रामेछाप समाचारदाता
रामेछाप, फागुन २५ गते । रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको कोशी खेतमा तटबन्ध निर्माण भएपछि किसान हर्षित भएका छन् । गत असोजमा तामाकोशीमा आएको बाढीले कटान गरेको ठाउँमा तटबन्ध निर्माण गरिएको हो । अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले किसानको धान खेत कटान गरेपछि चिन्तित भएका थिए ।
तामाकोशी किनारमा रहेको कोशी खेत रामेछाप जिल्लाको राम्रो धान उत्पादन हुने फाँटमध्येको एक हो । तत्कालीन समयमा एकलाल श्रेष्ठ बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री भएका बेलामा विनियोजित १५ लाख रुपियाँ बजेटबाट यहाँ तटबन्ध निर्माण गरिएको हो ।
कोशी खेतमा तटबन्ध निर्माणका लागि लामो समयदेखि माग गरिए पनि बल्ल अहिले तटबन्ध बनेको हो । कृषक गणेशबहादुर माझीले तटबन्धनपछि अब ढुक्कले खेती गर्न पाइने भएको बताउनुभयो । “जिल्लाकै राम्रो उत्पादन हुने फाँट तटबन्धनपछि जोगिन पुगेको छ,” उहाँले भन्नुभयो, “योभन्दा अझै बलियो तटबन्धको आवश्यकता रहेको छ ।”
बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री हुँदा १५ लाख रुपियाँ बजेट पारेर तटबन्ध निर्माण गरिएको मन्थली नगरपालिका–८, चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । तामाकोशी किनारमा रहेको कोशी खेतको बढी जोखिमयुक्त क्षेत्र पहिचान गरी १८० वटा जालीबाट २६० मिटर लम्बाइको तटबन्ध निर्माण गरिएको हो । कोशी खेत फाँटमा मन्थली नगरपालिका–८ को चिसापानी, जखनीटारसहित वडा नं. २ टेकानपुरका गरी एक सयभन्दा बढी किसानको उब्जायोग्य खेत जोगिएको छ ।