सुजाता रामेछापको मन्थलीकी हुन् । पढ्नमा राम्रो भए पनि उनको आर्थिक अवस्था त्यति राम्रो थिएन । उनका बुवा खेतीकिसानी गर्थे भने आमा बसपार्कमा सानो पसल चलाउँथिन् । सुजाताको गायिका बन्ने ठुलो चाहना थियो । स्कुलका अतिरिक्त क्रियाकलापमा भाग लिएर उनी आफ्नो क्षमता देखाउँथिन् । उनका साथी र शिक्षक गला अझै तिखार्न हौस्याउँथे तर गाउँलेहरू भन्थे, “यो केटी अहिलेदेखि नै गीत गाएर नखरा पार्न थालेकी छे । गाउँदा गाउँदै स्कुलबाटै पोइल हिँड्छे ।” यस्ता कुराले सुजाताको मन निकै दुख्थ्यो ।
सुजाताको स्कुलको पढाइ सकियो । उनले बुवालाई भनिन्, “म सङ्गीत विषय पढ्छु है बुवा ?” बुवाले भन्नुभयो, “सङ्गीत विषय पढेर के गर्ने ? छिट्टै जागिर पाइने विषय पढेर तिमीले परिवारमा भरथेग गर्नु पर्छ ।” बुवाले यसोभन्दा सुजाता अँध्यारो मुख लगाएर बसिन् । आमाले सुजाताको इच्छाको समर्थन गर्दै भनिन्, “पढोस् न त उसले चाहेको विषय । हामीले जबरजस्ती गर्नुहुन्न क्या !” सुजाताले आमालाई मनमनै धन्यवाद दिइन् ।
सुजाता काठमाडौँ गएर सानोतिनो काम गर्दै सङ्गीत सिक्न थालिन् । उनको स्वर खारिँदै गयो । कामको बोझले उनको शरीर निकै थाकेको हुन्थ्यो । काम नगरे काठमाडौँमा टिक्न सकिने अवस्था थिएन । जति सुकै दुःख भए पनि उनले आफ्नो लक्ष्य छाडिनन् ।
उनले एउटा चर्चित टिभीको गायन आइडल प्रतियोगितामा भाग लिइन् । उनको कोइलीको जस्तो स्वरले निर्णायकहरूको मन जित्यो । दर्शकहरू ‘वान्स मोर, वान्स मोर’ भन्दै चिच्याउन थाले । एकपछि अर्को चरण पार गर्दै उनी फाइनलमा पुगिन् । अन्ततः सुजाता आइडलमा प्रथम भइन् । त्यसपछि अन्यत्रबाट पनि उनलाई बोलाउन थालियो । स्टेज सोबाट पैसा कमाउन थालिन् । सुजता गायन प्रतियोगितामा प्रथम भएपछि उनको गाउँमा पनि खुसियाली छायो । उनलाई गाउन हौसला दिने शिक्षकहरू खुसी भए । चोक चोकमा सुजाताको गायकीको चर्चा चल्न थाल्यो । गाउँकै स्थानीय क्लबले उनलाई गाउँमा स्वागत गर्ने भयो । सुजाता मन्थली आइन् । उनलाई पन्चैबाजाले स्वागत गर्दै नगर परिक्रमा गराइयो । नारा लागिरहेको थियो ‘हाम्रो सुजाता हाम्रो सान, सुजाताले राखिन् गाउँको नाम ।’
उनलाई हेर्न चारैतिरका गाउँका मानिस जम्मा भएका थिए । उनको प्रतिभाको रिस गर्ने र नपत्याउनेहरू पनि रमिता हेरिरहेका थिए । सुजाता क्लबले आयोजना गरेको ‘सुजाता साँझ’ कार्यक्रममा सहभागी भइन् । उनले आफ्नो पहिलो म्युजिक भिडियो पनि सार्वजनिक गरिन् । कार्यक्रममा उनले आफूलाई सबैभन्दा मन परेको गीत गाइन्–
‘उकाली ओरालीहरूमा
भन्ज्याङ अनि चौतारीहरूमा......।’
दर्शकहरू ‘सुजता, वान्स मोर !’ भन्दै थिए । वातावरण उल्लासमय बन्दै थियो । दर्शक खुसीले नाचिरहेका थिए । सबैभन्दा बढी खुसी स्टेजअगाडि बसेका उनका बुवाआमा भएका थिए । छोरीको सफलताले बुवाआमालाई हर्षित बनाएको थियो ।