कालीकोट समाचारदाता
कालीकोट, फागुन २५ गते । कालीकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको पाँच महिना बितेको छ । गत कात्तिक १४ देखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको नगरपालिकामा छिमेकी तिलागुफा नगरपालिकाबाट काज सरुवा गराई ल्याइएका देवकिरण बुढा हाजिर हुनुभएको थियो । पदभार ग्रहणसँगै नेमप्लेट राखेर कामकाज अगाडि बढाएको केही घण्टामै माथिल्ला निकायले नगरको प्रमुख प्रशासकीय अधिकृत नहुन भनेपछि उहाँले फर्किनुभएको थियो ।
पुराना प्रमुख प्रशासकीय अधिकृत प्रबलजङ्ग शाही र नगरप्रमुख कमलबहादुर शाहीबिच मतभेद हुँदा नगरप्रमुख शाहीले जुनियर कर्मचारी अविराज शाहीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुभएको थियो । लगत्तै भएको विवादले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरप्रमुख शाहीको जोडबलमा बनेका प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीलाई जिम्मेवारी दिएको ११ औँ दिनमा अर्को पत्र पठाउँदै कामकाज नगर्न निर्देशन दिएको थियो ।
त्यसयता खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । अविराज शाहीलाई मङ्सिर ११ गते कामकाज नगर्न मन्त्रालयले पत्राचार गरेको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवकिरण बुढालाई समेत कामकाज नगर्न भनिएपछि समस्या थप बल्झिएको छ ।
केही दिनअगाडि मन्त्रालयले एक उपसचिवलाई खटाएको थियो तर नगरप्रमुख शाहीले नै हाजिर हुन नदिने भनेपछि उहाँ आउनुभएको छैन । यता नगरप्रमुख कमलबहादुर शाहीले भने मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउन नचाहेको आरोप लगाउनुभयो । मन्त्रालयले अधिकृत तोकेर पठाएको सावनकुमार चौधरीको घरमा आफू पुगेको तर उहाँको घरायसी समस्या भएकाले आउन नमानेको उहाँले जनाउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा करारका कर्मचारीले नौ महिनादेखि तलब भत्ता खान पाएका छैनन् भने चार महिनायता कुनै पनि कर्मचारीले तलब पाएका छैनन् । पोषण, सामाजिक सुरक्षा भत्तालगायतका सबै भुक्तानी ठप्प छ । नगरप्रमुख शाहीले सामाजिक सुरक्षा भत्तासम्म भुक्तानी नभएर आफूलाई निकै समस्या भएको बताउनुभएको छ । उता तिलागुफा नगरपालिकाबाट केही भुक्तानीका लागि काजमा सरुवा गराएर ल्याएका देवकिरण बुढालाई समेत काम गर्न नदिएर प्रदेश मुख्यमन्त्री कार्यालयले काज फिर्ताको पत्र पठाएकाले थप समस्या भएको सुनाउनुभयो ।