• १६ चैत २०८१, शनिबार

स्ववियु नेतृत्वको जिम्मेवारी

blog

विद्यार्थी शिक्षा, चेतना र परिवर्तनका बाहक हुन् । विश्वकै परिवर्तनमा विद्यार्थीले अतुलनीय भूमिका निर्वाह गरेका छन् । खास गरी उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्गठित प्रयासकै फलस्वरूप विश्वका ठुलठुला तानाशाह पतन भए । व्यक्तिको स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारका पक्षमा विद्यार्थीको प्रतिबद्धता र क्रियाशीलता नै विश्व मानव सभ्यतालाई सुसङ्गठित गराउने प्रमुख साधन बन्दै गएको छ । नेपालको सन्दर्भमा ऐतिहासिक परिवर्तनका संवाहक विद्यार्थी नै थिए । नेपालमा राणाशाहीका अँध्यारो युगमा भारत अध्ययन गर्न गएका विद्यार्थी नै सात सालको क्रान्तिका ऊर्जा थिए । त्रिचन्द्र कलेज स्थापना गर्दा चन्द्रशमशेरले आफूले आफ्नो खुट्टामा बन्चरो हानेको भाइभारदारलाई सुनाएका थिए रे । नभन्दै राणा र भाइभारदारका सीमित वर्ग अध्ययनको ढोका खुलेको त्रिचन्द्र कजेजका विद्यार्थी राणाकालदेखि नै नेपालमा परिवर्तनका संवाहक बन्न सके । राजनीतिक परिवर्तन मात्र होइन, शिक्षा र चेतना विस्तारमा अब्बल भूमिका अङ्कित हुन सक्यो । सात सालको परिवर्तन २०१७ पुस १ गतेको ‘कु’सँगै फेरि निरङ्कुश युगमा  पुग्यो । राजनीतिक दल प्रतिबन्धमा परे । राजनेता बन्धक वा निर्वासित भए । त्यो प्रतिकूलतामा उच्च शिक्षामा अध्ययनरत विद्यार्थी नै निरङ्कुशतन्त्रविरुद्ध उज्यालो देखाउन सक्ने भरोसायोग्य शक्ति बने । अनेक अभ्यास र न्यायिक लडाइँसँगै शैक्षिक संस्थामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निरन्तरता सम्भव भयो । वैचारिक धरातलसहित निर्वाचनको प्रतिस्पर्धा संस्थागत हुँदै जाँदा देशमा निरङ्कुश शासकको मुटु कमाउने आन्दोलनको आधार बन्यो ।


लोकतन्त्र स्थापनपछि भने स्ववियु निर्वाचनले नियमितता पाउन सकेन । यसमा ककसको कति कमजोरी रहन गयो, बेग्लै खोजीनीतिको विषय हो तर पञ्चायतको त्यो निरङ्कुश युगमा स्ववियु निर्वाचन नियमित हुन्थ्यो । त्रिभुवन विश्वविद्यालयमा २०१८/१९ देखि स्ववियुको प्रत्यक्ष प्रणालीबाट निर्वाचनको अभ्यास अगाडि बढेको थियो । सो अभ्यासले निरन्तरता पाउँदा २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुन्थ्यो । सरकारले स्ववियु निर्वाचनमा अवरोधसमेत गर्न थाल्यो तर न्यायालयले विद्यार्थीको सङ्गठित हुने हकका निम्ति बाटो खोलिदियो । फलस्वरूप २०३६ सालदेखि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन सम्भव भयो तर यताका दशकमा भने स्ववियु निर्वाचनले नियमितता पाउन सकेन । खास गरी २०६५ सालदेखि भने नियमित देखिएन । त्यसपछि २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो भने त्यसपछि २०७९ चैत ५ गते अर्को निर्वाचन भयो । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचनको ताजा संस्करण चैत ५ मा सम्पन्न भयो । केही क्याम्पसबाहेक देशभरि नै स्ववियु प्रतिस्पर्धा भयो । निर्वाचन भएपछि जितहार सामान्य प्रजातान्त्रिक अभ्यास हो । लोकतन्त्रविरुद्ध षड्यन्त्रका अनेक खुद्रामसिना पसल थापिरहेका बेला परिवर्तनका संवाहक विद्यार्थीको यो निर्वाचनले ठुलो सन्देश भने दिएको छ । खास गरी मुलुक प्रतिगमनको युगमा जान सक्दैन भन्ने स्पष्ट सन्देश दिएको छ ।


परिवर्तित परिवेशले नेपाली विद्यार्थीका काँधमा ठुलो जिम्मेवारी दिएको छ । खास गरी विद्यार्थीको शैक्षिक उन्नयनका शैक्षिक संस्थालाई युग सुहाउँदा वातावरण निर्माण गर्नुपर्ने छ । विज्ञान तथा सूचना प्रविधिले संसारलाई नयाँ युगमा प्रवेश गराएको छ । नेपालको शिक्षालाई संसारबाट अलग्गिने छुट छैन । पाठ्यक्रमलाई गतिशील बनाउँदै देशलाई समृद्ध बनाउने शैक्षिक जनशक्तिका निम्ति देशीय शैक्षिक संस्थालाई पुनर्जागरण दिनु नयाँ स्ववियु नेतृत्वको पहिलो कर्तव्य हुने छ । त्यसका निम्ति देशका नीति निर्मातादेखि उच्च शिक्षाका व्यवस्थापकसम्मलाई शैक्षिक परिवर्तनको आन्दोलनमा एकीकृत गराउनुपर्ने छ । यो पहिलो कर्तव्यले मात्र स्ववियुको नयाँ नेतृत्वको जिम्मेवारी पूरा हुने छैन । देशमा लोकतान्त्रिक व्यवस्था कायम रहेन भने भोलिको पुस्ता फेरि अन्धकारमा जाने छ । नेपाली जनताको भविष्य भर्सेलामा पार्न खोज्ने कतिपय पुनर्उत्थानवादी अनेक दाउपेचमा छन् । गणतान्त्रिक नेपालले पुराना इतिहास बिर्सेर आरामसाथ राखेका पूर्वराजालाई मिठो सपना देखाउने यत्न भइरहेको छ । सबै खालका षड्यन्त्रलाई चिर्दै लोकतान्त्रिक गणतन्त्रको भविष्य सुनिश्चित गर्न विद्यार्थीको भूमिका अग्रगामी बनाउन स्ववियुले दोस्रो ठुलो भूमिका सम्पादन गर्नुपर्ने छ । त्यसका निम्ति शासनव्यवस्थाका विकृति र विसङ्गति निर्मूलीकरण गर्ने खालका अभियानसमेत अपेक्षित छ । यी दुई भूमिकासँगै तेस्रो भूमिकासमेत देखिएको छ । नेपाली विद्यार्थी कलिलै उमेरमा बाहिरिने गरेका छन् । शिक्षासँगै रोजगारी तथा भविष्य खोज्न बिदेसिने विद्यार्थीलाई देशभित्रै राख्ने अभियानमा समेत स्ववियुको नयाँ नेतृत्व लाग्नु वाञ्छनीय छ ।