केही दिनअघि ह्वाइट हाउसबाट प्रसारित एउटा दृश्यले सारा विश्वभरि तरङ्ग ल्यायो । त्यसले कतिपय शक्तिराष्ट्रको ध्यान मात्रै खिचेन बरु वैश्विक ध्रुवीकरणलाई झन् बाक्लो बनायो । सँगसँगै ‘शक्तिहीन’ र ‘क्षीण’ भइरहेका राष्ट्रलाई आफ्नो स्वाभिमान र अभिमानले बेस्सरी चिमोट्यो ।
दृश्य थियो, अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको । जो संसारकै शक्तिकेन्द्र मानिन्छ । त्यो दृश्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई र्याख्खर्याख्ती पारिरहेको देख्न सकिन्छ । संसारभरि त्यसलाई अमेरिकाको अपमानपूर्ण व्यवहार भएको भन्दै आलोचना पनि भएको छ । त्यो दृश्यपछि तत्कालै युक्रेनको पक्षमा अमेरिकामै विशाल प्रदर्शन पनि भएका छन् ।
खास गरी युक्रेनलाई अमेरिकाले नै ह्वाइट हाउसमा निम्तो गरेको थियो । युक्रेनी भूमिमा रहेका केही दुर्लभ अनि बहुमूल्य खनिज पदार्थमा सम्झौता गर्नका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि अमेरिकी निम्तो स्विकार्दै ह्वाइट हाउस पुग्नुभएको थियो । ह्वाइट हाउस छिर्नुअघि नै जेलेन्स्कीलाई पत्रकारले ‘ड्रेसअप’ को कुरा सोधेर निकै अपमान गरे । “सुट किन नलगाएको ?” अनि “तपाईंसँग एउटा पनि सुट छैन ?” जस्ता होच्याउने खालका प्रश्न सोधेर पत्रकारले उहाँलाई पहिला नै ‘डोमिनेट’ गरिसकेका थिए । ह्वाइट हाउसको मुख्यद्वारमा स्वागत गर्दै ट्रम्पले पनि पत्रकारकै भाषामा जेलेन्स्कीलाई त्यही प्रश्न गर्नुभयो । त्यसपछि बैठक कक्षको दृश्य त अहिले सारा विश्वका मान्छेका हात हातमा छ ।
अपमान र लज्जापूर्ण व्यवहारपछि जेलेन्स्की सिधै बेलायत पुग्नुभयो । त्यहाँ उहाँले न्यानो स्वागत पनि पाउनुभयो । त्यो घटनापछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता बन्द गर्ने निश्चित थियो र भयो पनि त्यस्तै । बेलायतले युक्रेनलाई तत्कालका लागि केही सैन्य सहायता दिने घोषणा पनि गरेको छ । ह्वाइट हाउसको त्यो घटना ‘अमेरिका–युक्रेन’ सम्बन्धमा सीमित रहेन । बरु त्यसले सिङ्गो युरोपलाई एउटा ध्रुवमा ल्यायो । तत्कालै बेलायती प्रधानमन्त्री कियर स्टार्मरले युरोपेली नेताहरूको बैठक बोलाएर युक्रेनमाथि छलफल गर्नुभयो र शान्तिका लागि आह्वान पनि गर्नुभयो । यद्यपि चुनावताका नै रुस–युक्रेन युद्ध रोक्ने वाचा गरेका ट्रम्पले त्यसको सुरुवात पनि गर्नुभएको छ । रुसका अधिकारीसँग साउदी अरबमा वार्ता गरेर उहाँले शान्ति स्थापनाको प्रयास थाल्नुभयो । नियत जे जस्तो भए पनि युक्रेनसँग गर्ने भनिएको खनिज सम्झौता शान्ति स्थापनाको एउटा अमेरिकी सर्त थियो । युक्रेनले आफू अपमानित भएको महसुस भएपछि त्यो सम्झौता हुन सकेन । रुस–युक्रेन युद्ध मैदानमा शान्तिको परिकल्पना पनि अनिश्चित भएको छ । यसबिचमा बेलायत तथा फ्रान्सलगायत देशको अगुवाइमा शान्ति स्थापनाको पहल गर्ने गरी युरोपियन युनियनले निर्णय गरेको देखिन्छ । युक्रेनले पनि शान्तिका लागि तयार भएको भनेर आफ्नो प्रस्टीकरण दिइरहेको