• ८ वैशाख २०८२, सोमबार

पालुङटार-जौबारी-बारपाक सडक स्तरोन्नति

blog

गुणबहादुर रोका

सुलीकोट, फागुन १९ गते । गोरखाको पालुङटार नगरपालिकादेखि हर्मी-छोप्राक-गाँखु-श्रीनाथकोट-जौबारी-मुच्चोक-सिम्जुङ घ्याचचोक हुदै बारपाक पुग्ने सडक खण्ड स्तरोन्नति भएको छ । पालुङटार नगरपालिका-२ बाट सिरानचोक गाउँपालिका-३ नबलपुर सम्म बैकल्पिक सहायक राजमार्ग सडक खण्ड स्तरोन्नति भएको हो ।  

सडक स्तरोन्नति भएसँगै वर्षातका समयमा हिलाम्मे सडक र भौगोलक अवस्थाका कारण धुलाम्मै सडक भएर यात्रा गर्नु पर्ने अबस्था अन्त्य भएको गोरखा सडक योजनाका ईन्जिनियर आशिष रिजालले जानकारी दिनुभयो ।  

गोरखाको धेरै पालिका जोड्ने महत्वपुर्ण राजमार्गको रुपमा हेरिएको वैकल्पिक राजमार्गमा ग्याबिन, रिटनिङ, स्टक्चर, टेबा, पर्खाल, नाली र ग्राबेलको काम सम्पन्न गरी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिले तिब्रता पाएसँगै सडक बाटो भएर यात्रा गर्ने विशेषगरी लम्जुङ, तनुहँबाट आउने नागरिकलाई पालुङटार नगरपालिका हुँदै सिरानचोक, अजिरकोट र पर्यटकिय स्थल बारपाक पुग्न निकै सहज हुने पालुङटार नगरपालिका-२ का युवा रबिन गैंहैले बताउनुभयो । 

सडक स्तरोन्नकिा लागि चालु आर्थिक वर्षको संघिय बजेटबाट संघिय सरकारले २ करोड ८८ लाख रुपियाँ बराबरको बजेट गोरखा सडक योजना कार्यालय गोरखाले ठेक्का  मार्फत झण्डै २ किलोमिटर सडक स्तरोन्नति हुने भएको हो । 

सडक फराकिलो साथै घुम्ती र मोडमा आरसिसि ढलान नाली र ग्याबीन जाली निर्माण गरेर सडक स्तरोन्नति गरिएको सडक योजना कार्यालय गोरखाका ईन्जिनियर रिजालले बताउनु भयो । सडक स्तरोन्नति भएपछि जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता अन्त्य हुने भएको छ । 

साँघुरो र त्यहि माथि घुम्ति मोड भएकाले हिउँदमा पनि यात्रा गर्न असहज भएको थियो, बर्खामा त झन् सवारीसाधन हिलम्मै भएर फस्ने समस्या थियो, “अबदेखि हिउँद र बर्खामा छोटो बाटो भएर सहज तबरबाट बारपाक पुगिने भएको पालुङटारका स्थानियहरुले बताएका छन् ।”

सडक योजना कार्यालय गोरखा र निर्माण कम्पनी श्री शान्तिदेबि बस्नेत प्रभात जेभीसँग २०८० फागुन ३० गते सम्झौता भएर २०८२ फागुन ९ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यहि अनुरुप निर्माण कम्पनीले निर्माण कामलाई तिब्रता दिँदै हालसम्म ६५ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको सडक योजना कार्यालय गोरखाले जनाएको छ ।