• ५ चैत २०८१, मङ्गलबार

उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ५ गते । अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोष स्थापनाको ३५ औँ वर्षमा प्रवेश गरेको छ ।

त्यस अवसरमा आयोजित अर्थ सचिव घनश्याम उपाध्यायले कोषको रकम नागरिकको हितका लागि उपयोग गर्न सुझाव दिनुभयो ।

कोषको लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्नेमा जोड दिँदै उहाँले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा अघि बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।

सञ्चयकर्ताको हितसँगै नाम अनुसार नागरिकको बचत परिचालन, सामाजिक सुरक्षाका कार्यव्रmम अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन जरुरी रहेको उहाँको भनाइ थियो । नागरिक लगानी कोष सञ्चालक समितिका अध्यक्ष डा. सूर्यबहादुर थापाले देशमा दिगो, सन्तुलित, फराकिलो र समावेशी आर्थिक वृद्धि तथा विकास हासिल गर्न कोषले राष्ट्रिय पुँजी निर्माणमा टेवा पु-याउनेतर्फ पनि काम गरिरहेको बताउनुभयो ।

मुलुकको समृद्धि र अर्थतन्त्रको विकासका लागि सरकारले आत्मसात् गरेको प्रतिबद्धतामा कोषले पनि आफ्नोतर्फबाट सहयोग गर्दै आइरहेको भन्दै उहाँले लगानीका लागि नवीन वित्त मोडेलको सिर्जना गरी कोषले जोखिम कम भएको क्षेत्रमा लगानी विविधीकरण गर्दै आइरहेको बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाको दुई खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको उहाँले जानकारी गराउनुभयो । यस अवधिमा दुई खर्ब ६४ करोड ७८ लाख लगानी गरेको अवस्था रहेको उहाँको भनाइ थियो ।

कोषका कार्यकारी निर्देशक पर्वतकमार कार्कीले चालु आवको पुस मसान्तसम्म कोषले दुई खर्ब ६४ अर्ब ७७ करोड रुपियाँ लगानी गरेको र कुल लगानीमध्ये मुद्दती निक्षेपमा करिब ५२ प्रतिशत तथा नेपाल सरकारको ऋणपत्रमा ०.१९ प्रतिशत, समयकालीन कर्जामा ९.७४, सहायक कम्पनीमा १.०३, सहभागी सापटी तथा आवास कर्जामा २०.७५, ट्रेजरी बिलमा ४.४४, सङ्गठित संस्थाको सेयर÷धितोपत्रमा ११.६७ प्रतिशत लगानी रहेको जानकारी दिनुभयो । 

आगामी दिनमा सरकारी प्राथमिकताका भौतिक पूर्वाधारका परियोजना, कृषि, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा तथा पुँजी बजारका क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्धन, हाइड्रो पावरलगायतका क्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कोषहरूको करिब ५२ प्रतिशतभन्दा बढी रकम बैङ्क तथा वित्तीय संस्थामा फिक्स डिपोजिटका रूपमा उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा कोषमा लामो समय योगदान गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक वितरण गरिएको थियो भने उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।