हिन्दीमा एउटा भनाइ छ, “पढोगे–लिखोगे तो बनोगे नवाब, खेलोगे–कुदोगे तो होगे खराब ।” यो सामाजिक भनाइलाई खण्डित गर्दै ‘खेलोगे–कुदोगे तो होगे नवाब’ आजको परिवर्तित समकालीन सामाजिक परिस्थितिलाई प्रतिविम्ब गर्ने यथार्थपरक भाष्य बनेको छ । प्रयुक्त प्रतिनिधिमूलक वैचारिकीले खेलकुदबाट प्राप्त हुने विशिष्ट जीवनोपयोगी योगदानलाई पुष्टि गर्छ । खेलकुदको सैद्धान्तिक अर्थगत बुझाइबारे समय र परिस्थिति अनुसार विविधता रहेकाले यसलाई एकल अर्थमा उत्तर दिनु उपयुक्त हुँदैन । यद्यपि प्राज्ञिक सहजताका निम्ति राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २(घ) ले उल्लेख गरेको परिभाषा सहयोगी हुन सक्छ । उक्त ऐनमा ‘खेलकुद’ भन्नाले शारीरिक तथा मानसिक प्रयास र सिपका माध्यमबाट व्यक्तिगत वा समूहमा प्रतिस्पर्धात्मक क्रियाकलापमा संलग्न रही नतिजामुखी उपलब्धि हासिल गर्ने क्रियाकलापका साथसाथै प्रचलित व्यावसायिक, पर्यटकीय, साहसिक तथा परम्परागत खेल बुझ्नुपर्ने उल्लेख छ । यसकारण खेलकुदलाई सामान्यतः निश्चित आन्तरिक नियमको रोहमा गरिने प्रतिस्पर्धामुखी मानसिक तथा शरीरिक क्रियाकलाप बुझ्न सकिन्छ ।
खेलकुदको महत्व एउटा व्यक्तिको सामान्य जैविक स्वास्थ्यदेखि राष्ट्र राष्ट्रबिचको कूटनीतिसम्मलाई (स्पोर्ट्स डिप्लोमेसी) अपरिहार्य हुने भएकाले यसको उपयोगिता विराट् छ । खेलकुदका माध्यमबाट स्वस्थ, सक्षम, अनुशासित, मर्यादित, अनुशासित, सिर्जनशील र मानवीय संवेदनायुक्त नागरिक निर्माण गर्नुका साथै राष्ट्रिय एकताको प्रवर्धन तथा राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा एवं छविलाई अभिवृद्धि गर्न सकिन्छ । खेलकुदजन्य क्रियाकलापले नागरिकको सर्वाङ्गीण वृद्धि विकासमा योगदान पु¥याउने भएकाले यसले मानवीय जीवनमा बहुउपलब्धि प्रदान गर्दछ । पाश्चात्य जगत्का दार्शनिक रुसोका अनुसार खेलकुदले मानवको शरीर र विवेक दुवैको सामाञ्जस्यपूर्ण तवरबाट विकास गर्न निर्णायक भूमिका निर्वाह गर्दछ । कार्यात्मक रूपमा हेर्ने हो भने खेलकुदका विविध आयामले व्यक्तिको मानसिक, शारीरिक स्वास्थ्य तथा तन्दुरुस्तीको प्रवर्धन, सामाजिकीकरणको विकास, व्यवसायजन्य सम्भावनाको विस्तार, सदाचार तथा आचरणजन्य मान्यतासँग साक्षात्कार र असल जीवन व्यतीत गर्न अपरिहार्य हुने अन्य आवश्यकतालाई समेत सम्बोधन गराउन आवश्यक निर्देश गर्दछ ।
स्वास्थ्यको पहरेदार
विश्व स्वास्थ्य सङ्गठनका अनुसार जलवायु परिवर्तन, विषादीजन्य पदार्थको अनियन्त्रित प्रयोग, अस्वस्थकर खाद्य प्रणाली र अन्य मानवसृजित प्रकोपका कारण गम्भीर, मध्यम तथा सामान्य असर पार्ने अनेक रोगको सङ्व्रmमणले हरेक पल व्यक्तिको स्वास्थ्य सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । यसलाई सामना गर्न उच्च प्रतिरक्षा सामथ्र्य भएको स्वास्थ्य जीवन अनिवार्य सर्त नै हुने हुँदा खेलको महत्व स्वयम् प्रस्ट हुन जान्छ । खेलका माध्यमले हाम्रो दैनिकी नियमित हुनुका साथै उच्च रक्तचाप, मधुमेह, कार्डियोभास्कुलर रोग, मोटोपना, हृदयरोग जस्ता रोगको सम्भावना न्यून हुने स्वास्थ्यविद्को बलियो मत छ । शारीरिक रूपमा सक्रिय व्यक्तिको हड्डी र मांसपेशी बलियो हुने भएका कारण शरीरमा बोसो कम हुने उच्च सम्भावना हुन्छ, जसले परिणामस्वरूप बलियो स्ट्यामिना दिन्छ । यस मामिलामा सन् २००९ मा महिला खेलकुद प्रतिष्ठानले गरेको अध्ययनको निष्कर्ष अनुसार समेत खेलकुदमा सहभागिताले युवाको रोग प्रतिरक्षा क्षमता बढ्ने र त्यसबाट असल स्वास्थ्यसम्बन्धी जीवनशैलीमा संलग्न रहन उत्प्रेरणा मिल्ने भनिएको छ ।
