• १९ चैत २०८१, मङ्गलबार

युवा, उद्यम र नवप्रवर्तन

blog

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा उद्यमशीलता, साना तथा मझौला विकास विभागद्वारा आयोजनामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायसम्बन्धी दुईदिने सम्मेलन भर्खरै सम्पन्न गरेको छ । कुनै पार्टीले युवालाई नयाँ प्रविधि, उद्यम र सोचसँग जोड्ने आन्तरिक उत्पादनलाई प्रवर्धन गर्ने, नयाँ रोजगारी सिर्जनामा नवीन बहस र अभियान सञ्चालन गर्ने दुर्लभ इनोभेटिभ आइडिया बिरलै देखिन्छन् । यस पटक बिरलै देखिने घनीभूत बहस, विमर्श, जमघट, आशा र उत्साह देखियो । राजनीतिक भाषणमा सधैँ व्यस्त देखिने राजनीतिकर्मी निकै चासो दिएर उद्यमीका नयाँ सोच, समस्या र सफलता सुनिरहेका थिए । 

विभिन्न सत्रमा प्रबुद्ध व्यवसायी देशको अर्थतन्त्रदेखि युवासम्म, नीतिदेखि नतिजासम्म, नियमदेखि नियतसम्म, आफ्नै मौलिकतादेखि नवीनतम् उपाय व्यक्त गरिरहँदा बाहिर विभिन्न स्टलमा नेपाली उत्पादनका वस्तुको सजावटले साँच्चिकै कार्यालय परिसर सज्जिएको थियो । स्टल नियाल्न, किनबेच गर्न व्यस्त थिए नेतादेखि कार्यकर्ता सम्म । त्यो सम्मेलनको सैद्धान्तिक विचार र व्यावहारिक अभ्यास नयाँ आशा, आत्मविश्वास र अवसरको ढोका ढक्ढकाइरहेको अनुभूति देखिन्थ्यो । यस अवसरमा युवा, उद्यम र नवप्रवर्तनका बारेमा मुलकको अवस्था, अवसरका साथै सम्भावना र चुनौतीका सन्दर्भमा राष्ट्रव्यापी बहस, नीतिगत व्यवस्था र व्यावहारिक रूपान्तरण अभियानको सुरुवात अब ढिला गरिनु हुँदैन भन्ने महसुस हुन्थ्यो । 

युवा र रोजगारी 

नेपाल अहिले युवाको देश हो । सक्रिय युवाको बाहुल्यता देशकै ठुलो मेरुदण्ड हो । राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसङ्ख्या ४२.५६ प्रतिशत छ । त्यसमध्ये करिब ६० प्रतिशत युवा वैदेशिक रोजगारीमा छन् । सौभाग्यपूर्ण युवा जनसङ्ख्या भएको महत्वपूर्ण दशकमा देशले विकास र परिवर्तनमा फड्को मार्नुपर्ने बेला हो । विडम्बना, जनगणनाकै तथ्याङ्क अनुसार देशमा १९.८ प्रतिशत युवा पूर्ण बेरोजगार छन् । बर्सेनि पाँच लाख भन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्छन् । तीमध्ये पनि १० प्रतिशत मात्र स्वदेशमा नै रोजगारीका अवसर प्राप्त गर्छन् । विश्व बैङ्कका अनुसार रोजगारीको प्रमुख क्षेत्र निजी व्यवसाय हो जसले ९० प्रतिशत रोजगारी सिर्जना गर्छ । त्यसमा पनि घरेलु, साना तथा मझौला उद्योगको योगदान अझ बढी छ । सरकारी क्षेत्रमा वार्षिक करिब पाँच हजारले मात्र अवसर पाउँछन् । 

नेपालमा युवा बेरोजगारीको अवस्था गम्भीर छ । विभिन्न अध्ययन र सर्वेक्षणहरूले यो समस्या उजागर गरेका छन् । राष्ट्रिय जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार, देशको कुल बेरोजगारी दर १२.६५ पुगेको छ । विशेष गरी १५ देखि २४ वर्ष उमेर समूहमा यो दर २२.७५ रहेको छ । नेपाल श्रमशक्ति सर्वेक्षण त्यस्तै निराशाजनक तथ्याङ्क देखाउँछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत, चालु आर्थिक वर्षमा सूचीकृत बेरोजगारको सङ्ख्या करिब आठ लाख पुगेको छ । तथ्याङ्कको विश्लेषण गर्दा नेपालमा युवा बेरोजगारी दर उच्च रहेको देखिन्छ । यो समस्या समाधान गर्न दीर्घकालीन रोजगार सिर्जना, सिप विकास र उद्यमशीलता प्रवर्धनमा ध्यान दिन आवश्यक छ ।

