• २ असार २०८१, आइतबार

विद्युतीय उपकरण बिग्रिने जोखिम बढ्दो

blog

फाइल तस्बिर

शिवशंकर मिश्रा
बारा, जेठ १९ गते ।  छिनछिनमा झ्याप्प–झ्याप्प विद्युत् आउने, जाने क्रम बढेपछि विद्युतीय उपकरण बिग्रिने जोखिम बढेको छ । विगत केही दिनदेखि छिनछिनमा विद्युत् आउने,जाने गरेका कारण समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । 

हरेक साल गर्मी महिना आउने बित्तिकै यो समस्या आउने गरेको कलैया उपमहानगरपालिका–१ का सुरेश साहले बताउनुभयो । वैशाख महिनादेखि लगातार यसरी लाइन घण्टौंसम्म काटिने, छिनछिनमा आउने जाने गरेको कारण विद्युतीय उपकरण तथा अन्य साम्रगीसमेत खराब हुने गरेको उहाँले भन्नुभयो । 

दिनभरि जेनतेन समय काटिन्छ, आफ्नो काममा व्यस्त हुँदा खासै लाइन आउने, जाने गरेको थाहा हुँदैन तर रातिमा छिनछिनमा बत्ती आउने, जाने गर्दा धेरै समस्या हुने सोही ठाउँ वडा नम्बर–४ का रामलाल शर्माले बताउनुभयो । राति खाना खान र सुत्नसमेत समस्या हुने गरेको उहाँले भन्नुभयो ।एकातिर छिन छिनमा बत्ती जाने अर्को तिर लामखुट्टेको बिगबिगीले बस्नै गाह्रो भएको कलैया उपमहानगरपालिका–३ का प्यारेलाल साहले बताउनुभयो ।  

“पहिला भारतबाट आएको विद्युत्मा यस्तो थियो, अहिले छैन । हालका दिनमा नेपालको विद्युत् प्रयोगमा आएको छ,” नेपाल विद्युत् प्राधिकरणको कलैया वितरण शाखा प्रमुख हरदेवप्रसाद गुप्ताले भन्नुभयो । परवानीपुर स्थितको सव स्टेसनमा रहेका क्यापीसीटर बैङ्क चेन्ज खराब भएकाले यस्तो हुने गरेको उहाँले स्वीकार गर्नुभयो ।