खेलकुदको जीवनमा ‘एनालोजी’
खेलकुदको असल तथा इमानदार अभ्यासले खेलकुदले अपेक्षित सामाजिकताको बोध गराउनुका साथै आवश्यक समन्वय, व्यवस्थापन र सन्तुलनको कलालाई समेत निम्त्याउँछ । खेलकुद व्यवस्थापन तथा प्रशासन विषयको कुशल जानकार तथा पूर्वतेक्वान्डो खेलाडी रोमी गिरीले सन् २०१६ मा स्विजरल्यान्डको जेनेभामा संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको ओलम्पिक फ्लेम प्रिजेन्टेसन कार्यक्रममा खेलकुदले आत्मविश्वास बढाउने र जीवनमा आउने चुनौतीको सामना गर्न सक्ने गरी दृढनिश्चयी बनाउन सघाउ पुग्छ भन्ने भनाइ व्यक्त गर्नुभएको छ । निश्चित नियमको बन्धनमा बसेर आचरण र नैतिकताको परिधिभित्र प्रतिरक्षी समूहसँग समेत स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेलगायतका खेलकुदका आधारभूत नियमले उच्चतम सामाजिक मूल्य बोक्ने हुँदा एक आदर्श सामाजिक प्राणीका रूपमा रूपान्तरित गर्न खेलकुदले विशिष्ट योगदान गर्दछ । उदाहरणार्थ खेलकुदमा, जितहार सामान्य तथा नियमित प्रक्रिया हो भन्ने सिकाइले जीवनमा जितहारलाई सजिलैसँग सामना गर्न प्रोत्साहन गर्छ, जीवनको आरोहअवरोहको स्वाभाविकताबारे दीक्षित गर्दछ । त्यस्तै खेलकुदमा सफलता प्राप्त गर्न प्रभावकारी रणनीति तर्जुमा गर्नुपर्ने र त्यसलाई निकै सुझबुझका साथ कार्यान्वयन गर्नुपर्ने भएकाले सोही ‘एनालोजी’ को प्रयोग गरेर जीवनलाई सार्थक तुल्याउन सामना गर्नुपर्ने रणनीति विकास गर्न प्रेरित गर्दछ । यसबाट मानवीय जीवनमा भोग्नुपर्ने कठिनभन्दा कठिन परिस्थितिलाई समेत धैर्य राखी राम्ररी व्यवस्थापन गर्न सकिने तथ्य प्रमाणित हुन्छ । यसका साथै खेलकुदमा अवलम्बन गरिनुपर्ने अनुशासनका कडा नियम पनि वास्तविक जीवन खातिर त्यत्तिकै अनुकरणीय, प्रायोगिक तथा अपरिहार्य रहेको हुन्छ ।
सामाजिक दायित्वबोधको रत्न
खेलकुदको सामाजिकता विषयको अध्येता जेम्स रोबर्टले खेलकुदले व्यक्तिको जीवनमा अर्थपूर्ण सामाजिक पुँजी निर्माण गर्ने दलिल पेस गर्नुहुन्छ । यस अर्थमा खेलकुदको मानवीय जीवनमा अर्काे उपयोगिता भनेको व्यक्तिको सामाजिकताको प्रवर्धन तथा समाजीकरणको प्रक्रियालाई सबलीकरण गर्नु हो । खासमा खेलकुदका माध्यमले आपसी सदभाव, सहकार्य र मित्रतालाई बढाउन, एकअर्काप्रति सम्मान प्रकट गर्न र परस्पर सहयोग जुटाउन सकिन्छ । खेलकुदमा समूहगत स्वार्थ हाबी हुने हुँदा यसले सामाजिक एकतालाई सुदृढ बनाई सामाजिक विभाजन तथा सामाजिक अन्तरविरोध र खण्डीकरणलाई निषेध गर्दछ । खेलकुदमा राजनीतिक, धार्मिक र सामाजिक हैसियतलाई बिर्सिएर समान भावना उत्पन्न गराउने शक्ति हुन्छ । एउटा देश अर्काे देशसँग, एउटा संस्था अर्को संस्थासँग वा एउटा गाउँ अर्को गाउँसँग मित्रतापूर्ण साझेदारी गर्न खेलकुद प्रतियोगिता आयोजना गर्ने हुँदा त्यसले अन्ततोगत्वा व्यक्तिमा समाजिक दायित्वबोध अथवा आफ्नो समाजप्रतिको समपर्ण भावलाई रहस्योद्घाटन गर्दछ । यस अर्थमा खेलकुदमार्फत समाजलाई योगदान गरेर राष्ट्र निर्माणको बृहत् प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मत प्रबल देखिन्छ ।
करिअरको कोसेढुङ्गा
२१ औँ शताब्दीमा हरेक खेल क्षेत्रको व्यवसायीकरणतर्फ भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास यसको जीवन्त प्रमाण हुन । अब पहिले जस्तो मान्छेले खेल देखायो र दर्शकले पैसा फालेजस्तो अवस्था नभई पहिलेदेखि नै कुन खेल प्रतियोगितामा खेल्दा कति रकम पाइन्छ भन्ने कुरा ‘फ्रेनचाइज’ गेममार्फत गरिने
‘अक्सन’ मा निश्चित हुन थालेको छ । नेपालकै परिवेशमा हेर्ने हो भने क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले क्रिकेट खेलाडीलाई निश्चित तलबको व्यवस्थाका साथै म्याच खेलेबापत ‘म्याच फी’ उपलब्ध गराएर खेलाडीको व्यावसायिक जीवनलाई सुनिश्चित गर्न खोजेको देखिन्छ । यसका अतिरिक्त खेलाडीको सार्वजनिक चिनारी एवं समर्थकमाझ हुने लोकप्रियताका कारण ठुला व्यापारिक घरानाबाट वस्तु तथा सेवाको प्रमोशन तथा विज्ञापनको अवसर प्राप्त हुन सक्छ । कतिपय अवस्थामा सम्मानित संस्थाको ‘ब्रान्ड एम्बेसडर’ को हैसियतमा नियुक्ति पाएर उच्च आर्थिक लाभ, सेवा सुविधा प्राप्त गर्न सकिन्छ । उदाहरणार्थ मिडिया रिपोर्ट्सका अनुसार भारतीय क्रिकेट खेलाडी विराट कोहलीले एउटै विज्ञापनका निम्ति औसतमा सातदेखि १० करोड भारतीय रुपियाँसम्म लिने गरेका छन् । नेपालकै सन्दर्भमा क्रिकेट खेलाडी पारस खड्का, रोहित पौडेल, सन्दीप लामिछाने र फुलबलर सावित्रा भण्डारीको सफल ‘करिअर’ को आलोकमा विश्लेषण गर्दासमेत खेलकुद कसरी एक सफल व्यावसायिक साधन बन्न सक्छ भने अनुभूति गर्न सकिन्छ ।
आमजीवनको निधि
माथि वर्णित विभिन्न आधार कारणको रोहबाट खेलकुद कुनै पनि व्यक्तिको जीवनको अपरिहार्य आवश्यकता हो । यसबिना जीवन निरर्थक व अपूर्ण हुन सक्ने भन्न सकिन्छ । यद्यपि खेलकुदका नराम्रा पक्ष हुँदै नभएका होइनन् । कहिलेकाहीँ पर्याप्त सुरक्षा तथा पूर्वसावधानी नअपनाउँदा खेलकुदकै दौरान थुप्रै खतरा निम्तिन सक्छन् । त्यस्तै आजको व्यस्त जीवनमा व्यावसायिक जीवन र खेलकुदलाई समानान्तर लैजानु पनि समयको पाबन्दीका कारण उत्तिकै चुनौतीपूर्ण हुन सक्छ । संस्थागत तवरमा नेपाल जस्तो विकासशील राष्ट्रमा खेलकुदका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तथा संशाधनको अभाव हुनु, राज्यको खेलकुद प्रतियोगिताहरुमा न्यून लगानी हुनु तथा खेलकुद पक्षीय दृष्टिकोणको अभाव हुनु पनि खेलकुदको विकासका लागि अवरोध बन्न सक्छन् । तसर्थ खेलकुदसम्बद्ध संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थाका साथसाथै विश्वका खेलकुद जगत्का विशिष्ट उदाहरणलाई मार्गनिर्देशन बुझेर खेलकुदलाई आमजीवनको निधि बनाउन सम्बन्धित सबै सरोकारवालाको सकारात्मक तत्परता, लगाव, समर्पण र तदारुकता अत्यन्त आवश्यक देखिन्छ ।