स्वरूपा गुरागाईं
कक्षाः ८, सिद्धार्थ मावि
हेटौँडा–२, मकवानपुर
बाबाआमाले भन्ने गर्नुहुन्छ– प्रकृति खुला किताब हो, हामीले पाठ्यपुस्तकमा जे जे पढेका छौँ, त्यसको प्रयोग प्रकृतिमा देख्न सकिन्छ । उहाँहरूको भनाइको प्रत्यक्ष अनुभूति बिदाको समयमा विभिन्न स्थानमा घुम्न जाँदा हुने गरेको छ ।
विद्यालयको लामो बिदामा बाबाआमासँग कहीँ न कतै घुम्न जाने गरेका छौँ । अघिल्लो वर्षको पर्व बिदामा हामी इलामको चिया बगान, धरानको क्लक टावर, बुढासुब्बा आदि स्थान घुमेका थियौँ । यस वर्षको चाडमा हामी नवलपरासीको मौलाकाली मन्दिर घुम्न गयौँ ।
गएको कात्तिक १० गते बाबाआमाले यात्राको योजना बनाउनुभयो । मौलाकाली मन्दिर जाने योजना बन्यो । मेरो सात वर्षको भाइ र म धेरै उत्साहित भयौँ । हामीले यसअघि मौलाकाली मन्दिरको नाम नै सुनेका थिएनौँ । गुगलको सहयोगबाट मन्दिरका बारेमा जानकारी हासिल गर्न सफल भएँ ।
केबुलकार चढ्न पाइन्छ भन्ने थाहा पाएपछि हामी दिदीभाइको मन लोभिएको थियो । बाबाआमाको भने मौलाकालीको यात्रा दोस्रो पटकको थियो । बिहान ७ बजे हेटौँडाबाट बस चढ्यौँ । यात्रा सुरू भयो । हेटौँडादेखि नारायणगढको दुरी ७६ किलोमिटर छ ।
हामीलाई बसको यात्रा पनि निकै रमाइलो लाग्छ । झ्यालबाट सररर आउने हावा, पुलुक्क पुलक्क देखिने बस्ती र साना बजार, खोला, वारपार हुने गाडी हेर्न बडो मजा लाग्छ तर हामी झ्यालबाट कहिल्यै टाउको बाहिर निकालेर यी दृश्य अवलोकन गर्दैनौ । दुई घण्टापछि नारायणगढ बजार पुग्यौँ । नारायणघढ बजारबाट पश्चिम डाँडामा मौलाकाली मन्दिर देखाउँदै आमाले भन्नुभयो, “उ त्यही हो हामी जाने ।”
अटोरिक्सावाला आएर हामीलाई “मन्दिर जाने हो ?” भनेर सोध्न थाले । त्यहाँबाट करिब पाँच किलोमिटर यात्रा अटोरिक्सामा बसेर तय गर्यौँ र केबुलकार स्टेसनमा पुग्यौँ । त्यहाँबाट मन्दिर भएको स्थानसम्म पैदल वा अटोरिक्साबाट जान सकिने विकल्प पनि छ । बाबाआमाले केबुलकारको टिकट लिनुभयो । केबुलकार सञ्चालनमा आएपछि त्यस ठाउँमा चहलपहल बढेको बाबाआमा भन्दै हुनुहुन्थ्यो । पहिले हिँडेरै पुग्नुपर्ने ठाउँमा केबुलकारले भक्तजनलाई निकै सुविधा भएको रहेछ । केबुलकारबाट उक्लिन सहज हुने भएरै भक्तजनको सङ्ख्या बढेको हुनु पर्छ ।
यहाँ केबुलकारका १४ वटा डब्बा सञ्चालनमा रहेको कुरा बाबा र त्यहाँका कर्मचारीबिच भएको कुराकानी सुनेर थाहा पाएँ । तीमध्ये दुई वटामा मालसामान बोक्न प्रयोग हुँदोरहेछ । केबुलकारको एउटा डब्बामा आठ जना यात्रु अटाउने क्षमता रहेछ । केबुलकारले डेढ किलोमिटरको दुरी करिब पाँच मिनेटमा पार गर्दो रहेछ ।
केबुलकारबाट झरेपछि मन्दिर परिसर नपुगुन्जेल पूजा सामग्री र खाजाका पसल रहेछन् । हामी भोकाएका भए पनि पहिले मन्दिरतर्फ नै उकालो लाग्यौँ ।
