• २ चैत २०८१, शनिबार

वीरगन्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

blog

वीरगन्ज (पर्सा) चैत, २ गते । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो । 

भन्सार प्रमुख दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उहाँको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ । 

वीरगन्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड  कात्तिकमा ११ अर्ब १० करोड र मङ्सिरमा भने १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको  सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो । रासस