• ८ वैशाख २०८२, सोमबार

गिट्टी कुटेर घरखर्च चलाउँदै

blog

मुगु समाचारदाता

मुगु, फागुन २५ गते । दायाँ हातमा हथौडा, हातभरि फोका । उहाँहरूको दैनिकी ढुङ्गासँगै बित्ने गर्दछ । मुगुको छायानाथ रारा नगरपालिका–४ की कौशिलादेवी नेपाली र दिलसरा नेपालीले गिट्टी कुटेर घरखर्च चलाउनुभएको छ । 

गिट्टी बिक्री गरेर राम्रो आम्दानी पनि गर्न उहाँहरू सफल हुनुभएको छ । गिट्टी बिक्रीबाट वार्षिक ५० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएको दिलसरा नेपाली बताउनुहुन्छ । कौशिलादेवी र दिलसरा सदरमुकाम गमगढी जाने लोकमार्गको गमदुवाको छेउमै दिनभर गिट्टी कुट्नमै व्यस्त हुनुहुन्छ । गिट्टी कुटेर घरखर्च चलाउनुका साथै छोराछोरीको पढाइ खर्चसमेत यसैबाट धानेको उहाँहरूको भनाइ छ । 

“गिट्टी कुट्न थालेको तीन महिना जति भयो,” कौशिलादेवीले भन्नुभयो, “मलगायत मेरो छिमेकी दिदीबहिनीले सँगै गिट्टी कुट्छौँ । हामी दुवै जना मिलेर चार दिनमा एक ट्याक्टर गिट्टी बनाउँछौँ । एक ट्याक्टर गिट्टीबापत हामीलाई सात हजार रुपियाँ दिन्छन् अनि दुवैले तीन हजार पाँच सय रुपियाँका दरले बाँड्छौँ ।” चार छोराछोरीको विद्यालयको खर्च पनि गिट्टी कुटेकै रुपियाँले चलाउने गरेको उहाँले सुनाउनुभयो । “गिट्टी कुटेको रुपियाँले नुन, तेल, चामल किन्छौँ,” उहाँले भन्नुभयो, “चार जना छोराछोरी छन्, उनीहरूको स्कुलखर्च पनि यसैबाट धानेका छौँ ।” 

कामको समयमा खेती गर्ने र फुर्सदिलो समयमा गिट्टी कुटेर पनि घरखर्च धान्दै आएको कौशीलादेवीको भनाइ छ । “बच्चाहरूको पढाइखर्च, घरखर्च पनि यसैबाट चलाउँछौँ,” उहाँले भन्नुभयो, “यो काम पनि त्यति धेरै पाइँदैन, गाह्रो नै हुन्छ । यो कामबाट सन्तुष्ट नभएर पनि के गर्ने र ? काम गरेर सबैले खानु नै पर्छ ।” गिट्टी कुटेको उचित पारिश्रमिक भने नपाएको उहाँले गुनासो गर्नुभयो ।