गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १८ गते । राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा पक्राउ परी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनाविरुद्ध राजद्रोह तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ ।
जिल्ला अदालत काठमाडौँले मिश्र, राणासहित ११ जनामाथि राजद्रोहको कसुर तथा अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासले म्याद थप गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शान्तिपूर्ण भनिएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भई हिंसात्मक बनेपछि प्रदर्शनकारीले लगाएको आगोमा परी टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । सो घटनामा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी ठुलो भौतिक क्षति गराइएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न अन्य ३१ जनालाई आपराधिक उपद्रवको कसुरमा अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार प्रदर्शन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं फरार रहेकाले खोजीकार्य तीव्र पारिएको छ । प्रसाईंले आइतबार एक भिडियो सन्देश जारी गर्दै आफू सुरक्षित रहन काठमाडौँको एक कुनै मन्दिरमा लुकेर बसेको दाबी गरे पनि प्रहरीले प्रसाईं अझै फेला पार्न सकेको छैन ।
जिल्ला प्रहरीपरिसर काठमाडौँको हिरासतमा रहेका ४१ जनालाई आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत अदालतमा पेस गरेको थियो । जिल्ला अदालत काठमाडौँले प्रहरी हिरासतमा रहेका रवीन्द्र मिश्र, धवलशमशेर राणासहित ११ जनामाथि राज्यविरुद्धको कसुर तथा सङ्गठित अपराधको अभियोगमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार घटनामा संलग्न अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव र सङ्गठित अपराधको कसुरमा अनुसन्धान हुने छ ।
प्रदर्शनको संयोजक पञ्चनेता नवराज सुवेदी बनेका थिए भने प्रदर्शनको समर्थन राप्रपा र राप्रपा नेपालले गरेका थिए । प्रदर्शनका क्रममा दुर्गा प्रसाईंले सुरक्षार्थ तैनाथ प्रहरीको हत्या गर्ने उद्देश्यले आफूले हाँकेको गाडी प्रहरीमाथि नै चलाउन खोजेको दृश्य सार्वजनिक भएका थिए ।
त्यसै गरी रवीन्द्र मिश्र तथा धवलशमशेर राणालगायतले प्रदर्शनको नेतृत्व गरेका थिए । उनीहरूले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा सरकारी सवारीसाधनमा आगजनी गर्न प्रदर्शनकारीलाई उक्साएका भिडियोसमेत बाहिरिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कुल ४१ जनाविरुद्ध प्रहरीले अनुसन्धान गर्ने भएको छ । उनीहरूमाथि प्रहरीले सङ्गठित अपराधमा पनि अनुसन्धान गर्ने भएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ ।
भाटभटेनी लुटपाट गर्ने नौ जना पक्राउ
राजावादीको आन्दोलनमा सहभागी भई कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुपरमार्केटमा पसी ब्ल्याक लेबल, ज्याक ड्यानियल्स लुट्ने धनुषाका आशिष सिंह, चार वटा बियरको बोतल लुटपाट गरी भागेका सर्लाहीका प्रेमकुमार महतो, भारतीय नागरिक रविरञ्जन कुमार, नुवाकोटकी सुशीला कुमाल, धरानकी एलिसा राई र कोटेश्वरकी बालकुमारी कार्कीलाई पक्राउ गरेको छ ।
त्यसै गरी स्याउलगायत फलफूल चोरी गरी फरार सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सुस्मिता बराललाई समेत प्रहरीले चोरी गरेको सामानसहित पक्राउ गरेको छ । पक्राउ परकाविरुद्ध प्रहरी वृत्त नयाँबानेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।