• ६ जेठ २०८१, आइतबार

पाँच महिला वडाध्यक्ष

blog

धनगढी, जेठ १९ गते । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका ७३४ वडामध्ये पाँचवटा वडामा महिलाले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन । स्थानीय तहको निर्वाचनबाट पाँच महिलाले सो जिम्मेवारी प्राप्त गर्नुभएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा चार जना महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार बझाङमा एक जना महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । यद्यपि बाँकी सात जिल्लाका वडाध्यक्षमा महिला प्रतिनिधित्व छैन । 

प्रदेशभरि ७३४ वडा रहेकोमा बाजुरास्थित बूढीगङगा नगरपालिकाको नतिजा आउन बाँकी छ । नतिजा आइसकेको ७२४ वडामध्ये पाँच वडाको वडा चलाउने जिम्मेवारी महिलाको काँधमा छ । हालसम्मको नतिजाअनुसार वडाध्यक्षका रूपमा यस प्रदेशमा महिलाको प्रतिनिधित्व ०.६९ प्रतिशत मात्रै रहेको छ । जुन पुरुष प्रतिनिधित्वको तुलनामा अत्यन्त न्यून हो । विभिन्न पालिकाको ७१९ वडामा पुरुषको उपस्थिति छ । अर्थात ९९.३१ प्रतिशत वडा कार्यालय पुरुषको हातमा छ । 

आयोगको तथ्याङकअनुसार कैलालीको जोशीपुर गाउँपालिका–३ को वडाध्यक्षमा रेणुकुमारी डङगौरा निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट २२ मतको फरकमा उहाँले जित्नुभएको हो । गौरीगङगा नगरपालिका–८ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट करुणा चौधरी निर्वाचित हुनुभएको छ । कैलालीकै गोदावरी नगरपालिका–७ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कलावती साउद विजयी हुनुभएको छ ।

लम्कीचुहा नगरपालिका–५ मा नेकपा (माओवादी केन्द्र)का माया विष्ट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । बझाङको खप्तडछान्ना गाउँपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका गौरीकुमारी अधिकारी विजयी हुनुभएको छ । प्रदेशको कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बैतडी, डडेल्धुरा र दार्चुलामा भने एक जना पनि महिला वडाध्यक्ष छैनन ।