• २० फागुन २०८१, मङ्गलबार

आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्दै काठेखोलाका आमाहरू

blog

काठेखोला गाउँपालिकाको २ भीमापोखरामा गठित भावना र सरस्वती आमा समूहमा आबद्ध सदस्यहरू आलुको बिउँ रोप्दै । तस्बिर ः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन १९ गते । जिल्लाको काठेखोला गाउँपालिकाका महिलाहरूले आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती थालेका छन् । काठेखोला वडा नं. २ भीमापोखरा, वडा नं. ३ धम्जा र वडा नं. ४ तंग्रामका महिलाहरू समूहमा आबद्ध भएर ‘कार्डिनल जात’को आलु र अकबरे खुर्सानीको बीउ उत्पादनमा जुटेका हुन् ।  

काठेखोला गाउँपालिका र हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बिवाईसी बागलुङद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास तथा बजारीकरण परियोजनाअन्तर्गत काठेखोलाका हरेक वडालाई उत्पादनसँग जोड्न मठे देउराली आमा समूहले धम्जा, भावना र सरस्वती आमा समूहले भीमापोखरा तथा सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले तंग्राममा ‘कार्डिनल जात’को आलुको बीउ उत्पादन गर्न सामूहिक खेती गरेका हुन् । 

काठमाडौँस्थित श्रीराम निकेतन वायोटेक प्रा.लि.बाट प्रतिदाना १८ रुपियाँका दरले २ हजार दाना खरिद गरी समूहलाई वितरण गरिएको बिवाईसीका कार्यक्रम संयोजक चूडामणि उपाध्यायले जानकारी दिनुभयो । मठेदेउरालीलाई १ हजार, भावना÷सरस्वतीलाई ५ सय र सप्तरङ्गी महिला सहकारीलाई ५ सय दाना वितरण गरिएको हो । ‘यो पहिलो पुस्ताको बीउ हो, तेश्रो पुस्तासम्म यसलाई हामीले बीउको रूपमा प्रयोग गर्छाै’ उपाध्यायले भन्नुभयो, ‘उत्पादित बीउ काठेखोलाका सबै वडाहरूमा विस्तार गर्ने परियोजनाको लक्ष्य छ ।’ 

आमा समूहले उत्पादन गरेको बीउ आफ्ना बहिनी समूहसँगै पालिकाका आठ वटै वडा वितरण गरिने छ । आज सानो परिणाममा काम गरे पनि भोलि किसानलाई व्यावसायिक आलु खेतीमा प्रेरित गर्न बीउ उत्पादनमा जोड दिइएको उपाध्यायको भनाई छ । परियोजनाले पाला, भीमपोखरा, धम्जा, तंग्राम, लेखानी, बिहुँ र रेसमा दूध उत्पादन, आलु, बाख्रा, अकबरे खुर्सानी, तरकारी र फलफूल पकेट क्षेत्रको रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ ।

काठेखोलाको भीमापोखरा, रेस र ८ लेखानीमा अकबरे खुर्सानीको पकेट क्षेत्र विस्तार गर्ने परियोजनाको लक्ष्यअनुसार, एउटा वडामा आधा किलो अकबरे खुर्सानीको बीउ वितरण गर्ने तयारी समेत गरिएको छ । ‘हामीले अकबरेको बेर्ना उत्पादन गरेर काठेखोलाका धेरै भाग समेट्न खोजेका हौं तर बीउ अभाव भयो’ उपाध्यायले भन्नुभयो । नेपालभरि खोजी गर्दा प्राप्त भएको एक किलो बीउको अहिले परीक्षण भइरहेको र सफल भएपछि मात्र समूहलाई वितरण गरिने उपाध्यायले जानकारी दिनुभयो । राम्रो बजार रहेको अकबरे खुर्सानीबाट किसानले नगदै आम्दानी गर्न सक्ने परियोजनाले विश्वास लिएको छ । 

यस्तै, परियोजनाले पशुपालनका लागि अत्यावश्यक घाँसको लागि किम्बुको नर्सरी समेत स्थापना गरेको छ । किम्बु बाख्राका लागि उपयुक्त घाँस हो । दाङको स्वर्गद्वारी कृषि फर्मबाट भि–वान जातको २० हजार कटिङ बिरुवा ल्याइएको छ । काठेखोलाको अछते बजारमा एक रोपनी जमिनमा किम्बुको नर्सरी स्थापना गरिएको छ । नर्सरीमा हुर्किरहेका ९५ प्रतिशत किम्बुका बिरुवा असार महिनामा प्रत्येक वडामा दुई हजारका दरले वितरण गर्ने परियोजनाको सोच छ । किम्बुलाई राम्रोसँग हुर्काउन सके अर्को वर्षदेखि बाख्रा पालक किसानलाई घाँसको कहिल्यै समस्या उपाध्यायको भनाई छ । 

गत वर्ष मात्रै लेखानीकी लालकुमारी पुनले अकबरे खुर्सानी विदेश निर्यात गरेर दुई लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको थियो । पुनको फर्मबाट वर्षमा झन्डै ७ क्विन्टल अकबरे खुर्सानी दुबईमा निर्यात भएको थियो । यस्तै, यसअघि तंग्रामस्थित सप्तरङ्गी र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाहरूले बाख्रा बेचेर एकै वर्षमा झन्डै पौने २ करोड रुपियाँ गाउँ भित्राउन सफल भएका थिए ।