नेपालमा रोजगारीका बहुआयामिक विषय अझै पनि पहिचान, अभिवृद्धि र निरन्तरता कायम गराउन निकै चुनौती छन् । यही अवस्थामा नेपालमा सबै युवाका लागि रोजगारी सिर्जना हुन सम्भव छैन । यसले दक्ष, अर्धदक्ष र अदक्ष सबै प्रकारका युवालाई रोजगारीको खोजीमा देशबाटै पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ । नवीन सोच, प्रविधि, लगानी स्टार्टअप रोजगारी सिर्जनाको आधार बन्न सक्छन् । सरकारले के कस्ता नीतिमार्फत नवप्रवर्तनको प्रोत्साहन गर्ने योजना बनाइरहेको छ भन्ने प्रश्न उठिरहेका छन् । युवा जनसङ्ख्याको अवस्था, क्षमता र लाभको उपभोग गर्न सक्दैनौँ भने आर्थिक समुन्नति सम्भव होला र ? 

उद्यम र उत्पादन 

देशमा जसरी युवामय लाभ सुनौलो अवसर हो । उद्यमको विकास, विस्तार गरी उत्पादकत्व र उत्पादनलाई अभिवृद्धि गर्नु मुलुकको अर्को रूपान्तरण पनि हो । हाल सरकारले के कस्ता उद्यमलाई प्रवर्धन गर्दै छ ? के के उत्पादनमा नेपाल आत्मनिर्भर छ ? कस्ता उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य छ ? अहिले पनि नेपालमा कृषि व्यवसायमा करिब ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या निर्भर छ । 

नेपालमा उद्यम व्यवसायको वातावरण क्रमिक रूपमा सुधार हुँदै गएका छन् । स्वदेशमै उत्पादन र रोजगार, स्थानीय तहमा उत्पादन र प्रवर्धन कार्यक्रम सञ्चालन गरी लघु तथा साना उद्योग सञ्चालन गर्नु पर्छ । बाँझो र उपयोगविहीन जमिन उपभोग गरी उद्यमी बन्न प्रोत्साहन गर्नुपर्ने खाँचो छ । स्वदेशी कच्चा पदार्थमा आधारित लघु, घरेलु, साना र मझौला उद्योगलाई प्रशोधन र प्रविधि स्तरोन्नतिका साथै भण्डारण र बजारीकरणलाई सहयोग गर्नाले गाउँ–गाउँमा सञ्चालन भइरहेका र बन्द भएका साना तथा घरेलु उद्योग पुनः सञ्चालनमा आउनुका साथै युवा उद्यमी र रोजगार उन्मुख हुन सक्ने नयाँ विकल्प हुन सक्छ । 

उत्पादनका कुन कुन क्षेत्रमा हामी आत्मनिर्भर हुन सक्ने सम्भावना छ ? हाम्रो बजारमा के र कति वस्तुको माग रहन्छ ? के कस्ता वस्तु हामीले आयात गर्नुपर्ने बाध्यतामा छौँ । हामी कहाँ उत्पादन छ तर असन्तुलित उत्पादन छ । सिजनमा हामीलाई चाहिनेभन्दा बढी उत्पादन हुन्छ । भण्डारण गर्ने जोगाउने हामीसँग पर्याप्त प्रविधि र सुविधाको कमी छ । त्यस्ता वस्तुबाट प्रशोधन गरेर अन्य वस्तुको उत्पादन गर्ने उद्योगको स्थापना पनि पर्याप्त रूपमा स्थापना हुन सकेका छैनन् । 

हामीले कृषिजन्य साना तथा मझौला व्यवसायलाई लगानीको प्रोत्साहन गरेर आर्थिक रूपान्तरणमा प्रवर्धन गर्नुपर्ने प्रभावकारी नीतिको खाँचो छ । कृषि उत्पादनमा युवाको आकर्षण बढाउन सके स्थानीय उत्पादनलाई व्यावसायिक विकास, अवसर र आत्मविश्वास बढाउन सकिने छ । राज्यलेस्वदेशी उत्पादनलाई वृद्धि गर्ने हो भने केही करका नीतिमा परिर्वतन गर्न जरुरी छ । सरकारले बाह्य आयतबाट राजस्व आर्जन गर्छ । उपभोक्तालाई अन्तर्राष्ट्रिय वस्तु र प्रतिस्पर्धा सुविधा दिन्छु भनेर मात्र हुँदैन । सरकारले उपभोग र प्रयोग गर्ने वस्तु तथा सेवा स्वदेशी नै प्रयोग गर्ने अनिवार्य नीति लिनु पर्छ । राजनीति दलले पनि स्वदेशी उत्पादनलाई नै प्राथमिकता राख्न जोड दिनु जरुरी छ । 

