फलफूल पसलमा “कहाँको सुन्तला हो साहुजी ?” भनेर सोध्यौँ भने “मनकामनाको सुन्तला हो” भन्ने उत्तर पाइन्छ । नेपालमा अन्य ठाउँमा पनि सुन्तला खेती हुन्छ तर कतिपय पसल सञ्चालकले मनकामनाको भनी झुक्याउँदै बेच्ने गरेको पाइन्छ ।
भाइबहिनीहरू, नेपालका हरेक ठाउँको आआफ्नै विशेषता छ । विशेष गुण हुनुलाई विशेषता भनिन्छ । त्यसैका आधारमा ती ठाउँ प्रख्यात छन् । भादगाउँले टोपी भन्नासाथ भक्तपुरलाई सम्झिन्छौँ । ढाका टोपीका लागि पाल्पाको नाम अगाडि आउँछ । भोजपुर खुकुरीका लागि प्रख्यात छ । मुलाका लागि चित्लाङ वा प्युठान प्रख्यात छ । खाने तेलका लागि खोकनाले प्रसिद्धि कमाएको छ । बरमझियाको पेडा प्रख्यात छ । खानेकुरा वा प्रयोग गर्ने वस्तुको विशेषताका कारण ठाउँ प्रख्यात भएका हुन् । केही त्यस्ता विशेषताबारेमा जानकारी दिइएको छ ।
दही
भक्तपुरमा पाइने दही जुजु धौ हो । नेवारी भाषामा जुजु भनेको राजा र धौ भनेको दही हो अर्थात् यसलाई दहीको राजा भनिन्छ । भक्तपुर पुग्नुभयो भने जुजु धौ अवश्य खानु होला । निकै स्वादिलो भएकाले जुजु धौ प्रख्यात छ । दुधलाई बाक्लो हुने गरी उमाली माटोको भाडोमा जमाएर दही तयार गरिन्छ । यो दही मल्लकालदेखि नै उत्पादन हुँदै आएको हो । मल्ल राजाका राजदरबारमा यसको उपभोग गरिन्थ्यो । अचेल काठमाडौँ उपत्यकाका धेरै ठाउँमा जुजु धौ पाइन्छ ।
मखान
मिथिला र पोखरीबिच घनिष्ठ सम्बन्ध छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई ५२ कुट्टी र ७२ कुण्डको सहरको उपमा दिइएको थियो । मिथिलाको विशेषता माछा र मखान हो । नेपालमा मखानको खेती सबैभन्दा बढी महोत्तरीमा हुन्छ । त्यसैले मखानका लागि महोत्तरी प्रख्यात छ । मखानको बिरुवा पानीमै उम्रिन्छ । मखान कमलको फूलको बिउ हो । बिउलाई निकालेर प्रशोधन गरिन्छ । मखानलाई भुटेर वा खिर बनाएर खाइन्छ । मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाको दिन बेहुलाको घरमा मखान बाँड्ने प्रचलन छ ।
अदुवा
हरेकका भान्सामा अदुवा पक्कै हुन्छ । यो धेरै उपयोगी छ । तरकारीमा हाल्ने मसला वा औषधीका रूपमा यसलाई प्रयोग गरिन्छ । हावापानीका कारण सल्यान अदुवा खेतीका लागि उपयुक्त छ । इलाम, नवलपरासी, तनहुँ, कास्की आदि स्थानमा पनि अदुवा खेती हुने गरे पनि सल्यानमा अरू ठाउँभन्दा धेरै खेती गरिन्छ । त्यहाँको अदुवा स्वादिलो पनि हुने हुँदा प्रख्यात छ । सल्यानको कपुरकोटमा अदुवा बाली अनुसन्धान कार्यक्रम सञ्चालित छ । कपुरकोटमा अदुवाको चकलेट पनि पाइन्छ ।
खुवा
कतै खुवा र कतै कुराउनी भनिन्छ । दक्षिण ललितपुरको ठेचो खुवाका लागि प्रसिद्ध छ । दुधबाट खुवा तयार गरिन्छ । दुधलाई भाँडोमा उमाल्दै गएपछि तल थेग्रिने पदार्थ खुवा हो । दुई सय वर्षभन्दा अघिदेखि ठेचोमा खुवा उत्पादन हुँदै आएको हो । गुणस्तरीय र स्वादिलो भएकोले ठेचोको खुवा प्रसिद्ध भएको हो । पछिल्लो समय दुधको अभाव हुन थालेपछि ठचोमा खुवा उत्पादन घट्दै गएको छ । अचेल काठमाडौँको फर्पिङ र थानकोट, हेटौँडाको चुच्चेखोला, सिन्धुलीको खनियाँखर्क आदि स्थानमा पनि खुवा प्रशस्त उत्पादन हुने गरेको छ ।
नासपाती
आकर्षक दाना, रसिलो र स्वादिलो हुने भएकोले फर्पिङको नासपाती प्रख्यात भएको हो । काठमाडौँ सहरबाट दक्षिणकाली जाँदा फर्पिङ पर्छ । फर्पिङसँग जोडिएको छैमले गाउँका करिब ७० प्रतिशत किसानले नासपातीको खेती गर्दै आएका छन् । यहाँ हरेक घरमा नासपातीका बोट देख्न पाइन्छ । नासपाती साउनदेखि असोजसम्म फल्छ । नासपातीको बिरुवा एक पटक लगाएपछि धेरै वर्षसम्म फल्छ ।
चिया
सूर्य उदाएको हेर्नलाई इलामको अन्तुडाँडा प्रख्यात छ । इलाम चियाबारीका लागि पनि उत्तिकै प्रख्यात छ । कार्पेट बिछ्याए झैँ थुम्का थुम्कामा चिया बगान देख्न पाइन्छ । थुप्रै नेपाली गीतमा इलामको चियाबारी उल्लेख गरिएको छ । चिया खेतीका लागि उपयुक्त हावापानी रहेकोले इलाममा चियाको व्यावसायिक खेती गरिएको हो । स्वादका कारण यहाँको चिया लोकप्रिय छ । सन् १८६२ मा कर्नेल गजराज सिंहले चियाको बिरुवा भित्र्याउनु भएको हो । इलामको चिया विदेशमा पनि निर्यात हुन्छ ।
कफी
विसं १९९५ मा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आँपचौरमा रोप्नुभयो । त्यहीँबाट नेपालमा कफी खेतीको सुरुवात भएको मानिन्छ । धेरैपछि नेपाल सरकारले भारतबाट कफीको बिउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भयो । बढी जसो गुल्मीको आँपचौर र भण्डारीडाँडामा कफी खेती गरिन्छ । त्यसैले कफीका लागि गुल्मी प्रख्यात छ । बिरुवा रोपिएको तीनदेखि चार वर्षभित्र कफी फल्न थाल्छ । अचेल नेपालका अन्य ठाउँमा पनि कफी खेती गरिन्छ र यहाँको कफी विदेशमा पनि निर्यात हुन्छ ।
सुन्तला
फलफूल पसलमा “कहाँको सुन्तला हो साहुजी ?” भनेर सोध्यौँ भने “मनकामनाको सुन्तला हो” भन्ने उत्तर पाइन्छ । नेपालमा अन्य ठाउँमा पनि सुन्तला खेती हुन्छ तर कतिपय पसल सञ्चालकले मनकामनाको भनी झुक्याउँदै बेच्ने गरेको पाइन्छ । हो, सुन्तलाका लागि गोरखा प्रख्यात छ । मनकामना पनि गोरखामा पर्दछ । मनकामना क्षेत्रमा सुन्तला बढी उत्पादन गरिन्छ । बढी उचाइमा फल्ने भएकाले स्वादका कारण गोरखाको सुन्तला प्रख्यात भएको हो । धनकुटा, सल्यान, डडेलधुरा आदि पनि सुन्तलाका लागि प्रख्यात हुँदै गएका छन् ।
जुनार
जुनार सुन्तला प्रजातिमा पर्ने फल हो तर सुन्तला होइन । नेपालमा जुनारको खेती २५० वर्षभन्दा अगाडि हुँदै आएको हो । राणा शासकले उपहार दिँदै ‘ज्युनार गरिबक्सियोस्’ भनेको र पछि ज्युनारबाटै जुनार भएको भन्ने कथन पनि छ । जुनारका लागि सिन्धुली प्रख्यात छ । सिन्धुलीको गोलन्जोर, खनियाँखर्क आदि स्थानमा जुनार खेती गरिन्छ । हरेक घरमा जुनारको बोट देख्न पाइन्छ । जुनार खेतीका कारण पनि सिन्धुलीका बासिन्दाको आर्थिकस्तर राम्रो भएको हो ।
आँप
नेपालको पूर्वी तराई आँपका लागि प्रख्यात छ । नेपाली बजारमा यहाँका आँप पाइन्छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरीलगायतमा आँपको व्यावसायिक खेती हुँदै आएको छ । यी जिल्लामा बिघाका बिघा आँपका बगैँचा छन् । आँप विभिन्न जातका हुन्छन् । नेपालमा बढी जसो मालदह, बम्बई र दशहरी जातका आँप उत्पादन हुन्छ । यी जातका आँप अरूभन्दा गुलियो र स्वादिलो मानिन्छ । आँपलाई फलको राजा पनि भनिन्छ ।
स्याउ
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा जापान र इटालीबाट स्याउका केही बोट नेपालमा ल्याइएको थियो । काठमाडौँनजिकको सिन्धुपाल्चोकको हेलम्बु स्याउ खेतीका लागि प्रसिद्ध स्थान हो तर पछिल्लो समयमा हुम्ला, जुम्ला र मुस्ताङ स्याउ खेतीका लागि प्रसिद्ध हुँदै गएका छन् । हरेक वर्ष चीन र भारतबाट करोडौँ रुपियाँ बराबरको स्याउ आयात गरिन्छ । नेपालमा उत्पादन हुने स्याउले आयात घटाउँदै लगेको छ । स्याउ फल्ने मौसममा स्वदेशमा फलेका स्याउ जति पनि पाइन्छ ।
टोपी
पुरुषका शिरमा ढाका टोपी वा भादगाउँले टोपी लगाएको देख्न पाइन्छ । ढाका टोपीका लागि पाल्पा प्रख्यात छ । त्यसैले पाल्पाली ढाका टोपी पनि भन्ने चलन छ । अचेल झापामा पनि धेरै सङ्ख्यामा ढाका टोपी बन्ने गरेको छ । भक्तपुर चाहिँ भादगाउँले टोपीका लागि प्रख्यात छ । पहिले भक्तपुरलाई भादगाउँ भनिन्थ्यो । त्यसैले भादगाउँको टोपीलाई भादागाउँले भन्न थालियो । यो निक्खर कालो रङको हुन्छ भने ढाका टोपी बुट्टेदार हुन्छ । २०४६ सालअघि सिंहदरबार प्रवेश गर्दा नेपाली टोपी अनिवार्य लगाउनुपथ्र्याे ।