छ । आजको खुला विश्वमा कुनै पनि राष्ट्रले सायदै युद्ध चाहन्छ । जब उसको स्वाभिमान र स्वतन्त्रतामाथि आँच आउन थाल्छ अनि त्यो बेला युद्ध पनि एउटा विकल्पका रूपमा अघि आउन सक्छ । युद्ध सर्वथा गलत हो । यसले विनाशभन्दा अर्थोक केही निम्त्याउँदैन । शक्तिराष्ट्रले अन्य राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता सम्मान उसको सुरक्षामा सम्मानपूर्ण व्यवहार आवश्यक छ । यसैबाट वैश्विक मेलमिलाप र वैश्विक भाइचारा स्थापित हुन्छ । अनि विश्वशान्तिको सुरुवात हुन सक्छ ।
तीन वर्षअघि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यो लडाइँ अहिले पनि जारी छ । यो तीनबर्से लडाइँका दौरान युक्रेनले युद्धको यति चर्को मूल्य चुकाउनु परेको छ कि उसको राष्ट्रिय इतिहासमा आगामी पुस्तासम्म पनि त्यसको परिपूर्ति सायदै गाह्रो देखिन्छ । रुस–युक्रेन युद्ध यी दुई देशमा मात्रै सीमित रहेन । सारा विश्वलाई कुनै न कुनै रूपमा अहिले पनि कतै न कतै दुखिरहेको छ । युरोप भनेको पूरै विश्व आपूर्ति चक्रको एउटा मध्यभूमि हो । जहाँबाट विश्व बजार अनि विश्व अर्थतन्त्र पनि सञ्चालन हुन्छ । भर्खरै कोरोना महामारीबाट तङ्ग्रिन थालेको विश्वमा त्यही युद्धले थप बिथोलिदियो । त्यो युद्धका कारण अस्तव्यस्त भएको आपूर्ति चक्रले पूरै विश्व बजारमा असर प¥यो । कतिपय राष्ट्रको अर्थतन्त्र नै डामाडोल भयो । युरोप अहिले पनि महँगीको चर्को मारले थिचिइरहेको छ । नेपाल जस्ता राष्ट्रलाई पनि त्यसको प्रत्यक्ष मार प¥यो । नेपाल र अझ ८० प्रतिशतभन्दा वस्तु र सेवा आयातमा निर्भर राष्ट्र हो । यति मात्रै होइन, यो युद्ध अर्थात् रुस–युक्रेन युद्धमा प्रत्यक्ष पनि गाँसियो । सरकारले अनुमति नदिए पनि लुकिछिपी रुसी सेनामा भर्ना भएका दर्जनभन्दा धेरै नेपाली युवाको ज्यान गएको छ । कैयौँ घाइते भएका छन् । कैयौँ बेपत्ता छन् । अहिले पनि रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था परिवारले समेत थाहा नपाएको अवस्था छ । कुनै देशको युद्धले मात्रै युद्धरत पक्षलाई मात्रै असर गरेको हुन्न बरु त्यसले टाढा टाढाका देशमा पनि प्रभाव पारिरहेको हुन्छ । यो मात्रै होइन, इजरायल–हमास युद्धमा पनि १० भन्दा बढी नेपालीले ज्यान गुमाउनु प¥यो । हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको अवस्था दुई वर्षदेखि अज्ञात छ ।
नेपाल आफैँमा असंलग्न राष्ट्रको पक्षधर देश हो । त्यसैले नेपाल विश्वमा हुने यस्ता र सबै प्रकारका युद्ध र लडाइँबाट टाढा नै रहन्छ । यही पञ्चशील सिद्धान्तमा हाम्रा परराष्ट्र नीति छन् । त्यसैले युद्ध अनि लडाइँका दौरान नेपालले कसैको पनि समर्थन वा विरोध गर्न सक्दैन । आफ्नो राष्ट्र र राष्ट्रमाथि नै युद्धका बाछिटा पर्न थालेपछि भने नेपाल जस्ता राष्ट्रले अन्तर्राष्ट्रिय मञ्चमार्फत कूटनीतिक पहल पनि थाल्नु पर्छ । यद्यपि युद्धको सुरुवातमा नेपालले युक्रेनको समर्थन गरेपछि त्यसबारे अनेक टीकाटिप्पणी पनि आए तर एउटा सार्वभौम राष्ट्रले अर्को देशको स्वतन्त्रता अनि सार्वभौमिकताको सम्मान गर्नु अस्वाभाविक होइन ।
