अर्जुन कार्की
बागलुङ (काठेखोला), चैत ६ गते । स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि बागलुङस्थित धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुकी आश्मिन शेख विजयी हुनुभएको छ ।
बुधबार विहान सम्पन्न मत परिणामअनुसार अखिल संयुक्तबाट उम्मेदवार बन्नुभएकी अनेरास्ववियुकी शेखले ५५२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यले ४९१ ले मत प्राप्त गर्नुभयो ।
सभापतिमा उम्मेदवारी दिए पनि नेविसंघकी उम्मेदवार आचार्यलाई समर्थन गर्नुभएका दिपक सुवेदीले ७ मत प्राप्त गर्नुभयो । शेख धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित हुने पहिलो महिला बन्नुभएको छ ।
सचिवमा नेविसंघका सचिन हरिजन ५३४ मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारी (अखिल संयुक्त प्यानल) का रुद्रबहादुर पुनले ५०९ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा पनि नेविसंघका बिशाल थापाले ६५४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्त प्यानलकी रेशा शर्माले ३८४ मत प्राप्त गर्नुभयो ।
सदस्यहरूमा नेविसंघका ७ र अनेरास्ववियका १ जना उम्मेदवार विजयी भएका छन् । नेविसंघका प्रशान्त सुवेदीले ६१२, दीपसागर सुवेदीले ६११, सुदिप घर्ती मगरले ५५८, सृष्टि घर्तीले ५४३, सुवासबाबु घर्तीले ५२२, सेमान्त शर्माले ५१८ र शुभम राजभण्डारीले ४९६ र अनेरास्ववियुका विकल्प घर्ती मगरले ५६४ मत प्राप्त गरी विजयी भएका हुन् ।
बागलुङको एक मात्र आङ्गिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसमा मंगलबार भएको मतदानमा १ हजार ५९ मत खसेको थियो । क्याम्पसमा १ हजार ४ सय ७६ मतदाता रहेका थिए । निर्वाचनमा कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको थियो । एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए ।