• २० फागुन २०८१, मङ्गलबार

कवाडी सलीसल्ला सिमकोट सडकमा अस्थायी रुट परमिटका लागि सिफारिस

blog

खार्पुनाथ गाउँपालिका– १ को बोक्चे गौडामा सडकको लम्बाइ नाप्दै अनुमगन टोलीका सदस्यहरू । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन २० गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने कवाडी सलीसल्ला हुँदै सिमकोटसम्मको सडकको अस्थायी रुट परमिटका लागि सिफारिस गरिएको छ । सो सडक खण्डमा अस्थायी रुट परमिटको अनुमति लिनका लागि प्राविधिक सहितको टोलीले पाँच दिन लगाएर अनुगमन गरेपछि उक्त सिफारिस गरिएको हो ।

कानुन विपरित सो खण्डको ५१ किलो मिटर सडकमा हालसम्म अस्थायी रुट परमिट बिनै यातायतका साधनहरू सञ्चालन हुँदै आएकोमा त्यसलाई वैधानिक किसिमले यातायातका साधन सञ्चालन गर्नका लागि जिल्लाबाट खटिएको टोलीले अनुगमन गर्ने कार्य गरेर अस्थायी रुट परमिटका लागि सिफारिस गरेको समितिका संयोजक हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । 

समितिले अस्थाइ रुट परमिका लागि उक्त खण्डको सडक उपयुक्त भएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको हो ।

गत माघ २६ गते गोरखापत्र दैनिकमा अनुमति बिनै यातायातका साधन सञ्चालन भन्ने समाचार प्रकाशित भएको थियो । अनुमति बिनाको सडकमा यातायातका साधन दुर्घटना भए भोली बिमा लगायतका धेरै समस्या आउने भएको कारण हाललाई अस्थायी रुट परमिट लिनु आवश्यक रहेको उहाँले बताउनुभयो । 

सडकको अवस्थाको अनुगमन गरेर अस्थायी रुट परमिट दिने काम यातायात कार्यालय सुर्खेतको भए पनि त्यहाँबाट जनशक्ति अभाव देखिउँदै जिल्लाले नै अनुगमन गरेर प्रतिवेदन पठाउन आग्रह गरेपछि आयोजनाका योजना प्रमुख नेपालीको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन टोली गठन गरिएको थियो । 

समितिका ट्राफिक, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवसायी र पत्रकार महासङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सडकको अनुगमनको जिम्मा पाएपछि टोली स्थलगत रूपमा सलीसल्ला पुगेर सडक सञ्चालनको अवस्थाका बारेमा अगुगमन गर्ने कार्य समेत गरेको थियो । 

अनुगमन समितिका संयोजक नेपालीले सडकको अवस्था सबै बुझेको र सो कुरा सवै प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । उहाँले अनुगमन टोलीको प्रतिवेदनमा सडकको यथार्थ अवस्था चित्रण गरेर यातायातका साधनहरू सञ्चालनका लागि अस्थायी रुट परमिट दिनका लागि सिफारिस गर्ने कार्य बताउनुभयो । 

सो खण्डमा हालसम्म अस्थायी रुट परमिट नलिई कुनै साना ठुला यातायातका साधनहरू सञ्चालन हुँदै आएका छन् । समितिले आफ्नो प्रतिवेदनमा थाहा, दुल्लीकुना, बोक्चेगौंडा, भीगौंडा र याङ्गचु भीरमा कडा चट्टान रहेकोमा कच्ची सडक निर्माण भएको व्यहोरा समेटेको छ । 

सर्केगाडस्थित गोठी खोला, ठेली खोला, ग्युसी खोला, चिसामुल, याङ्गचु खोला र स्याम्ने खोलामा पुल तथा कल्भर्टको आवश्यकता रहेको कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । कर्णाली काेरिडोरको हुम्ला खण्डको कवाडीदेखि सिमकोटसम्म ९० किलो किलोमिटर रहेको छ । समितिको स्थलगत प्रतिवेदन प्राप्त भएको र अब यातायात कार्यालय सुर्खेतलाई पठाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।