टीकाथली (ललितपुर), फागुन २२ गते । टीकाथलीमा भएको भूमिगत ग्यास विस्फोटको घटनापछि कथम्कदाचित् भूकम्प गएको अवस्थामा ग्यास फेरि विस्फोट हुने हो कि भन्ने त्रास स्थानीयवासीमा देखिएको छ तर त्यसरी डराउनु नपर्ने विज्ञहरूले बताउनुभएको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका–५, टीकाथलीस्थित गोदावरी खोला किनारमा पानीका लागि बोरिङ गर्ने क्रममा मङ्गलबार पानीसँगै ग्यास निस्केपछि आगोको ज्वाला बलेको थियो । खानेपानी प्रयोजनका लागि खनेको बोरिङको पाइपबाट बाहिर निस्केको ग्यासमा एक्कासि आगोको ज्वाला दन्किन थालेपछि नियन्त्रण गर्न स्थानीय र सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।
बिहान ८ बजेबाट निस्कन सुरु भएको आगो तीन घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । बुधबार १२ बजेसम्म ग्यास निस्किरहेको अवस्था थियो । ग्यास निस्केको ठाउँमा कोही व्यक्ति वा जीवजन्तु नपुगोस् भन्ने उद्देश्यले त्यस ठाउँलाई तारजालीले घेरिएको छ ।
स्थानीयवासी तथा झोर्ले लाफा कृषि फार्मका सञ्चालक हितकुमार मगरले ग्यास निस्केर आगो लागेदेखि नै आफूहरू त्रसित भएको बताउनुभयो । हिजोआज भूकम्पका झट्का गइरहेको अवस्थामा जमिन चर्किएर ग्यास नै बाहिर निस्कने हो कि भन्ने डर उहाँमा छ । त्यसै गरी ग्यास निस्केपछि यो ठाउँको जग्गाजमिनको पनि भाउ घट्ने, अन्य ठाउँका मानिस यहाँ बस्न आउन नचाहने, यहाँ बसोबास गरेका मानिस पनि अन्य ठाउँमा बसाइँ सराइ हुने हो कि भन्ने उहाँको चिन्ता छ ।
खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता मोनिका झाले टीकाथलीमा मिथेन ग्यास निस्केको बताउँदै भन्नुभयो, “अलिकति खन्दैमा यो ग्यास निस्किँदैन । प्रायः डिप बोरिङ गर्ने बेला वा दुई सय मिटरभन्दा बढी गहिरो खन्दा यो ग्यास निस्कने गर्छ । त्यसैले डिप बोरिङ गर्दा सचेत हुनु पर्छ । घरको जग खन्दा, ट्युबवेल खन्दा, सानोतिनो खाल्डो खन्दा डराउनु पर्दैन ।”
कुनै गन्ध नहुनु यस ग्यासको ठुलो समस्या रहेको बताउँदै उहाँले काठमाडौँको जमिनमुनि ग्यास छ भन्ने कुरा सम्झेर मात्र उपत्यकाभित्र ‘ड्रिलिङ’ गर्नुपर्ने स्पष्ट पार्नुभयो । ग्यास निस्कन सुरु भएपछि नरोकिएसम्म त्यहाँ कुनै पनि काम गर्न हुँदैन । ग्यास निस्केको थाहा पाएको अवस्थामा त्यसको छेउछाउमा आगो बाल्नुभएन । प्रज्वलनशील वस्तु राख्न नहुने प्रवक्ता झाको भनाइ छ ।
उहाँका अनुसार कम गहिरो ‘ड्रिलिङ’ गरेको अवस्थामा यो ग्यास निस्किँदैन । यो ग्यास निस्किन सुरु भएपछि एक/दुई घण्टादेखि तीन दिनसम्म आएको अवस्था छ । जमिनमुनि ग्यासको भण्डारणको अनुपातमा कम वा धेरै समयसम्म बाहिर निस्कने हो ।
एलपी ग्यासमा गन्ध हुन्छ, यसलाई साना साना सिलिन्डरमा भर्न मिल्छ तर मिथेन ग्यासलाई सिलिन्डरमा भर्न मिल्दैन । यसलाई ठुलो ठुलो बुलेटमा भरेर पाइपमार्फत वितरण गर्न सकिन्छ । एकै ठाउँमा ग्यास बुलेटमा भण्डारण गरेर सिलिन्डरमार्फत होटल, अस्पताललगायत ठाउँमा एकीकृत रूपमा यो ग्यास वितरण गर्न सकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “टीकाथलीमा निस्केको ग्यास कुनै नयाँ कुरो होइन । खानी तथा भूगर्भ विभागले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा काठमाडौँ उपत्यकाको जमिनमुनि रहेको प्राकृतिक ग्यास अन्वेषणका लागि सन् १९७८ मा ‘काठमाडौँ ग्यास प्रोजेक्ट’ स्थापना गरी पहिलो पटक अध्ययन अनुसन्धानको सुरुवात गरेको थियो ।
त्यसै गरी संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा आर्थिक वर्ष २०३७/३८ देखि आर्थिक वर्ष २०७१/७२ सम्म काठमाडौँको विभिन्न १४ ठाउँमा ‘ग्यास बेल ड्रिल’ गरी अध्ययन अनुसन्धान गरेको थियो । सो क्रममा २६ वर्ग किलोमिटर क्षेत्रफलमा तीन सय मिलियन क्युबिक मिटर ग्यास पत्ता लागेको थियो । त्रिपुरेश्वर, टेकु, कालीमाटी, भृकुटीमण्डप, शङ्खमूल, कोटेश्वर, जडीबुटी, टीकाथली, बालकुमारी र इमाडोल गरी १४ स्थानमा ड्रिल गरी अध्ययन गरिएको थियो ।
त्यसपछि सन् १९८३ मा तीन ठाउँको ग्यास जम्मा गरेर पाँच सय क्वुबिक मिटर ग्यास ग्यासबुलेटमा भण्डारण गरिएको थियो । त्यो ग्यास टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताललगायत सरकारी निकायमा वितरणसमेत गरिएको थियो । भण्डारण गरिएको ग्यास बुलेट अझै टेकुस्थित पचलीमा छ । त्यसपछि यससम्बन्धी कुनै अध्ययन अनुसन्धान हुन सकेको छैन । सन् १९९० पछि यो योजना सरकारको नीति तथा कार्यक्रम र बजेटमा पर्न छोड्यो । अगाडि बढ्न सकेन ।