सर्लाही समाचारदाता
सर्लाही, चैत ५ गते । सर्लाहीमा पूर्वपश्चिम राजमार्ग विस्तारको काम सुस्त गतिमा अघि बढेको छ । कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्ड अन्तर्गत सर्लाहीमा साढे दुुई महिनाको अवधिमा देखिने गरी उल्लेख्य काम हुन सकेको छैन । पूर्व कमला नदीदेखि पश्चिम सर्लाहीको बागमती नदीसम्म ७४.७५ किलोमिटर लम्बाइको पूर्वी खण्डको सडक स्तरोन्नतिको काम गएको पुस १७ देखि सुरु भएको थियो ।
सर्लाहीमा नवलपुर र सासापुरमा लच्का भत्काएर कलभर्ट निर्माण गर्ने काम भइरहेको छ भने चापिनीखोलाको पुल विस्तार गर्ने काम अघि बढेको छ । बागवानी जङ्गललगायत दायाँबायाँ खाली रहेका सडकको क्षेत्राधिकारभित्र पर्ने क्षेत्रमा एक्साभेटर लगाएर सफा गर्ने कामबाहेक अन्य प्रगति देखिएको छैन् ।
पूर्वी खण्डमा विश्व बैङ्कको १८ अर्ब ६० करोड ऋण सहयोगमा ठेक्का लागेर काम अघि बढेको छ । आगामी सन् २०२७ सम्म पूर्वपश्चिम राजमार्गको पूर्वी खण्ड स्तरोन्नति गर्ने लक्ष्य छ । कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का अनुसार निर्माणअघिको पूर्वतयारीका लागि सडक दायाँबायाँ रहेका रुखदेखि पोलसम्मका अवरोध हटाउनुुपर्ने भएकाले निर्माण कार्यमा विलम्ब भइरहेको छ । सडक आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर छविलाल पौडेलले रुख कटान र बिजुलीको पोल सार्ने काममा ढिलाइ हुँदा सडक विस्तारमा समस्या परिरहेको गुनासो गर्नुभयो ।
सडकको क्षेत्राधिकारभित्र पर्ने रुखमा छपानको काम भए पनि कटान गर्न भने डिभिजन वन कार्यालय, प्रदेशको वन मन्त्रालय, सङ्घीय वन मन्त्रालय हुँदै मन्त्रीपरिषद्बाटै निर्णय हुनुुुपर्ने हुन्छ । बिजुलीको पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ठेक्कामार्फत नै काम गराउन लागेको बुझिएको छ ।
आयोजना प्रमुख पौडेलले रुखबिरुवा र बिजुलीका पोल नहटाइएकाले काम गर्नका लागि निर्माण व्यवसायीलाई ठाउँ दिनै नसकिएको बताउनुुभयो । सडक आयोजनाले दुुई साताअघि सूचना निकालेर अहिले कायम रहेको सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मिटर खाली गर्न आग्रह गरिसकेको छ ।
अहिले दुई लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गर्नुपर्ने भएकाले सडक क्षेत्राधिकारमा अनेक बाधा अड्चन देखा परेको हो । पूर्वी खण्डका आयोजना प्रमुख पौडेलका अनुसार सडक स्तरोन्नति गर्न कमला पुलदेखि बागमती पुलसम्म सडक दायाँबायाँ रहेका आठ हजार ४५२ थान विभिन्न प्रजातिका रुख हटाउनुपर्ने छ । यस्तै २२२ वटा विद्युत्का पोल विस्थापन गर्नुपर्ने अवस्था छ ।
यीबाहेक ३५ वटा मठमन्दिर, ५५ वटा बरपिपलको चौतारो, १७ ठाउँमा नेपाली सेना र दुई ठाउँमा नेपाल प्रहरीको चेकपोस्ट, चार वटा प्रहरी बिट र एउटा प्रतीक्षालय, आठ वटा इनार, ६९ वटा प्रतीक्षालय, तीन वटा सार्वजनिक शौचालय छन् । कन्सलटेन्टको रिपोर्टले ३३ हजार १६० मिटर खानेपानीका पाइपमा बाधा पुग्न सक्ने देखाएको छ ।