काठमाडौँ, फागुन २७ गते । नेपाली युवा एयरोस्पेस इन्जिनियर सुशान्त खड्काले सामान डेलिभरी गर्ने ड्रोन र प्रक्रियाको विकास गर्नुभएको छ।
खड्काले आविष्कार गर्नुभएको प्रविधिलाई स्मार्ट हवाई रिसेप्शन (सार) प्रणाली र भिटोल ड्रोन नामाकरण गरिएको छ। हाल अमेरिकी सेनाको परियोजनामा कार्यरत खड्काले आफ्नो आविष्कारको लागि अमेरिकी सरकारबाट पेटेन्ट राइट (प्रतिलिपि अधिकार) प्राप्त गरिसक्नुभएको छ।
उहाँको यो प्रविधिले ड्रोनमार्फत सामान ढुवानीलाई सुरक्षित, तीव्र, र स्वचालित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। उपभोक्ताले आकाशबाट सिधै घर, अफिस वा अस्पतालमा सामान प्राप्त गर्न सक्नेछन्। यो प्रविधिको विकासपछि खराब मौसममा बाहिर ननिस्केर पनि सामान प्राप्त गर्न सकिनेछ, चोरीको जोखिम हट्नेछ, र कुर्नुपर्ने झन्झट अन्त्य हुनेछ।
सार प्रणालीले ड्रोनलाई वायुविशेष नियन्त्रण प्रणालीमार्फत भवन भित्र स्वचालित रूपमा पुर्याउन मद्दत गर्छ। यो प्रविधि अस्पताल, ठूला आवासीय क्षेत्र, व्यापारिक प्रतिष्ठान, तथा साधारण उपभोक्ताका लागि अत्यन्त उपयोगी हुनेछ।
ड्रोन डेलिभरी प्रणाली अन्तर्गत ड्रोनले उडेर तोकिएको स्थानमा रहेको युनिटमा सामान राख्छ। अंग प्रत्यारोपणका लागि मानव अंग, रगत र महत्वपूर्ण औषधिहरू सिधै अपरेटिङ कक्षमा पुर्याउन सकिनेछ।
उहाँका अनुसार व्यावसायिक प्रतिष्ठान, गोदाम र कारखानामा मानिसको हस्तक्षेप बिना सुविधाजनक तरिकाबाट स्वचालित डेलिभरी हुनेछ। स्मार्ट सिटीमा ट्राफिक जाम र ढिलाइ बिना निर्बाध सामान ढुवानी हुनेछ।
‘‘हाम्रो प्रविधि केवल सामान ढुवानीको सुविधा मात्र होइन, यो स्वायत्त स्मार्ट सिटीको आधारभूत पूर्वाधार हो, जसले वायुविशेष नियन्त्रण प्रणालीमार्फत भवनहरूभित्र ड्रोन डेलिभरीलाई सहज बनाउँछ’’, उहाँले भन्नुभयो ।
ई–कमर्स, अस्पताल, तथा रसद कम्पनीहरू ड्रोन प्रविधिमा तीव्र रूपमा लागिपरेका बेला, खड्काको पेटेन्ट प्रणालीले हवाई डेलिभरीलाई सर्वसुलभ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।