शेरबहादुर सार्की
बाजुरा, चैत १ गते । बाजुरामा भेडी गोठ यतिबेला बेँसीबाट धमाधम लेक तिर सार्न थालेका छन् । हिउँदको जाडो छल्न बेँसी (औल) झारिएका ती भेडी गोठ चैत महिना लागेसँगै त्यहाँ गर्मी बढेपछि अहिले ती भेडी गोठ लेक तिर सार्न थालेका हुन् ।
यहाँका भेडापालक कृषकले हिउँदको मौसममा औल झारिएका भेडी गोठ चैतको पहिलो साताबाट लेक अर्थात् हिमाली क्षेत्रतर्फ सार्ने गर्दछन् ।
हिउँद समयमा हिमपात र जाडोबाट बचाउनलाई औल तिर झार्ने गरेका भेडी गोठ गर्मी बढ्न थालेपछि पुनः त्यहाँदेखि लेक तिर सार्न थालेको बुढीनन्दा नगरपालिका–९ का सरिता गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “औलमा चैतको पहिलो हप्तामै बेँसी गर्मी बढ्न थाल्छ । यती बेलामा यहाँका हिमाली क्षेत्रमा हिमपात नहुने साथै चिसो पनि कम हुने हुँदा भेडी गोठ लेक तिर सार्न थालेका हुन् ।”
तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइ भएको स्थानमा भेडी गोठ राख्नलाई निकै सहज हुने भएकाले अहिले भेडी गोठलाई पनि त्यसै स्थानमा लान थालेको गुरुङले बताउनुभयो ।
गर्मी मौसम भेडाहरू औलमा बस्न नरुचाउने भएकाले गर्मी मौसम सुरु भएपछि गोठ माथिल्लो क्षेत्रतिर सार्न त्यहाँ जाडो बढ्न थालेपछि पछि भेडा वा पशुचौपायाहरू बेँसीतर्फ झार्ने गरिन्छ ।
बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, अधिकाशं स्थानीयले भेडापालन गर्ने गरेका छन् ।
यहाँका स्थानीयले हिउँदको महिना यहाँ चिसो हुने भएकोले ती भेडी गोठ औल तिर लिने र त्यहाँ चैतमा गर्मी हुने बित्तिकै फेरि ती भेडी गोठ लेकतिर लाने गर्दछन् । यहाँका स्थानीयको यो प्रचलनकै रूपमा रहेको छ ।
यहाँको हिमाली गाउँपालिकामा १३८ भेडी गोठमा ६ हजार, स्वामिकार्तिकमा ११५ परिवारको भेडीगोठमा आठ हजार, जनगाथना गाउँपालिकाको १२० परिवारको भेडीगोठमा सात हजार २९ र बुढीनन्दा नगरपालिकाको तीन सय भेडी गोठमा झन्डै २० हजार भन्दाबढी भेडा बाख्रा रहेको बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीले बताउनुभयो ।
यहाँका पशु प्राविधिकका अनुसार बाजुरामा ६७३ भेडी गोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा रहेका छन् । योभन्दा पहिला यहाँ भेडापालन गर्नेको सङ्ख्या बढी थियो भने अहिले कमी आएको छ ।
यहाँका अधिकांश स्थानीयले जागिरको खोजी गर्नु र भेडापालन गर्नका लागि चरिचरन गर्ने ठाउँ अभाव भएका कारण पछिल्लो समयमा यहाँ भेडाबाख्रा पाल्नेको सङ्ख्यामा कमी आएको हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीले बताउनुभयो ।