद्धिक छलफल कार्यक्रममा सहभागीहरू ।

मेरिल्याण्ड (अमेरिका), चैत ६ गते । अमेरिकामा रहँदै आएका विभिन्न क्षेत्रका ज्ञाता, प्रवुद्ध वर्ग तथा पत्रकारहरुले पछिल्ला वर्षहरुमा विकसित हुँदै गएको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल ईन्टेलिजेन्स–एआई) ले भाषा, साहित्य र मिडियामा गम्भीर असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

एआईको प्रयोगबाटट सिर्जना हुने विभिन्न सामग्रीहरुले सृजनात्मकता र यथार्थतामा चुनौती सृजना गर्ने उनीहरुको भनाइ छ ।

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको आर्टिफिसियल ईन्टेलिजेन्सको युगमा भाषा, साहित्य र प्रेसको स्थान विषयक बौद्धिक छलफल कार्यक्रमलाई सम्बोधन गर्दे अनेसासका वोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष डा श्याम कार्कीले एआईको प्रयोगले भाषा,साहित्य र मिडियाको क्षेत्रमा सहज बनाए पनि यसले साधन र तपस्या नगर्ने सर्जकहरुलाई समेत स्थापित गराउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले राज्यको विधेयक तयार पार्दा त्यसमा सरकारले गर्ने नियमन तथा अनुगमनको सामग्री एआईले तयार पारेको भएको खण्डमा जटिलता ल्याउन सक्ने बताउनु भयो । उहाँले थप्नु भयो – एआईको उपयोगले भाषा,साहित्य तथा प्रेसमा केही अनुसन्धान गर्न सहज हुन सक्छ तर त्यसमा भर पर्दा अप्ठयारो आउन सक्ने सम्भावना छ ।

कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले यस पटक संयुक्त राष्ट्रसंघको फोरममा एआई र महिलाको असरको वारेमा धेरै सिक्ने मद्दत गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । मिडियाको क्षेत्रमा यो विषयमा घनिभूत छलफल आवश्यक भन्नुहुँदै भण्डारीले विदेशमा बसेर हासिल गर्नुभएको नवीनतम विषयको ज्ञानलाई मातृभूमिको लागि उपयोगी बनाउन अनुरोध गर्नुभयो ।

साहित्यकार तीर्थ पाण्डेयले साहित्य र सृजनाको क्षेत्रमा यस्ता विषयले प्रभाव पार्ने र कविताको मर्म थाहा नपाउनेहरु कवि हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

पत्रकार मधुकर अधिकारीले भाषा, साहित्य र सञ्चारक्षेत्रले वैज्ञानिक प्रविधिको उपयोग गर्नुपर्ने तर त्यसमा सृजनात्मक चेत र क्षमतालाई सँगै जोडेर लैजानु पर्छ भन्नुभयो ।

मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. कृष्ण विष्टले एआईको प्रयोगलाई एउटा उपयोगी उपकरणको रुपमा आत्मसात गर्नुपर्छ, तर त्यसलाई उपयोग गर्दा तथ्यगत संरचनाको जाँच गर्नु अपरिहार्य रहेको छ ।

पत्रकार गौतम दाहालले एआईलाई पत्रकारिताको क्षेत्रमा उपयोगी बनाउन यसको अध्ययन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मिडिया क्षेत्रले लिथो मेशीनबाट एआईको जमाना अनुसार आफूलाई परिमार्जन गद्र्यै लैजानेमा विश्वस्त रहको बताउनु भयो ।

कार्यक्रममा विष्णु वराल, एनआरएनका दुर्गाप्रसाद श्रेष्ठ, गीतकार तथा अनेसास मेरिल्याण्ड च्याप्टरका महासचिव सहदेव कोईराला, अमर छन्त्याल लगायतका व्यक्तित्वहरुले आ आफनो मन्तव्य राख्नु भएको थियो ।