गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र विकासका लागि सरकारले अध्यादेश ल्याएकाले त्यसलाई पास गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
नेपाल दूर सञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । देशको हितमा अध्यादेश आएकाले त्यसलाई सबैले सहयोग गर्नुपर्ने उहाँको आग्रह छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नैपर्छ, सरकारले त्यो काम गरिरहेको छ । सरकारलाई सरोकारवाला सबैले सहयोग गर्नुपर्छ ।” संस्थानमा राजनीतिकरण व्याप्त रहेकाले संस्थानले प्रगति गर्न नसकिरहेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “अति राजनीतिकरणका कारण सबैतिर द्वन्द्व र अराजकता छ । त्यसले आन्तरिक लोकतन्त्रलाई समेत समस्या पारिरहेको छ ।”
मुलुकबाट राजतन्त्र र समान्तवाद अन्त्य भए पनि संरचना, ऐन नियम सबै पुरानै भएकाले त्यसको छायाँ अहिलेसम्म कायमै रहेको उहाँले बताउनुभयो । नयाँ ऐन र विनियमावली बनाएर संस्थानलाई सबल बनाउनुपर्छ उहाँले भन्नुभयो । इमानपूर्वक सबैले काम गरे देश बनाउन कठिन नरहेको उहाँको भनाइ छ ।
सबै क्षेत्रमा अहिले धेरै राजनीतिकरणले गाँजेकाले विकृतिहरु निम्तिरहेको भन्दै मन्त्री गुरुङले भन्नुभयो, “आफूले सम्हालेको जिम्मेवारीलाई इमान्दारितापूर्वक पालना गरे मात्र समस्या समाधान हुन्छ । पदको दुरुपयोग गर्ने काम कसैले गर्नुहुँदैन ।”
नेपाल दूर सञ्चार प्राधिकरणलाई राम्रो बनाउन पदाधिकारी तथा कर्मचारीले प्रयत्न राम्रो गरिरहेको भए पनि अझै पर्याप्त नभएको उहाँले सुझाव दिनुभयो । प्राधिकरणलाई अझ सबल र प्रतिस्पर्धी बनाउनेगरी काम गर्न उहाँले पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।
संस्थानमा विनियमावलीको राज चलिरहेको भन्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “ऐन अनुसार विनियमावली बन्नुपर्छ । ज्यानले पुच्छर हल्लाउने होकि पुच्छरले ज्यान हल्लाउने हो ? ज्यानले पुच्छर हल्लाउने हो नि ?” कानुनसँग बाझेर विनियमावली बनाउने छुट नरहेको उहाँले बताउनुभयो । ऐन प्रक्रियाअनुसार काम गर्न उहाँले आफू मातहतका निकायका पदाधिकारीलाई आग्रह गर्नुभयो ।
असल शासनका लागि असल जनशक्ति अनिवार्य रहेको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “असल शासनका लागि असल मन्त्री, असल पदाधिकारी, असल कर्मचारी, असल र इमान्दार जनशक्तिको खाँचो पर्छ ।” निलअर्मस्ट्रङले चन्द्रमामा पाइला राखेपछि सानो प्रयास भनेको स्मरण गर्नुहुँदै मन्त्री गुरुङले अहिले चन्द्रमामा मानववस्ती बसाउने प्रयास जारी छ, निलअर्मस्ट्रङले त्यो प्रयास नगरेको भए सम्भव थियो ? उहाँले जिज्ञासा गर्नुभयो ।
अनावश्यक विदेश भ्रमण रोक्न आवश्यक रहेको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले विदेश जाने लर्कोले मुलुकलाई उपलब्धि केही नहुने बताउनुभयो । अनावश्यक खर्चभारले देशको अर्थतन्त्र थला पर्ने भन्दै उहाँले अनावश्यक विदेश भ्रमणमा नलाग्न उहाँले मातहतका निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो ।