• १९ चैत २०८१, मङ्गलबार

पाथीभरा पदमार्ग निर्माण

blog

लिङखिम हुँदै पाथीभरा जानका लागि निर्माण गरिएको पदमार्ग ।

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, फागुन २५ गते  । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) जाने पदमार्ग निर्माण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका–३, लिखिम हुँदै पाथीभरा आउजाउ गर्ने पदमार्ग निर्माण गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिको लगानीमा ढुङ्गा बिछ्याएर (सोलिङ गरेर) पदमार्ग निर्माण गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार समितिद्वारा विनियोजित २० लाख रुपियाँ बजेटको लागतमा पदमार्ग निर्माण गरिएको हो । समितिको आन्तरिक स्रोतबाट बजेट विनियोजन गरिएको पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार लिङखिमको इच्छातेम्बेदेखि कान्छीथान, माइलीथान हुँदै रमितेडाँडासम्म एक हजार छ सय मिटर पदमार्ग निर्माण गरिएको हो । स्थानीय उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको पनि समितिले जनाएको छ । 

पदमार्ग निर्माण भएसँगै मिक्वाखोला गाउँपालिकाको पापुङ, साँवा, खोक्लिङ तथा फक्ताङ्लुङ गाउँपालिकाको सावादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप, ओलाङचुङ्गोला र लिङखिम क्षेत्रबाट पाथीभरा दर्शनमा जाने भक्तजन तथा पदयात्रीलाई सहज हुने भएको छ । पदमार्ग निर्माण गरिएको क्षेत्र गुराँसे वनसहित सुन्दर र आकर्षक भूबनावट भएकाले यात्रुलाई पदयात्रा गर्न पनि आनन्द आउने लिङखिमका स्थानीय क्षितिज लिङखिम लिम्बूले बताउनुभयो ।

यसअघि समितिकै आर्थिक लगानी फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुको मयाम हुँदै पाथीभरा जाने पदमार्ग पनि निर्माण गरिएको थियो । पदमार्ग निर्माण गरिएपछि पाथीभरा दर्शनमा जाने भक्तजनसँगै अन्य यात्रुलाई आउजाउ गर्न सहज भएको बताइएको छ ।