• ४ चैत २०८१, सोमबार

जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित

blog

चितवन, चैत ४ गते । जनस्वास्थ्य कार्यालय चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्धन कार्यक्रममा छ सय ९३ जनाले सेवा लिएका छन् । कालिका नगरपालिका-१० को सिद्धी स्वास्थ्य चौकीमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रोगसम्बन्धी परीक्षण गरिएको थियो ।

कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार ६६ जनाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिएकामा तीन जनामा सङ्क्रमण देखिएको छ । त्यस अवसरमा दुई सय २६ जनाको सामान्य सेवा, ३० वर्षभन्दा माथि उमेरका दुई सय छ जनाको नसर्ने रोग, एक सय ६० को आँखा, एक सय ४१ को हाडजोर्नी परीक्षण गरिएको छ ।

यस्तै, बाल रोगतर्फ ७६, आयुर्वेद सेवातर्फ ६९, प्रसूति सेवासम्बन्धी ७८, भिडियो एक्सरे एक सय चार र १५ जनाको मुटु परीक्षण गरिएको थियो । अभियानका क्रममा ७१ जनामा आँखाको समस्या देखिएकामा ६० जनालाई चस्मा लगाउन सिफारिस गरिएको र ११ जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको हमालले जानकारी दिनुभयो । 

कार्यालयले हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा यो अभियान सञ्चालन गर्दै आएकामा यस वर्ष कालिका नगरपालिकामा गरेको कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । यहाँका सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी यस वर्षको अभियान सञ्चालन गरिएको जनस्वास्थ्य निरीक्षक हमालले बताउनुभयो । रासस