गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२ औँ प्राज्ञसभा सम्पन्न भएको छ । सो अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले आफू प्राज्ञिक सहकार्य गर्न तयार रहेको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले प्राज्ञकर्मीहरू पनि माहुरी जस्तै हुन् र प्राज्ञसभाको निर्देशनबमोजिम अघि बढ्ने बताउनुभयो । नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्राज्ञिक उन्नयनका लागि सबै लागिपर्नुपर्ने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले प्राज्ञिक समृद्धिका लागि लागिपर्ने बताउनुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य निनु चापागाईंले शुभकामना मन्तव्य राख्नुभएको थियो।
यसअघि प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्राज्ञसभाको उद्घाटन गर्नुभएको थियो । उहाँहरूले प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नयनमा प्रज्ञा–प्रतिष्ठानले पुर्याएको योगदान विशिष्ट रहेको बताउँदै देशमा प्रतिक्रान्तिको सङ्केत देखिएकाले स्रष्टाहरू त्यसविरुद्ध लाग्नुपर्ने बताउनुभयो ।