हेटौँडा, चैत ५ गते । मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ९ र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सिमानामा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग चन्द्रागिरि हिल्सले ट्याक्स असुली गर्दै आएको छ ।
राष्ट्रिय वनभित्र रहेको पैदलमार्गमा चन्द्रागिरि हिल्सले यात्रीसँग प्रतिव्यक्ति एक सय रुपियाँका दरले रकम असुली गर्दै आएको हो । मकवानपुर, चित्लाङको वनक्षेत्रमा पर्ने धार्मिक र ऐतिहासिक मन्दिरमा पुग्ने पैदलयात्रीसँग प्रवेश पासबापत रकम असुली गरिँदै आएको छ । यहाँको पैदलमार्ग हुँदै आवतजावत गर्ने यात्रीले गरेको फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि भन्दै राष्ट्रिय वनको बिचमा चेक पोस्ट राखेर पैसा असुली गर्ने गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिका–९ का वडाध्यक्ष राजकुमार बलामीले चन्द्रागिरि हिल्सले वनभित्र रोकेर पैदलयात्रीसँग पैसा असुल्ने कार्य गलत भएको बताउनुभयो । यसअघि पनि पैसा असुलेको थाहा भएपछि रोकिएको थियो, अहिले फेरि पैसा असुल्नु गलत रहेको उहाँको भनाइ छ । “आस्था र धार्मिक विश्वासका साथ महादेवको मन्दिरमा जाने पैदलयात्रीसँग जङ्गलको बिचमा चेक पोस्ट राखेर पैसा उठाउनु गलत हो, यो रोकिनु पर्छ, म कार्यपालिका बैठकमा यो विषय उठाउँछु,” वडाध्यक्ष बलामीले भन्नुभयो ।
त्यस्तै चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं ४ नं. वडाध्यक्ष कृष्णप्रसाद खड्गीले वनभित्र पैसा असुल्न नपाइने बताउनुभयो । मन्दिर जाने ठाउँमा रोकेर पैसा असुल्नु गलत भएको उहाँले स्पष्ट पार्नुभयो । थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दु धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गरेका छन् ।
चन्द्रागिरिबाट काठमाडौँ उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको ऐतिहासिक सन्दर्भ पनि छ । काठमाडौँ उपत्यकामा चढाइँ गर्नुअघि उहाँले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ ।