अर्जुन काफ्ले
स्याङ्जा, फागुन २२ गते । चापाकोट नगरपालिका –२ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल डेढ वर्षदेखि बन्द अवस्थामा छ । २०६६ सालमा नागरिकको स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको अस्पताल बन्द अवस्थामा पुगेको हो ।
शेयर सदस्यबाट सञ्चालन गरिएको यो अस्पताल स्थानीयलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दैअएको थियो । यहाँ ६५० शेयर सदस्यले सात हजारका दरले रकम सङ्कलन गरेर पाँच रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरेर सुरु भएको थियो ।
सुरुवाती चरणमा २४ घन्टा सेवा दिँदैआएको अस्पतालले कोरोना समयमा राम्रो उपचार गरेको थियो । विभिन्न सहयोगी दाता, शेयर सदस्यबाट उठेको रकमको सदुुपयोग गर्दै १५ शय्याको अस्पतालले आकस्मिक तथा ओपिडी सेवा प्रदान गरेको थियो ।
अस्पताल प्रधावकारी बनाउन अस्पताललाई थप सेवा विस्तार गराउन सङ्घीय सरकारद्वारा नौ करोड ६८ लाखको लागतमा सुविधासम्पन्न भवन निर्माण गरिएको थियो ।
उपचारका लागि स्थानीय तथा पाल्पा, तनहुँका सेवाग्राही आउने गरेकोमा नियमित अस्पताल नचल्दा मर्कामा परेका छन् । गाउँकै अस्पताल बन्द हुँदा यहाँका सेवाग्राही उपचारका लागि पोखरा, बुटवल र काठमाडौँ पुग्नुपरेको छ ।
शेयर सदस्य र स्थानीय सरकाले स्थायी रुपमा अस्पताल चलाउन नसकेसँगै गण्डकी विश्वविद्यालयले सबै अधिकारसहित चलाउने तयारी भएको छ । विश्वविद्यालयले अस्पताल चलाउने भएपछि शेयर सदस्यले आफ्नो शेयर सहयोगमा परिणत गरेका छन् ।
यहाँका सबै जग्गाहरु तथा संरचना विश्वविद्यालयलाई हस्तान्तरण गर्नेगरी गत माघ २८ गते सम्झौता भएको वडा अध्यक्ष टीकाराम श्रेष्ठले बताउनुभयो ।