• १ चैत २०८१, शुक्रबार

डढेलोबाट वन जोगाउन अग्निपथ निर्माण

blog

तस्बिर: अनिल पराजुली रानी सामुदायिक वनमा डढेलो नियन्त्रणसम्बन्धी काम गरिँदै ।

हेटौँडा समाचारदाता

हेटौँडा,चैत १ गते । गर्मीयाम सुरु भएसँगै डढेलोका घटना बढ्ने भएकाले यसबाट वन जोगाउन अग्निपथ निर्माण कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय मकवानपुर अन्तर्गत रहेका २१० सामुदायिक वनमध्ये करिब एक सय वनमा हरित दस्ता र अग्नि नियन्त्रणको कार्य सुरु गरिएको हो । 

सामुदायिक वनमा दुई सय मिटर अग्नि रेखा (वन पथ) निर्माण भइसकेको छ । चार महिनाका लागि यहाँका सामुदायिक वनले हरित दस्ता र अग्नि नियन्त्रक स्वयंसेवक पनि राखेर काम थालनी गरिसकेको छ । अग्नि नियन्त्रकको डिभिजन वन कार्यालयले बिमासमेत गरिदिएको छ । 

गर्मीयाम नजिकिँदै गर्दा वनमा हुन सक्ने डढेलो नियन्त्रण र न्यूनीकरणका लागि प्रयास थालनी गरिएको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दीपक अधिकारीले बताउनुभयो । वनडढेलो नियन्त्रणका लागि स्थानीय वन समूहका पदाधिकारी, स्थानीय सरकार र सरोकारवालासँग छलफलसमेत गरिसकेको उहाँले बताउनुभयो । 

“लामो समयसम्म वर्षा नभएकाले वनमा डढेलो लाग्न सक्ने सम्भावना धेरै छ, त्यसलाई न्यूनीकरण र नियन्त्रणका लागि अहिलेदेखि नै पूर्वतयारीमा हामी जुटिसकेका छौँ,” वन अधिकृत अधिकारीले भन्नुभयो । वनडढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय मकवानपुर र यस अन्तर्गत रहेका आठ वटा सबडिभिजनमार्फत वन उपभोक्ता समूहलाई पत्कर जम्मा गर्ने र अग्निरेखा कोर्ने सामग्री वितरण गरिएको छ । आम्दानी राम्रो भएका यहाँका केही सामुदायिक वनलाई अग्नि नियन्त्रण गर्ने उपकरण खरिद गर्न लगाइएको डिभिजन वन कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

७१ हजार ७५४ हेक्टरमा फैलिएको यस डिभिजन अन्तर्गत २१० वटा सामुदायिक वन रहेका छन् । गत आर्थिक वर्षमा करिब सात सय हेक्टर वनडढेलोका कारण नोक्सान भएको थियो । डिभिजन वन मकवानपुर अन्तर्गत हेटौँडा, भीमफेदी, मकवानपुरगढी, बकैया र बागमती रहेको छ ।