नवीनराज कुइँकेल
लमजुङ, फागुन २२ गते । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवा डाँडाको वडा कार्यालय भवन निर्माण गर्न स्थानीय एक दम्पतीले जग्गा दान गर्नुभएको छ ।
स्थानीय समाजसेवी बाबुलाल श्रेष्ठ र आसमाया श्रेष्ठ दम्पतीले सरकारी दररेटअनुसार करिब तीस लाख रुपियाँ पर्ने एक रोपनी एघार आना जग्गा वडा कार्यालय भवन बनाउन दान दिनुभएको हो । सो ठाउँको जग्गा हाल प्रतिरोपनी १८ लाख रुपियाँ सरकारी दररेट रहेको छ ।
श्रेष्ठ दम्पतीले परेवा डाँडाको देउराली भन्ने स्थानको जग्गा किनेर वडालाई दान गर्नुभएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जग्गादाता श्रेष्ठ दम्पती वडाध्यक्ष नवीनकुमार श्रेष्ठको बुवा आमा हुनुहुन्छ ।
वडा कार्यालय भवन निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले तीस लाख र सुन्दरबजार नगरपालिकाले तीस लाख रुपियाँ बजेट विनियोजन गरेका छन् । “प्रदेश र पालिकाबाट बजेट पाए पनि जग्गा नहुँदा भवन निर्माण गर्न समस्या भएको थियो”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “जग्गा दान पायौँ अब भवन निर्माण सुरु गछौं ।”
वडा कार्यालय बनाउन पैसा आए पनि जग्गा नपाएर समस्या भएपछि आफैँले खरिद गरेर वडालाई दान दिएको बाबुलाल श्रेष्ठले बताउनुभयो । “बजेट आयो, जग्गा भएन भनेर छटपटिएको पाएँ”, बाबुलालले भन्नुभयो, “जनताको सेवा लिने थलो बनाउने हो, सबैलाई सहज होस् भनेर जग्गा दान दियौँ ।”
श्रेष्ठ दम्पतीले वडा कार्यालयको नाममा जग्गा धनिपूर्जा नामसारी गरेर वडाध्यक्षलाई हस्तान्तरण गर्नुभएको छ । आफ्नै जग्गा नहुँदा हाल वडा कार्यालय स्थानीय गुठियार जग्गामा बस्दै आएको छ ।