• २ असार २०८१, आइतबार

बारामा १० जनाको डुबेर मृत्यु

blog

फाइल तस्विर

शिवशङ्कर मिश्र

बारा, जेठ १९ गते । बारा जिल्लामा चार जना पुरुष, चार बालक र दुई जना बालिका गरी एक वर्षमा १० जनाको पानीमा डुबेर मृत्यु भएको छ । २०७८ साउनदेखि २०७९ जेठ १८ सम्म पानीमा डुबेर उहाँहरुको मृत्यु भएको देखिएको हो । 

जिल्लाको बिभिन्न पालिकामा रहेका नदी, तलाउ र स्थानीय पोखरीमा नुहाउने क्रममा तथा बर्षायाममा नदी पार गर्नेक्रममा उहाँहरुको डुबेर मृत्यु भएको बारा प्रहरी कार्यालयले जनाएको छ । 

हिजो बुधबार पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका वडा ११ बेलवा टोेलका ५२ बर्षीय बीरनाथ चौधरी रहेको ईलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।

यसैगरी कलैया उपमहानगरपालिका –१६ मझौलिया टोलका मजबुल्लाह अन्सारीको छोरा अन्दाजी आठ नौ वर्षका यस्तफा अन्सारी रहेको अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाले जनाएको छ ।

चौधरी दिउँसो घर नजिकै रहेको पोखरीको डिलमा घाँस काट्न गएका थिए । राती अबेरसम्म फिर्ता नआएपछि खोजतलास गर्दा हिजो राती साढे ९ बजे पोखरीमा उहाँको शव फेला परेको थियो । परिवारका सदस्यले प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।  

यस्तै बुधबार साँझ पौने ५ बजे चार पाँच जना बच्चाहरुले कलैया उमनपा.–१६ मझौलियाको पोखरीमा पौडी खेल्न गएकाबेला डुबेर घाईते भएका अस्तफाको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा सवा ५ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

मृत्यु भएका चौधरी र अन्सारीको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको थापाले जानकारी दिनुभयो ।