ललितपुर, चैत १ गते । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ को सातदोबाटोतर्फको पर्खाल भत्काइएको छ । सम्बन्धित निकायको आवश्यक सुपरिवेक्षण अभाव र ठेकेदार कम्पनीको लापरबाहीका कारण पर्खाल भत्काउनुपरेको हो ।
निर्माणमा त्रुटि हुँदा ग्वार्को चोकबाट सातदोबाटोतको दायाँतर्फ तेत्तिस मिटर र बायाँतर्फ चालिस मिटर पर्खाल भत्काइएको हो । गुणस्तरबारे चासो नदिएको सडक विभागको आँखा पर्खालमा चिरा परेपछि मात्र परेको देखिन्छ ।
सातदोबाटोतर्फ चालिस मिटरसम्म आयोजनाको दुवैतर्फको ‘आरी–वाल’ निकालिएको छ भने त्यहाँ पुरिएको माटो हटाइएको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो ‘ओभरपास’ को पर्खाल लगाउने काम गत माघमा सम्पन्न भएको थियो ।
पुनः ‘आरी–वाल’ लगाएर माटो पुर्दा यसअघि नै ढिलो हुँदै आएको सो आयोजना थप ढिलो हुने भएको छ । आयोजनाको भौतिक र वित्तीय प्रगति क्रमशः ८२ प्रतिशत र ४८ प्रतिशत पुगेको थियो । गरिसकेको काम बिगार्दा अहिले उक्त आयोजनाको भौतिक प्रगति ‘माइनस’ मा गएको छ । त्यहाँ पर्खाल बनाउन प्यानल प्रयोग गरिएको छ । यस्ता प्यानलले एकले अर्कालाई ‘लक’ गरेर जोड्ने गर्छ । आयोजनाको म्याद गत पुस ८ गते नै सकिएको हो । ठेकेदार कम्पनीलाई जरिबाना तिराएर अहिले काम गराइँदै छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमातहत सो ‘फ्लाइओभर’ निर्माण भइरहेको छ ।
केन्द्रका इन्जिनियर विक्रम पौडेलले निर्माणक्रममा देखिएको प्राविधिक त्रुटिलाई सच्याउन ‘ओभरपास’ को ‘आरी–वाल’ निकाली त्यहाँ पुरिएको माटोसमेत हटाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “वाल लगाएर माटो पुरिँदा जोडिएको ठाउँ फाटेर ठुलो भएर आयो । प्यानल जोडिएको ठाउँमा फाट्नु प्राविधिक त्रुटि हो, जसले गर्दा जुन बेला पनि प्यानल भत्केर ठुलो दुर्घटना हुन सक्छ ।” सो ठाउँमा प्यानल जोडिएको ठाउँमा ठुलो ‘ग्याप’ देख्नुका साथै पूरा भित्तै बाङ्गिँदै गएको थियो । यस्तो त्रुटि देखिएको अवस्थामा कालोपत्रे गरेर गाडी गुडाउन नमिल्ने उहाँले स्पष्ट पार्नुभयो ।
यसरी त्रुटि देखिएका ठाउँको ‘आरी–वाल’ र माटो हटाएर पुनः ‘पाइलिङ’ गरी वाल लगाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । वाल लगाउने काम सम्पन्न भएपछि माटो पुरिने छ ।
इन्जिनियर पौडेलले भन्नुभयो, “ठेकेदार कम्पनीले निर्माण कार्यविधि अपनाएरै काम गर्दै आएको छ तर जगमा हालिएको कमजोर माटोका कारण प्यानलका जोड बिस्तारै फाट्दै गएको देखियो । यहाँ माटो परीक्षणमा कमजोरी देखिएको हो । जगमा कालो माटो हालिएको देखिएको छ ।”
‘ओभरपास’ वा ‘फ्लाइओभर’ निर्माणक्रममा यसरी देखिएका ‘ग्याप’लाई सिमेन्टले टालेर हुँदैन । जरैदेखि पुनर्निर्माण गर्नुपर्ने हुन्छ ।
ठेक्का सम्झौता अनुसार २०८० फागुन ११ गतेसम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न नहुँदा पहिलो पटक २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो तर थप गरिएको म्यादभित्र समेत काम सम्पन्न गर्न नसक्दा जरिबाना तिराउन सुरु गरिएको हो । आशिष/समानान्तर/रेलिगेर (संयुक्त) ले सो फ्लाइओभर निर्माणको ठेक्का पाएको हो ।
‘इपिसी’ मोडेलमा निर्माण हुँदै
केन्द्रका इन्जिनियर पौडेलले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडेलमा ओभरपास निर्माण भइरहेको बताउनुभयो । यस मोडेल अनुसार निर्माण कम्पनीले ओभरपास निर्माणको डिजाइन र कमिसनिङ स्वयम् आफैँले गर्नुपर्ने हुन्छ । यस्तो मोडलमा निर्माण कम्पनीले डिजाइन, खरिददेखि कन्स्ट्रक्सनसम्मको काम आफैँले गर्नुपर्ने हुन्छ ।
त्यसै गरी ओभरपास निर्माण भई सञ्चालनमा आएको पाँच वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डिएलपी)’ सम्बन्धित निर्माण कम्पनीकै हुने गरी सम्झौता भएको उहाँले जानकारी दिनुभयो । ‘डिएलपी’ को अवधिमा ओभरपास मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुने छ ।
सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो ओभरपास चार लेनको निर्माण भइरहेको छ । निर्माणपछि ग्वार्को चोकमा चक्रपथका सवारीसाधन ओभरपास भएर आवतजावत गर्ने छन् भने पाटन र ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन ओभरपासको मुनिबाट ‘क्रस’ गर्ने छन् । ओभरपासको कुल लम्बाइ ४५५ मिटर हुने छ । ओभरपासको ग्राउन्ड क्लियरेन्स छ मिटर हुने छ । सो ओभरपासको उचाइ ५.५ मिटरको हुने छ ।
 
                                
                             
                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                