• ५ चैत २०८१, मङ्गलबार

सूर्यमुखी खेती घट्दै

blog

इनरुवा समाचारदाता 

इनरुवा, चैत ५ गते  । सुनसरीमा केही वर्षअघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यस पटक कमी आएको छ । विभिन्न रोग र किराको प्रकोप बढेपछि सूर्यमुखी खेतीमा कमी आएको हो । विभिन्न रोग किरा र मौसमले साथ नदिँदा उत्पादन प्रभावित बन्न थालेपछि किसानले सूर्यमुखी खेती गर्न छाडेका छन् । 

जिल्लाको सदरमुकाम इनरुवासहित दक्षिणी क्षेत्र हरिनगर, देवानगन्ज, बर्जु र गढीमा खेती कम भएको छ भने लगाएको ठाउँमा पनि राम्रो नफलेको किसान नीरज यादवले गुनासो गर्नुभएको छ । त्यसै गरी उत्तरी क्षेत्र वराहक्षेत्र र रामधुनी नगरपालिकाका किसानले सूर्यमुखी खेती गर्न छाडेका भोव्रmाहा नर्सिङका किसान राजेन्द्र मेहताले बताउनुभयो ।  

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार २०१ हेक्टर क्षेत्रफलमा सुर्यमुखी खेती हुँदै आएको र वार्षिक २६४ मेट्रिक टन उत्पादन भइरहेको छ । यस वर्ष सूर्यमुखी खेतीको उत्पादन क्षेत्रमै कम खेती भएको छ । हरिनगर गाउँपालिकाका कृषि प्राविधिक भुवनेश्वर यादवले बजारमा राम्रो खालको बिउ नपाइने, विभिन्न रोग किरा लाग्ने र मौसमले साथ नदिनेलगायतका समस्याले किसानले सूर्यमुखी खेती छाडेकाले यस वर्ष खेती कम भएको बताउनुभयो  । 

यादवका अनुसार विगतमा दुई कट्ठादेखि चार बिघासम्ममा सूर्यमुखी खेती गरेकोमा केहीले पूरै छाडेको र केही किसानले दुई चार कट्ठामा मात्रै लगाएकाले सूर्यमुखी खेतीको क्षेत्रफल घटेको हो ।