सुजल श्रेष्ठ
प्युठान, फागुन १९ गते। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले राष्ट्रिय सम्पत्तिको रूपमा रहेको कुसुण्डा जातिको भाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
कुसुण्डा भाषासम्बन्धि राष्ट्रियस्तरको १५ दिने आधारभूत तालिमको सोमबार प्यूठानमा उद्घाटन गर्दै सांसद थापाले लोपोन्मुख समुदायको भाषा संस्कृति संरक्षणसँगै एकीकृत बस्ती विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
एकीकृत बस्तीले भाषा, संस्कृति संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ थियो। भाषा, संस्कृति पहिचान लोप हुन लागेकोले भाषालाई जीवित राख्नुपर्छ भन्ने मान्यताका साथ तालिम आयोजना गरिएको सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माले बताउनुभयो ।
भाषा, संस्कृति अधिकारसम्बन्धि एकल अधिकार संविधानले गाउँपालिकालाई दिएकोले सो सम्बन्धि ऐन बनाएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकामा ६ घर परिवार रहेका छ्न् । जिल्लाका सरुमारानीसहित ऐरावाती –६, स्वर्गद्वारी –२ मा गरी ५१ जना कुसुन्डा जातिको बसोवास रहेको छ। ७ जिल्लामा रहेका कुसुण्डा समुदायमध्ये तालिममा ६ जिल्लाको प्रतिनिधित्व रहेको छ ।
प्यूठानसहित सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलवस्तु, तनहुँ र गोर्खामा कुसुन्डा जातिको बसोवास रहेको नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले बताउनुभयो । २०७८ को जनगणनाअनुसार कुसुण्डाको २७३ जनसङ्ख्या रहेको छ ।