• ५ चैत २०८१, मङ्गलबार

रोकियो प्लाइउड निर्यात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ५ गते  ।  नेपालबाट निर्यात हुने प्लाइउड भारतले रोकेको छ । ब्युरो अफ इन्डियन सर्टिफिकेट्स (बिआइएस) को कारण देखाउँदै भारतले नेपालबाट प्लाइउड लिएर भारततर्फ लागेका मालवाहक सवारीलाई भन्सार पास दिन नै रोकेको हो । भारतले केही दिनयता प्लाइउड निर्यातका लागि भन्सार पास नदिएको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । ‘बिआइएसको कारण 

देखाउँदै भारतले भन्सार पास नै गरेको छैन’ उहाँले भन्नभयो, “यसले निर्यातकर्तालाई अन्योल बनाएको छ ।”

भारत सरकारले एक वर्षअघि राजपत्रमा सूचना प्रकाशन गर्दै बिआइएस प्रमाणपत्र नलिएका कुनै पनि वस्तु आयात नगर्ने उल्लेख गरेको थियो । जस अनुसार नेपालबाट निर्यात हुने वस्तु पनि बिआइएस लिनुपर्ने अवस्थामा पुगेका थिए । यद्यपि प्लाइउड र प्लाइ ढोकाको हकमा भने बिआइएस नलिई एक वर्ष थप निर्यात गर्न सक्ने सुविधा भारतले दिएको थियो । राजपत्रमा ठुला उद्योगले सन् २०२५ फेबु्रअरी २८, मझौला उद्योगले मार्च २८ र साना उद्योगले अगस्ट २८ सम्म बिआइएस लिनुपर्ने उल्लेख थियो । 

गुणस्तर प्रमाणका लागि प्रयोग हुने बिआइएस प्लाइउड उद्योगको हकमा भने अगस्ट २८ सम्म लागु नहुने बुझाइमा नेपालका प्लाइउड उत्पादक थिए । उक्त समय नपुग्दै भारतले अचानक आयात रोकको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । “अगस्टपछि बिआइएस अनिवार्य हुने कुरा राजपत्रमा उल्लेख भए पनि यसरी बिचमै आयात रोकिदिँदा हामी नै अचम्मित भएका छौँ,” उहाँले भन्नुभयो । 

भारतले सीमानाकामा रहेका मालवाहक सवारीलाई भन्सार पास दिन नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको जानकारीमा आएकाले तत्कालका लागि ती सवारी छुट्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । यद्यपि तत्कालका लागि मात्र यस्तो व्यस्वथा भएकाले भविष्यमा आयात खुला हुने अथवा नहुने विषयमा व्यवसायी अन्योलमै रहेको उहाँले बताउनुभयो । 

चालु आवको सात महिनासम्म नेपालले करिब ७२ करोड रुपियाँको प्लाइउड निर्यात गरेको छ । नेपालका लागि प्लाइउडको एक मात्र बजार भारत हो ।