• २० फागुन २०८१, मङ्गलबार

निस्दी खोलामा मोटरेबल पुल शिलान्यास

blog

निस्दी खोलाको पुलको शिलान्यास गरिँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), फागुन १९ गते । पाल्पाको निस्दी गाउँपालिका–५, स्थित निस्दी खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने मोटरेवल पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सोमबार शिलान्यास गर्नुभएको हो । 

पुलको शिलान्यास गर्नुहुँदै मन्त्री ढकालले केही राजनीतिक दलको कारण मुलुक अस्थिरतातर्फ ढकेलिएको सन्दर्भमा मुलुकलाई उन्नतिको बाटोमा लैजान कांग्रेस र एमालेले सहकार्य गर्दै अघि बढेको बताउनुभयो । 

कांग्रेस र एमालेले अन्य सबै शक्तिलाई मिलाएर जान सके मात्र देश समृद्धिको बाटोमा जाने बताउनुभयो । देशमा केही हुँदै भन्ने भास्य सृजना भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले सम्भावनालाई खोज्ने र युवालाई यही केही गर्न सकिन्छ भन्ने वातावरण निर्माणका लागि लाग्न अनुरोध गर्नुभयो । 

स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र यातायातको पहुँचलाई सहज बनाउन पुल निर्माणले महत्त्वपूर्ण भुमिका खेल्ने बताउँदै समयमा पुल सम्पन्न गर्नका लागि मन्त्रालयले रकमको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिनिधी सभा सदस्य नारायणप्रसाद आचार्यले निस्दी गाउँपालिकामा पछिल्लो समय सङ्घ र प्रदेश सरकार मार्फत रणनैतिक सडक पूर्वाधार निर्माणका कार्य अघि बढेको बताउनुभयो । अम्रिसो खेती, पशुपालन, अदुवा, गेडागुडी उत्पादन मार्फत स्थानीय आत्मनिर्भरता तर्फ अघि बढन सफल भएको उहाँको भनाइ थियो । 

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पूर्वाधार निर्माण, पर्यटन एवं कृषिको उत्थानसँगै सामाजिक विकासलाई पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । जिल्लाको विकासका लागि जनप्रतिनिधिहरू सहकार्य गर्दै अघि बढेको बताउनुभयो । मन्त्री सारुले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले अधिकांश गाउँ तथा टोल सडक सञ्जालसँग जोडिएको बताउँदै अब स्तरोन्नतिको खाँचो रहेको बताउनुभयो। निस्दीको स्थानीय उत्पादन बजारीकरणमा सडक पूर्वाधार निर्माणले टेवा दिएको बताउनुभयो । 

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पुल निर्माणले स्थानीयको जीवनयापनमा महत्त्वपूर्ण टेवा दिने बताउनुभयो । निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले पालिकाका पुल निर्माण समय मै सम्पन्न गर्नका लागि आवश्यक साथ र सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले आरसिसि, टि–गर्डर मोटरेवल पुल ओंपन फाउन्डेसन मोडलमा निर्माण हुने जानकारी दिनुभयो । दुई स्पान सहितको पुलको लम्बाई ५३ मिटर र चौडाई १० मिटर रहेको छ । निर्माण व्यावसायी खिमबहादुर केसी पुरुषोत्तमले पुल निर्माण कार्य समय मै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

निस्दी खोला पुल निर्माणका लागि सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सात करोड १० लाख १९ हजार ६३३ रुपियाँ ६ पैसा लागत अनुमान सहित ठेक्का आह्वान गरेको थियो । शुभलक्ष्मी–शुक्र कमली–हेभन जेभि कञ्चनपुरले भ्याटसहित पाँच करोड ९८ लाख ६३ हजार ९३३ रुपियाँ २४ पैसा लागतमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी गत कार्तिक ४ मा  ठेक्का सम्झौता गरेको हो । 

यस्तै लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत पूर्वखोला गाउँपालिका वडा नं. २ को रकम खोला र वडा नं. ४ को सिमल्दी खोला पनि आइतबार दुई वटा पुल शिलान्यास भएको छ ।