• १९ चैत २०८१, मङ्गलबार

हेटौँडा क्याम्पसमा अनेरास्ववियुका मैनाली विजयी

blog

हेटौँडा क्याम्पस स्ववियु अध्यक्षमा निर्वाचित अभि मैनाली । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत ६ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौँडा क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित हुनुभएको छ । बुधवार बिहान सम्पन्न भएको मतगणनाअनुसार २ सय ५१ मतसहित मैनाली विजयी हुनुभएको हो । 

मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्का आकाङ्क्षी अखिल क्रान्तिकारीका दीपक वाइबा १ सय १९ मत सहित पराजित हुनुभयो । स्ववियुमा मैनालीकै प्यानलबाट सचिवमा २ सय ७१ मतसहित अनेरास्ववियुका गणेश तिमल्सिना विजयी हुँदा प्रतिद्वन्द्वी बाइवाको प्यानलबाट अखिल (क्रान्तिकारी) का ईश्वर ढुङ्गेल ९१ मतसहित पराजित हुनुभयो । 

कोषाध्यक्षमा मैनाली प्यानलबाट २ सय ३६ मत सहित नेविसंघका सुरज बोलखे निर्वाचित हुनुभएको छ । सचिवका आकाङ्क्क्षी अखिल क्रान्तिकारीकी प्राश्ना दोङ १ सय १५ मतसहित पराजित हुनुभयो । सदस्यमा शिशिर ढकाल (२६४ मत), नितेश भण्डारी (२५६ मत), नितिशकुमार यादव (२४८ मत), मुना सिकारी (२४७ मत) र अखिलेश कुमार यादव (२३८ मत) निर्वाचित हुनुभएको छ । 

हेटौँडा क्याम्पसमा कुल छसय ८५ जना मतदातामध्ये ३ सय ७४ जना (५५ प्रतिशत) ले मतदान गरेको सहायक क्याम्पस प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हेटौँडा –१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रशान्त भण्डारीको प्यानल विजयी भएको छ । मङ्गलबार सम्पन्न निर्वाचनमा ५३ मतसहित भण्डारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । 

अध्यक्षका आकाङ्क्क्षी विप्लप निकट अखिल (समाजवादी) की नबिना घलानले ३१ मत प्राप्त गर्नुभयो । निर्मल बहुमुखी क्याम्पसमा ८७ जना मतदातामध्ये ८४ मत खसेको प्रमुख निर्वाचन अधिकृत गोपीरमण प्याकुरेलले जानकारी दिनुभयो ।  भण्डारीको प्यानलबाट सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल, सदस्यमा अम्बिका अर्याल, आयुषा ढकाल, सुजन तामाङ र दुर्गाकुमारी पण्डित निर्वाचित हुनुभएको छ ।

त्यस्तै, स्ववियु निर्वाचनमा हेटौँडा –६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसमा सर्वसम्मत नयाँ समिति चयन भएको छ । सङ्गठनबिचको आपसी छलफलपछि सर्वसम्मत नयाँ समिति चयन भएको हो । नवनिर्वाचित समितिको अध्यक्षमा दिवस सिलवाल (अनेरास्ववियु) चयन हुनुभएको छ ।

उपाध्यक्षमा सजना घिमिरे (राप्रविसं), सचिवमा सुवास राई (अनेरास्ववियु), कोषाध्यक्ष आशाराम गोले (अखिल क्रान्तिकारी), सहसचिवमा आशिष भोलन (नेविसंघ) निर्वाचित हुनुभएको छ । 

यस्तै, सदस्यमा आयुषा बुढाथोकी (अखिल क्रान्तिकारी) र अनेरास्ववियुबाट निश्चल गजुरेल, सन्तोष पुडासैनी, पूजा लम्साल, सुष्मा गौतम, सुशील तिमल्सिना चयन हुनुभएको हो ।