धनगढी समाचारदाता
धनगढी, चैत ५ गते । वर्षामा आएको बाढीले कैयौँ बिघा खेतलाई बालुवामा परिणत गरिदिन्छ तर पनि किसान लत्तो छाड्दैनन् । उनीहरूको मेहनतले बालुवामा सुन फल्छ । त्यस्तै उदाहरणीय काम सुन भेटिने कर्णाली नदीको बालुवामा भएको छ ।
कर्णाली नदीआसपास बसोबास रहेको सोनहा जातिले नदीको बालुवा चालेर सुन निकाल्ने गर्छन् । बालुवा चालेर सुन खोज्ने र त्यसबाट गुजारा गर्ने उनीहरूको परम्परागत पेसा हो । किसानले बालुवमा गरेको प्याज खेती सुन जस्तै लाग्न थालेको छ ।
कर्णाली नदीको बगर उपयोगमा छैन । धेरै ठुलो बगर क्षेत्र नाङ्गो भएपछि स्थानीयले प्याज खेतीको परीक्षण गरेका थिए । केही वर्षअघि नदीको बालुवामा थोरै प्याज लगाएर परीक्षण गर्दा अन्यत्रको भन्दा राम्रो फलेको किसानको भनाइ छ । त्यसपछि प्रत्येक वर्ष प्याज लगाउन थालेको कृषक प्रेम चौधरीले बताउनुभयो । “बालुवामा प्याज राम्रो फलेपछि सबै लोभिएर त्यसमै प्याज खेती गर्न थालेका छौँ,”
उहाँले भन्नुभयो ।
टीकापुर नगरपालिका–८, फाँटागाउँका ४८ घरपरिवारले कर्णाली नदीको बालुवामा प्याज खेती गरेर फाइदा लिन थालेका हुन् । नदीको बगरमा खरबुजा, तरबुजा, काँक्रो, लौकाको खेती हुने गरे पनि प्याज खेती गरेको देखिएको थिएन तर फाँटागाउँका किसानले बालुवामा प्याज खेती गरेर आम्दानी गर्न थालेका छन् ।
तीन/चार वर्षदेखि कर्णाली नदीको बगरमा प्याज खेती गर्दै आएको स्थानीय सहीबहादुर चौधरीले भन्नुभयो, “हामीले बालुवामा प्याज खेती गर्न थालेको तीन/चार वर्ष भएको छ । उत्पादन राम्रै हुन्छ ।”
नदीको बालुवामा आठ/दस केजी प्याजको बेर्ना लगाउँदा पाँच क्विन्टलसम्म उत्पादन हुने गरेको किसानले जनाएका छन् । कतिपय परिवारका लागि प्याज खेती नै आम्दानीको माध्यम बनेको छ । गत वर्ष तीन क्विन्टल प्याज बेचेको सुनाउँदै चौधरीले यस वर्ष अझ बढी खेती गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो वर्ष करिब दुई कट्ठा क्षेत्रफलमा ८० केजी प्याजको बेर्ना लगाएको छु ।”
यस वर्षदेखि तरकारी खेती पनि गरेकाले कर्णाली नदीको बगरमा प्याज खेती बढाएको चौधरीको भनाइ छ । उत्पादित तरकारी फाँटागाउँका किसानले नजिकै रहेको बर्दियाको राजापुर बजारमा लगेर बिक्री गर्ने गरेका छन् ।
स्थानीय प्रेम चौधरीका अनुसार ओसिलोपन चाँडै नजाने बालुवामा प्याज खेती निकै राम्रो हुने गरेको छ । बालुवामा प्याज खेती गर्दा धेरै मेहनत पनि गर्नु नपर्ने गरेको उहाँले बताउनुभयो ।
फाँटागाउँमा ५० घरपरिवारको बसोबास छ । जसमध्ये एक/दुई घरपरिवारबाहेक सबैले कर्णालीको बालुवामा प्याज लगाएका छन् । प्रत्येक परिवारले कम्तीमा एकदेखि डेढ कट्ठासम्म नदीको बालुवामा प्याज खेती गरेको जनाइएको छ ।