• २१ फागुन २०८१, बुधबार

भन्सार बन्द हुँदा पर्यटन प्रभावित

blog

वसन्त पराजुली 

नारायणगढ, फागुन २१ गते । पर्सा जिल्लाको ठोरीमा रहेको छोटी भन्सार कार्यालय बन्द हुँदा ठोरी र चितवनको माडी घुम्न आउने भारतीय पर्यटकमा प्रत्यक्ष प्रभाव परेको छ । 

निकुञ्ज र जङ्गल सफारी गर्न आउने भारतीय पर्यटकका लागि ठोरीको छोटी भन्सार सहज मार्ग थियो तर गत पुस १७ गतेदेखि भन्सारको सेवा बन्द भएपछि अहिले यो बाटो भएर नेपाल भित्रिने भारतीय पर्यटक उतै रोकिन बाध्य भएका छन् । 

ठोरी जङ्गल रिसोर्टका सञ्चालक सुदीप पाठक भन्सार सेवा बन्द भएपछि भारतीय पर्यटक आउनै छाडेको जानकारी दिनुभयो । “छोटी भन्सार भए पनि त्यतैबाट सवारीसाधनको अनुमति लिन पाइन्थ्यो । ती पर्यटक ठोरी हुँदै माडीसम्म पुगेर तीन/चार दिनसम्म बस्थे,” उहाँले भन्नुभयो, “भन्सारको सेवा बन्द भएसँगै भारतीय गाडी आउन नपाउँदा यहाँका व्यवसायीमा प्रत्यक्ष असर परेको छ ।” पाठकका अनुसार सन् २०२४ मा यो भन्सार भएर एक हजार दुई सय भारतीय गाडी नेपाल भित्रिएका थिए । परिवारसहित नेपाल घुम्न आउने पर्यटक एउटा गाडीमा पाँच जना मात्रै आए पनि छ हजार पर्यटक ठोरी र माडी घुम्न आएको उहाँको दाबी छ । भारतीय पर्यटकले औसत २४ हजार रुपियाँ प्रतिव्यक्ति खर्च गर्ने गरेको पाइएको छ । यसरी भारतीय पर्यटकबाट ठोरी र माडीमा मात्रै एक वर्षमा झन्डै १४ करोड ५० लाख रुपियाँ भित्रिएको छ । 

सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन भारतीय पर्यटक भित्र्याउन यो भन्सार खोलिएको थियो । एक वर्षअघि कार्यालय स्थापना गरेर खोलिएको भन्सार एकाएक बन्द भएपछि यसको प्रत्यक्ष असर पर्यटन व्यवसायमा परेको हो । भन्सार खुलेकै कारण ठोरी र माडीमा करोडौँ लगानी गरेर खोलिएका तीन वटा ठुला होटेल पनि अहिले समस्यामा छन् । 

माडीमा घरबास स्थापनाका लागि अभियान थाल्नु भएका समाजसेवी श्रीप्रसाद दवाडी भन्सार सञ्चालनमा आउँदा माडीका होटेल र घरबास भरिभराउ भएको तर पर्यटक आउन छाडेपछि चिन्तित हुनुभएको छ । उहाँले भन्नुभयो “यहाँका होटेल र घरबास सञ्चालका लागि पनि भन्सारमा पैठारी अनुमति खुला हुनु पर्छ ।”  

“ठोरी भन्सार बन्द भएपछि यहाँ आउने पर्यटक वीरगन्जबाट वा सुनौलीबाट नेपाल भित्रिने हुन् । ती माडी आउने सम्भावना निकै कम हुन्छ,” उहाँले भन्नुभयो । चितवनबाट सबैभन्दा नजिक ठोरी नाका हो । पहिले ठोरीमा चितवन आसपास र गण्डकी प्रदेशका पहाडी भूभागका बासिन्दा नुनतेल लिनसमेत जान्थे । यही बाटो भएरै गण्डकी प्रदेशका जिल्लामा समेत भारतबाट नुन लाने गरिएको थियो । ठोरीमा विसं २०२५ सालअघिसम्म भन्सार कार्यालय सञ्चालनमा थियो तर पछिल्ला वर्षमा यो क्रम टुटेको थियो ।  अहिले त्यो पुनः टुटेकोमा स्थानीय चिन्तित छन् । समाजसेवी दवाडी अस्थायी पैठारी अनुमति पाएर ठोरीबाट छिरेका पर्यटक भरतपुरदेखि सौराहासम्म आइपुगेको बताउनुहुन्छ । यो भन्सारलाई चीनको केरुङ नाकासँग जोड्ने छोटो सडक मार्गसँग जोडेर हेरिने भएकाले पनि यसको महत्व अझै बढी थियो । 

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल अघिल्लो वर्ष खुला गरिएको छोटी भन्सार अहिले बन्द हुनु दुःखको कुरा भएको बताउनुहुन्छ । “अघिल्लो वर्षको सरकार परिवर्तन भयो, अर्थमन्त्री परिवर्तन भए, अनि भन्सार पनि रोकियो यो गलत भयो,” उहाँले भन्नुभयो ।

भन्सार कार्यालय वीरगन्जका प्रमुख दीपक लामिछानेले छोटी भन्सारमा निकै कम मात्रै सवारीसाधनले अनुमति लिने हुँदा हटाएको बताउनुभयो । “दिनमा तीन/चार वटा गाडीलाई मात्रै पास दिएर कर्मचारीलाई काम दिन सकिने अवस्था एकातिर थिएन भने अर्कातर्फ भन्सार विभागले एक वर्षलाई मात्रै सो सेवाको अनुमति दिएको थियो । त्यो सन् २०२४ डिसेम्बरमै सकिएकाले अङ्ग्रेजी क्यालेन्डरको नयाँ वर्ष लागेसँगै कार्यालय बन्द भएको हो,” उहाँले भन्नुभयो ।