विजयकुमार साह
ढल्केबर, चैत ४ गते । धनुषाको सबैला नगरपालिका–९, भठिहन चोकमा दुई समूहबिचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । गोली लागेर स्थानीय २२ वर्षीय सन्तोष यादव घाइते भएको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले बताउनुभयो ।
चोकको नाम राख्ने विषयमा दुई समूहबिचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । झडपमा चोट लागेर अन्य दुई जना घाइते भएका छन् ।
भठिहनस्थित चोकमा केही दिन अघि ‘यादव चोक’ लेखिएको बोर्ड लगाएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेर हटाएपछि दुई समूहबिच तनाव बढ्दै गएको थियो । सोही विषयलाई लिएर आइतबार पनि दुई पक्षबिच झडप भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।