फडिन्द्र अधिकारी
लेखनाथ, फागुन ६ गते। इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी हुनुभएको छ। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवारलाई निकै पछि छाडेर धामीले जित हात पार्नुभएको हो।
दार्चुलाका बासिन्दा धामी सिभिल चौथो वर्षका विद्यार्थी हुनुहुन्छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल समाजवादीका आवद्ध धामी अध्यक्षमा भने एकल रुपमा स्वतन्त्र हैसियतमा उम्मेदवार बन्नुभएको हो। यहाँले सात सय १६ मत पाउनुभएको छ।
अध्यक्षका उम्मेदवार अनेरास्ववियुका अनुप न्यौपानेले चार सय ४९, अनेरास्ववियु (क्रान्तिकारी)का आदर्श महत क्षत्रीले एक सय ७८ र नेपाल विद्यार्थी सङ्घका सौगात पण्डितले तीन सय ४६ मत पाउनुभएको छ। सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का हरिकृष्ण खड्का नौ सय २१ मतसहित विजयी हुँदा अनेरास्ववियुका उम्मेदवार विनायक भुवाजीले सात सय चार मत पाउनुभयो।
कोषाध्यक्षमा पनि अनेरास्ववियु (क्रान्तिकारी)कै उम्मेदवार विजयी हुनुभएको छ। क्रान्तिकारीका सशिस सापकोटा छ सय ९९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अनेरास्ववियुका रोहितकुमार शाहले पाँच सय ८७ मत पाउनुभएको छ।
सदस्यमा अनेरास्ववियुबाट अश्रान्त पहारी, पूर्णिमा अछामी, अंकित गैरे, अमृत बस्नेत र रुपेश पौडेल निर्वाचित हुनुभएको छ। नेविसंघबाट सक्षम भण्डारी चुनिँदा अखिल क्रान्तिकारीबाट तिकिता पाठक चुनिनुभएको छ।
कास्कीमा रहेका त्रिभुवन विश्वविद्यालयका तीन आङ्गीक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मङ्गलबार मतदान भएको थियो। दुई क्याम्पसमा बुधबार भएको निर्वाचनको परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ।
चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल विजयी भएको छ। प्रतिभा भण्डारी अध्यक्ष चुनिँदा, सचिवमा सलिना श्रेष्ठ, कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित हुनुभएको छ।
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल विजयी बनेको छ। अध्यक्षमा अनेरास्ववियुका अभिषेक शर्मा र सचिवमा क्रान्तिकारीका गौरव खड्का र कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ चुनिनुभएको छ।
पिएन, संस्कृत र जनप्रियमा अनिश्चित
कास्कीमा स्ववियु चुनाव हुने तीन क्याम्पसमा भने चुनाव अनिश्चित बनेको छ। पृथ्वीनारायण क्याम्पसमा मङ्गलबार बिहान ८ बजे मतदान सुरु भएपछि मतपत्रमा एक जना उम्मेदवारको रेजा लगाउने ठाउँ नभएपछि विवादका कारण स्थगित मतदान अनिश्चित बनेको छ। अखिल (छैटौं)बाट स्ववियु अध्यक्षका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स मतपत्रमा छुटेको थियो।
मतपत्र सच्याएर निर्वाचन गर्ने प्रयास भए पनि अखिल (छैटौं) सहितका केही विद्यार्थी सङ्गठनले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्यो सफल हुन सकेन। यहाँ स्वतन्त्रसहित आठ जना अध्यक्षका उम्मेदवार छन्। निर्वाचन समितिले अर्काे सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरेको छ।
गण्डकी प्रदेशको उत्कृष्ट सामुदायिक क्याम्पसमा रूपमा परिचित जनप्रिय बहुमुखी क्याम्पसको स्ववियु निर्वाचत स्थगित भएको छ। क्याम्पस प्रमुख कृष्णबाबु बरालले चैत्र ४ सूचना प्रकाशित गरी निर्वाचन स्थगित भएको जनाउनुभएको थियो। निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गरी केही विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन्। यहाँ दुई हजार चार सय ३३ विद्यार्थी मतदाता छन्।
पोखरामा रहेको विन्दुवासिनी संस्कृत विद्यापीठ (संस्कृत क्याम्पस)को निर्वाचनसमेत तालाबन्दीले प्रभावित बनेको छ। नेपाल संस्कृत विश्वविद्यालयको आङ्गीक क्याम्पस विन्दुवासिनीमा सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन स्वतन्त्र विद्यार्थी समूहले तालाबन्दी गरेको थियो।
यहाँ चैत १० गते निर्वाचन गर्ने तय छ। यहाँ नेपाल विद्यार्थी सङ्घ, स्वतन्त्र समूह, अनेरास्ववियु, र अनेरास्ववियु (क्रान्तिकारी) गरी चार विद्यार्थी सङ्गठन÷समूहले संस्था दर्ता गराएका छन्। एक सय १२ मतदाता रहेको यो क्याम्पसको परीक्षाको मुखैमा चुनाव गर्न लागिएको, राजनीतिक दलहरुले अनावश्यक दबाब दिएको भन्दै स्वतन्त्र समूहले गरेको तालाबन्दी जारी छ। निर्वाचन समिति संयोजक राधाकृष्ण गैरेले क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थीका सङ्घ, समूहबिच वार्ता गरी निर्वाचन तोकिएकै मितिमा गर्ने प्रयास जारी रहेको जनाउनुभयो।