• २८ फागुन २०८१, बुधबार

नेविसङ्घ कार्यकर्ताद्वारा मोरङ क्याम्पसमा आगजनी, डिग्री क्याम्पसमा अखिलको ताला

blog

महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले गरेको तोडफोड । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, फागुन २८ गते ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए ।

निर्वाचन अधिकृतलाई कोठामा थुनेर आगो झोसेर बाहिरिएको विद्यार्थी समूहले उक्त कार्यालय कक्षमा तालाबन्दी गरिदिएका थिए । पछि प्रहरीले ताला फोडेर निर्वाचन अधिकृत अधिकारीलाई बाहिर निकालेको थियो ।

नेपाल विद्यार्थी सङ्घको तर्फबाट दुई फरक प्यानलले उम्मेदवारी दर्ता गराएको र निर्वाचन समितिले गलत पक्षलाई आधिकारिकता प्रदान गरेको भन्दै डा. शेखर कोइराला पक्षधर कार्यकर्ताहरूले स्ववियु निर्वाचन प्रयोजनका लागि स्थापना गरिएको कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसङ्घका दुई खेमाले अलग अलग मनोनयन दर्ता गरेपछि आधिकारिकताको विवाद भएको हो ।

महेन्द्र मोरङ क्याम्पसमा नेता डा. शेखर कोइराला पक्षबाट योगराज दाहाल र संस्थापन पक्षबाट प्रज्वलजङ्ग विष्टको प्यानल दर्ता भएको थियो । तर कोइराला पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्र नामबाट नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विधार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेविसङ्घ मोरङमा दुई सभापति छन् । केन्द्रले परिपत्र गरी छुट्टै जिल्ला सभापति तोकिदिएको र मनोनयनका क्रममा पनि दुई फरक पत्र दिइएकोले निर्वाचन समितिले प्रज्ज्वल विष्ट समूहलाई नेविसङ्घको आधिकारिकता दिएको थियो । विष्ट संस्थापन (देउवा) पक्षका उम्मेदवार हुन् ।

स्ववियु निर्वाचनका लागि दल दर्ता गर्नु केही दिनअघि नेविसङ्घका दुई समूहबिच विवाद भई आपसमै कुटाकुट गरेका थिए । उक्त घटनापछि जिल्लामा नेविसङ्घ विभाजित छ ।

असन्तुष्ट विद्यार्थीले मध्यरातमा निर्वाचन समितिले स्वतन्त्र उल्लेख गरी डा. शेखर कोइराला पक्षका उम्मेदवारहरूलाई स्वतन्त्र उम्मेदवारको हैसियत कायम गरिदिएपछि विवाद बढेको हो ।

मोरङ क्याम्पस विवादका विषयमा नेविसङ्घ केन्द्रीय सदस्य एरिका ढकालले केन्द्रले तोकिदिएको प्रतिनिधिको रोहवरमा मनोनयन दर्ता नगर्ने समूहलाई स्वतन्त्र करार गरिएको बताउनुभयो । 

यसैगरी, आधिकारिकताको विवाद झिक्दै विराटनगरकै स्नातकोत्तर क्याम्पसमा पनि नेकपा (एमाले) निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ । यी दुवै कलेजमा प्रमुख दलहरू निकटका विद्यार्थी सङ्गठनहरूले उम्मेदवारी दिएका छन् । स्नातकोत्तर क्याम्पसमा अनेरास्ववियुको दुई समूहले उम्मेदवारी दिएको छ भने महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसङ्घको तर्फबाट दुई प्यानल दर्ता भएको छ ।