अहिले अमेरिकाको आलोचना भएको एउटा कारण त्यो पनि हो । कुनै पनि राष्ट्रले आफ्नो शक्तिको आडमा अर्को कुनै राष्ट्रको स्वतन्त्रता अनि सार्वभौमिकतामाथि आघात पु¥याउनुहुन्न । भूगोल अनि अर्थतन्त्रका आधारमा हरेक देशका आआफ्नै विशेषता हुन्छन् । कोही धनी हुन्छन्, कोही गरिब हुन्छन् । कोही देश ठुला हुन्छन्, कोही साना हुन्छन् तर स्वतन्त्रता अनि सार्वभौमिकता भनेको सबैका लागि उत्तिकै बराबरी हुन्छन् । अर्को राष्ट्रले कुनै व्यक्तिलाई होइन, त्यो राष्ट्रको त्यही सार्वभौमिकता र स्वतन्त्र अस्तित्वलाई सम्मान गर्ने हो । यही नै वैश्विक भाइचाराको एउटा आधार हो ।
‘महाशक्ति’ भएर अमेरिकी प्रभुत्वको पुनर्जन्म गराउने सोचका साथ दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प यतिबेला आफ्ना निर्णय र आदेशका कारण जति चर्चामा हुनुहुन्छ, त्योभन्दा धेरै विश्वमा भय अनि अन्योलपूर्ण तरङ्ग छाएका छन् । आप्रवासीसम्बन्धी ट्रम्पका कतिपय आदेश र नीतिले विश्वका सबै देश प्रभावित भएका छन् । अमेरिकामा धेरै नेपाली पनि छन् । धेरै आप्रवासी नेपाली त्यहाँ अवैधानिक रूपमा रहेको भन्ने पनि छ । अमेरिकाले पहिलो चरणमा डिपोर्ट गर्ने लाखौँ आप्रवासीको सूचीमा एक हजार तीन सय नेपाली यसअघि नै सूचीकृत भइसकेका छन् । त्यसमध्ये भर्खरै मात्र आठ नेपालीलाई अमेरिकी चार्टर विमानले नेपाल ल्याएर छोडिदिएको छ । ट्रम्पको आदेश अनुसार बिस्तारै आप्रवासी नेपाली डिपोर्ट हुने पक्कापक्की छ ।
यति मात्रै होइन, पछिल्लो पटक अमेरिकी राष्ट्रपतिकै निर्णय अनुसार चीन, क्यानडा र मेक्सिकोलगायतका देशमाथि चर्को कर लगाउने व्यवस्था सुरु भएको छ । यसले विश्वमा फेरि अर्को भयानक तरङ्ग पैदा गरेको छ । यसबाट शक्तिराष्ट्रबिच व्यापार अनि कर युद्ध सुरु हुने निश्चित छ र यस्ता अप्रत्यक्ष युद्धबाट प्रत्यक्ष पिरोलिने भनेको नेपाल जस्ता राष्ट्र नै हुन् । यद्यपि अहिले अमेरिकाको सिधा टक्कर विश्वका त्यस्ता शक्तिराष्ट्रसँग छ जसले अमेरिकी अस्तित्व अनि प्रभुत्वलाई चुनौती दिन थालेका छन् । त्यसको असर कुनै न कुनै रूपमा नेपाल जस्ता देशमा परिहाल्छ, यो स्वाभाविकै हो ।
नेपाल आफैँमा एक भूपरिवेष्ठित राष्ट्र हो । नेपालको आफ्नै अस्तित्व छ, स्वतन्त्र छ, सार्वभौम छ । तथापि भौगोलिक र सामरिक राजनीतिबाट नेपाल अलग भने रहन सक्दैन । यसका छिमेकका वारिपारि दुई शक्तिशाली राष्ट्र छन् । ती देशका पनि आफ्नै प्रकारका प्रतिस्पर्धा छन् । त्यसकारण पनि छिमेकका प्रभाव पक्कै नेपालमा रहन्छ । यसअघिका घटना परिघटनाबाट पनि छिमेकमा हुने अनेक किसिमका तरङ्गले नेपाललाई छोइरहेको इतिहास छ । त्यसैले यस्तो बेलामा नेपाल जस्ता राष्ट्रको भूमिका पनि अलग किसिमको हुनु पर्छ । यतिबेला हाम्रो जस्तो देशले निकै संयम र शालीन भएर वैश्विक कूटनीति अवलम्बन गर्नुपर्ने अवस्था छ ।