टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), चैत ६ गते । क्षमताभन्दा करिब पाँच गुणा मान्छे, सँगसँगै गज्जबको उद्योग पनि । जहाँबाट वर्षको तीन करोड २६ लाख रुपियाँभन्दा बढीको सामग्री उत्पादन र बिक्रीवितरण हुन्छ । पुरुषले न्यूनतम सात हजारदेखि ४५ हजार रुपियाँसम्म कमाउँछन् । यो गुल्मी कारागारको अवस्था हो ।
कारागारमा काम नगर्न छुट कसैलाई पनि छैन । क्षमता अनुसार काम र दामको व्यवस्था छ । एक जना कैदी काष्ठकलामा अब्बल छन् । उनी बाहिर हुँदा पनि ३० वर्ष काठकै काम गर्थे, जसका कारण कारागारमै मासिक ४५ हजार कमाइ छ । त्यस्तै फर्निसिङको काममा दक्ष कैदीले मासिक ३२ हजार कमाउँछन् । फर्निचरमा काम गर्ने ३५ जनाभन्दा बढी कैदीबन्दी छन् । ४१ जना कैदीबन्दीले मुढाको काम गर्छन् । कारागारमा बाँसको सिन्का चिर्नेको पनि न्यूनतम मासिक सात हजार कमाइ रहेको कारागारका लेखापाल उमेश अर्यालले बताउनुभयो ।
कारागारमा २०८० वैशाख १ देखि काष्ठकला र फर्निचरको काम सुरु भएको हो । कारागारमा सबैभन्दा बढी मूल्य पर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोस निर्माण हुन्छ, जसको मूल्य आठ लाख रुपियाँ रहेको छ । एउटा चौकोस निर्माण गर्न तीन जना जनशक्तिले एक महिना काम गर्नु पर्छ । त्यस्तै भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, दराज टेबलसहितका आवश्यक सबै फर्निचर सामग्री निर्माण गरिन्छ । काष्ठकलाका सामग्री व्यक्तिगत साथै सरकारी कार्यालय र मठमन्दिरमा समेत प्रयोग भइरहेका छन् । अर्जुन भगवती मन्दिर, शृङ्गेश्वरधामका मन्दिर, सिद्धबाबा मावि, अर्खले सभाहरूमा कारागारका काष्ठकला तथा फर्निचरका सामग्री प्रयोग भइरहेका छन् ।
रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कारागारमा उत्पादन हुने भक्तपुरे बुट्टासहितका काष्ठकलाका सामग्री निकै उत्कृष्ट रहेको बताउनुभयो । “भक्तपुरको सामग्रीमा ढुवानी लागत धेरै र जोखिम छ । गुल्मी कारागारका कैदीबन्दीले भक्तपुरकै उत्कृष्टता देखाउनुभएको छ,” उहाँले भन्नुभयो, “हामीले पनि शृङ्गेश्वरधाममा कारागारकै उत्कृष्ट काष्ठकलाका सामग्री प्रयोग गरेका छौँ ।”
गुल्मी कारागारको सबैभन्दा पुरानो उत्पादन बाँसको मुढा हो । कारागारका ४१ जनाले दैनिक मुढा बुन्छन् । मुढाको माग धेरै छ । काष्ठकला फर्निचर र मुढाका सामग्री जिल्लामै सबैभन्दा बढी खपत हुने गरेको छ । त्यसबाहेक महिला कैदीबन्दीले बर्सौंदेखि घरेलु हस्तकलाका सामग्री सल, टोपी, सुटपाइन्ट, सुइटरलगायतका सामग्री निर्माण गर्ने गरेका छन् । उनीहरूका सामग्री पोखरा, पाल्पा, काठमाडौँ, रसुवा, इलाम, सिराहादेखि जापानमा समेत कोसेलीका रूपमा पुग्ने गरेका छन् ।
कारागारमा कृषि क्षेत्रमा समेत काम भइरहेको छ । त्यहाँ उत्पादित फूल कोपी, ब्रोकाउली, साग र प्याजका बिरुवाकोसमेत सिजनमा साढे दुई लाखको कारोबार हुने गरेको छ । कारागारका चौकीदार हरि थापाका अनुसार वार्षिक रूपमा काष्ठकला र फर्निसिङका सामग्रीबाट वार्षिक दुई करोड, मुढाबाट एक करोड २० लाख, घरेलु हस्तकलाका सामग्रीबाट साढे चार लाख र कृषि क्षेत्रबाट साढे दुई लाख गरेर न्यूनतम तीन करोड २६ लाख, ५० हजार रुपियाँ बराबरको कारोबार हुने गरेको छ । गत वर्ष छ करोडको कारोबार भएको थापाले जानकारी दिनुभयो । कारागारमा नौ वटा विभाग छन् । सबैका जिम्मेवारी तोकिएको छ । आफ्नो काम अनुसारको पारिश्रमिक भनेकै समयमा आउँछ । सबैलाई सिसी क्यामराकै निगरानीका आधारमा काममा लगाउने चौकीदार थापाले बताउनुभयो ।
कारागारलाई औद्योगिक ग्रामका रूपमा विकास गर्न थालिएको भए पनि कारागारको जग्गा र संरचना अभावमा समस्या भएको जेलर रेश्मीराज पन्थीको भनाइ छ ।