कास्की, चैत ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदको राजधानी बन्न सक्ने बताउनुभएको छ । पोखराको भण्डारढिकमा आयोजना गरिएको सूर्यतारा खेल महोत्सवको समापनको अवसरमा बोल्दै उहाँले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
“गण्डकी खेलकुदको राजधानी बन्न सक्छ,”उहाँले भन्नुभयो,“ खेलकुदको पूर्वाधार निर्माणमा गण्डकीपछि परेको छ, अब त्यसतर्फ सङ्घीय र प्रदेश सकार तथा स्थानीय तहले ध्यान दिन जरुरी छ । ”
उहाँले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको लागि पहल भइरहेको बताउनुभयो। “सेती घाटको १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा आइसकेको छ,”उहाँले भन्नुभयो,“ विभिन्न ठाउँमा गरेर १४ सय रोपनी भन्दा बढी जग्गा प्राप्त गरे पनि पूर्वाधार निर्माणमा प्रगति भएको छैन, प्रदेश सरकारले यसमा चासो दिनुपर्दछ ।” गण्डकी प्रदेशको विकासको लागि पोखरालाई केन्द्र मानेर विश्वविद्यालय, अस्पताल र खेल पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
छिटो छिटो सरकार फेरिने र स्रोतको सुनिश्चितता बिना नै नयाँ योजना राख्दा समस्या देखिएकोले त्यसलाई अन्त्य गर्ने गरी वर्तमान सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका गुरुङले नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यमा सरकार निर्माण भएपछि मुलुकमा सुशासनको प्रारम्भ भएको र काममालाई तीव्रता दिने प्रयास थालिएको बताउनुभयो ।
सार्वजनिक सेवा प्रभावकारी बनाउन अध्यादेश ल्याउन लागिएको बताउँदै कर्मचारीलाई देश र जनताप्रति उत्तरदायी बनाउनेतर्फ पनि सरकारले कदम चाल्ने उहाँको भनाइ छ ।