माथिको स्टेसनमा झरेपछि पनि १० मिनेट सिँढी चढेर मन्दिर पुग्नुपर्ने रहेछ । यस बिचमा मैले बाबामामुसँग ऐतिहासिक कुरा सोधेँ । मन्दिर ४५० वर्ष पहिला सेन राज्यका पालामा निर्माण भएको रहेछ । डाँडाको टुप्पामा एउटा सानो मन्दिर रहेको कहिलेकाहीँ स्थानीय आदिवासीले पूजाअर्चना गर्ने गरेका रहेछन् । १६ औँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा पर्वतको नाम मौलापहाड राखिएको किंवदन्ती रहेछ ।
सेन राज्यको पतनसँगै यो मन्दिर ओझेलमा परेको र सेनवंशी राज्यकालपछि शक्ति स्वरूपा मौलाकालिका भगवतीमा बोटे, दराई, चेपाङ, मगर, कुमाल, गुरुङ जस्ता आदिवासीले पालैपालो गरेर पूजापाठ गर्ने गरेको, त्यहाँ धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिलापत्थर रहेकामा आज पनि भक्तजनले तिनको पूजा गर्ने गरेको बाबाले बताउनुभयो ।
विसं १९९० सम्म त्यहाँ ठुलो सालको रुख थियो रे । बाबाका अनुसार २०५३ सालमा प्यागोडा शैलीमा ठुलो मन्दिर निर्माण भएको रहेछ । मौलाकालिकालाई शक्ति स्वरूपाका रूपमा पुज्ने गरिन्छ । प्राकृतिक सौन्दर्यले भरिएको मौलाकाली मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आकर्षणको केन्द्र बनेको छ ।
सिँढी चढेर हामी मन्दिर परिसर पुग्यौँ । पूजाआजा र भजनकीर्तन सुन्दै आनन्द लियौँ । समुद्र सतहदेखि ५६१ मिटर उचाइमा वनले ढाकिएको डाँडामा मौलाकालिका मन्दिर अवस्थित छ । मन्दिर परिसरबाट भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाको सीमा भएर बगेको नारायणी नदी, नवलपरासी, चितवन, तनहुँ, गोर्खाका अग्ला डाँडा, भन्ज्याङ, हिमशृङ्खला अवलोकन गर्न सकिने रहेछ । नेपालको उत्कृष्ट धार्मिक तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका जङ्गल सबै नै प्रस्ट देखिने रहेछ । पूजाआजा सकेर हामी केही बेर त्यहाँ रमायौँ । तस्बिर खिच्यौँ ।
हामीले घरबाटै स्वस्थकर खाजा बनाएर लगेका थियौँ । बिहानीको पहिलो प्रहरमा आमाले ती खाजा तयार पार्नु भएको थियो । जाँदा बाटोमा फलफूल थपेका थियौँ । पसलमा पानी किन्यौ । वनको एक छेउमा वनभोज खाने जस्तै संरचना बनाइएको रहेछ, हामीले त्यहीँ बसेर खाजा खायौँ । हामीसँगै अर्को समूह पनि थियो । उहाँहरूले घरैबाट पुलाउ, तरकारी बनाएर लैजानुभएको रहेछ । उहाँहरूले पनि हाम्रैनजिक बसेर खानुभयो । आमाबाबाले स्कुले जीवनमा यसै गरी वनमा अमलाको फेदमा पकाएर पिकनिक खानु हुन्थ्यो रे । त्यो स्मरण सुन्दा रमाइलो लाग्यो ।
बाबाआमाले नारायणगढमा केही साथीसँग भेटघाट गर्नुपर्ने बताउनुभयो । सोही अनुसार हामी त्यहाँबाट नारायणगढका लागि प्रस्थान गर्यौँ । बाबाआमाका अनुसार हिँडेर मन्दिर जानका लागि एक हजार ८८२ खुड्किला पार गर्नु पर्छ रे । हिँडेर जाँदा अझै धेरै रमाइलो हुने आमाले बताउनुभयो । हामी साना भएकाले उहाँहरूले हिँड्ने इच्छा नदेखाउनुभएको हो रे ।
केबुलकारबाट झरिसकेपछि अटोरिक्सा चढेर नारायणगढ लायन्सचोक गयौँ । बाबाआमाका साथीहरूलाई भेटघाट गरी बसपार्क पुग्यौँ । हेटौँडाको बस चढेर घर फक्र्यौं । अर्काे पटक कुनै ठाउँको यस्तै रमाइलो यात्रा गरिएछ भने त्यहाँका बारेमा पनि म लेख्ने नै छु साथीहरू ।