विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २७ गते । सप्तरी प्रहरीले १० वर्षअघिको मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा बोदेबर्साईन नगरपालिका वडा नम्बर ८ का शिवकुमार साहलाई बुधबार राजविराज ६ बाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार २०७२ वैशाख २३ गते साविक काचन गाविस ६ स्थित सार्वजनिक बाटोबाट शिवकुमार साह र सुन्दर कुमार ठाकुरले स ३प ६२० नम्बरको मोटरसाइकलमा एक व्यक्तिलाई भारत घुमाउन लैजाने बहानामा बिचमा बसाई भारततर्फ लगेको थियो। सोही घटनासँग सम्बन्धित मुद्दामा लामो समयदेखि फरार रहेका साहलाई अहिले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो । यस्तै प्रहरीले अन्य दुई फरक मुद्दाका प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।
चोरी मुद्दामा राजविराज नगरपालिका वडा नम्बर ४ का गणेश कुमार साहलाई पक्राउ गरिएको हो । उहाँलाई राजविराज ३ स्थित नगमा सहिनको घरको मूल गेटको ताल्चा फोडी भित्र प्रवेश गरेर दराजबाट सुनका गहना चोरी गरेको आरोप छ ।
त्यस्तै, ज्यान मार्ने उद्योग मुद्दामा तिलाठी कोइलाडी गाउँपालिका ८ का बिजुली भन्ने अरुणकुमार देवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँलाई सोही स्थानका रामप्रसाद यादवलाई बाँसको लट्ठी, फलामको रड, खुकुरी, भाला र फर्सा जस्ता घरेलु हतियार प्रयोग गरी गम्भीर कुटपिट गरेको आरोप लागेको छ।
चोरी मुद्दाका साह र ज्यान मार्ने उद्योगका देवलाई सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।