रमेश पौडेल
पोखरा, चैत ५ गते । चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान मंगलबारबाट सुरु भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गरेको हो ।
यसैबिच छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत आज व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि प्रस्थान गरेका छन् ।
उडानको तालिका अनुसार चैत्र ५ गते मंगलबार छेन्दुबाट बिहान १०.०० बजे १२७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गरेका थिए भने दिउँसो १२:०० बजे १२७ जना पोखराबाट नेपाली प्रतिनिधिमण्डल पर्यटन व्यवसायी छेन्दु प्रस्थान गरेको हो ।
यसैबिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्ने बताउनुभयो । पर्यटन राजधानीका रुपमा रहेको पोखरालाई यस उडानले थप मद्दत पुर्याउने उहाँको भनाइ थियो ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले सुरुवात राम्रो रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सो उडानका लागि प्राधिकरण मात्र नभई नीजि क्षेत्रको सक्रियताले सफलता मिलेको बताउनुभयो ।
उहाँले छिमेकी मुलुकसहित अन्य देशहरु उडानका लागि प्राधिकरणले आफ्नो अभियान जारी नै राखेको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस नयाँ हवाई सम्पर्कले सांस्कृतिक आदान–प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।
पहिलो व्यवसायिक उडानका क्रममा हुने सात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रीत रही त्यहाँका पर्यटन विकास, बिस्तारका बारे जनकारी लिइने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन हुने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।
पोखराबाट अन्तराष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चाटर्ड उडानसँगै गरिने सेल्स मिसनका कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले बताउनुभयो । उहाँले यस्ता उडानलाई व्यावसायिक रुपमा अगाडि बढाई अन्य देशहरुमा पनि यस्ता पहलकदमीका लागि सम्बन्धित निकायहरु अग्रसर रहनुपर्ने बताउनुभयो ।
सञ्चालनको दुई वर्षसम्म पनि पोखराबाट नियमित अन्तराष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक गर्न लागिएको व्यवसायिक चाटर्ड उडान आँफैंमा महत्वपूर्ण रहेको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताउनुभयो ।
त्यस्तै पोखरा महानगरपालिकाका प्रमुखको नेतृत्वमा लुझोउ सहरमा केही विशिष्ट व्यक्तिहरू सहित समकक्षीसँग भेटवार्ता एवम् महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ ।
जनवरी १, २०२३ मा औपचारीक रुपमा उद्घाटन भएको सो पोखरा अन्तराष्टिय बिमानस्थलमा न्यारोबडी जहाज मात्र अवतरण हुने भनिएपनि हालसम्म व्यवसायिक उडान हुन नसक्दा पोख्रेलीमा निराशा छाएकोमा आजको यस उडानले पोखराको पर्यटन व्यवसायमा थप उत्साह थपेको छ ।