कृषि क्षेत्रको अनुसन्धानलाई हेर्ने हो भने यो पर्याप्त छैन । बाँझो भूमिको उपयोगका लागि सरकारले प्रभावकारी योजना ल्याउन सकेको छैन । उत्पादन बढाउन जैविक विविधता र माटोको स्वच्छता, बिउको स्वस्थता र समय अनुसारको प्रविधिलाई अझै पनि हामीले आत्मसात् गर्न सकेका छैनौँ । एकातिर, बढ्दो बसाइँसराइ, युवा पलायन, बेरोजगारी, गरिबी जस्ता विषय गम्भीर बन्दै छन् । अर्कातर्फ, कृषि भूमि बाँझो हुँदै जाने उत्पादन झन्झन् घट्दै जाने साना तथा मझौला उद्यमीका समस्याका बारेमा सरकार बेखबर भएको हो कि भन्ने महसुस हुन्छ । बर्सेनि ठुलो मात्रामा हामीले सामान्य कृषिजन्य वस्तु नै आयात गर्नुपर्ने बाध्यतामा छौँ, जसले हाम्रो व्यापार घाटालाई नै बढाइरहेको छ । 

सोच र नवप्रवर्तन 

नेपाली मौलिकतालाई जोगाई राख्नु, विकास र संवर्धन गर्नु हामीसामु ठुलो चुनौती छ । बर्सेनि इनोभेटिभ युवामार्फत स्टार्टअफका लागि हजारौँ प्रस्ताव आउँछन् तर त्यी नवीन सोच रद्दीको टोकरीमा वा सरकारी कार्यालयका घर्रामा थन्किएर बस्छन् । हामीले उनीहरूका योजना सुन्दैनौँ । उनीहरूलाई प्रभावकारी ढङ्गबाट लगानीको वातावरण र प्रोत्साहन गर्न सकेका छैनौँ । २०७८ सालदेखि कर्मचारीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराई नीति तर्जुमा, विकास निर्माण, सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा नविन सोच कार्यान्वयन गर्न सकेका छैनौँ । हामीले युवा, उद्यम र नवप्रर्वतनलाई राष्ट्रिय समृद्धिसँग जोड्न सकेनौँ भने निर्दिष्ट लक्ष्यमा कसरी पुग्न सक्छौँ ?

नेपाल सरकारले आव २०८०/८१ को बजेट वक्तव्यमार्फत आवमा सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनुका साथै अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको अवस्था छ । कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनुका साथै सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रम यसमा आबद्ध गर्नु सुखद पक्ष हो । प्रदेश र स्थानीय तहलाई पनि उक्त कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने नीतिले नयाँ स्टार्टअपका लागि सकारात्मक भूमिका खेल्ने देखिन्छ । 

नेपालमा अहिले पनि कुन क्षेत्रमा कति रोजगारीका नयाँ अवसर छन् । कृषिदेखि एआई आइटीसम्म कस्ता सम्भावना देखिन्छन् । अझै पनि सरकारले युवालाई कुन मार्गमा हिँडाउन खोजेको छ भन्ने स्पष्ट मार्गचित्र नीति, कार्यक्रम र बजेटको तादाम्यता छैन । नवीन ज्ञान, सिप र क्षमता भएका उद्यमलाई व्यवसाय गर्नका निम्ति युवालाई आशा, अवसर र आत्मविश्वास चाहिएको छ । पहिलो स्वदेशमा नै पौरख र पसिना बगाउने उत्प्रेरणा चाहिएको छ । जबसम्म आफ्नो माटो कोट्याउने नीति लिन सक्दैनौँ कुनै पनि अन्य वैकल्पिक उपायले हामी समुन्नति तर्फको यात्रा प्रारम्भ हुन सक्दैनौँ । 

युवा उद्यम, साना मझौला व्यवसाय र नवप्रवर्तक स्टार्टअपलाई नीतिगत र व्यावहारिक रूपमा पनि अझै व्यवस्थित, उपलब्धिमूलक र आकर्षित बनाउन सामूहिक प्रयत्नको खाँचो देखियो । संसद्को सबैभन्दा ठुलो दल र सरकारको प्रमुख साझेदारी दल कांग्रेस हो । सरकारका नीतिगत विषयमा समावेश गर्ने, कार्यक्रम ल्याउने र नतिजा देखाउने, घोषणापत्रको साकार गर्ने एउटा नवीन आधार पनि तय हुन सक्छ । अहिले नयाँ प्रकृतिको सम्मेलन आयोजना गरेको कांग्रेसले भाबी दिनमा यो सम्मेलनपश्चात् यस्ता नयाँ उद्यम सुरु भए । नयाँ रोजगारी सिर्जना र उत्पादनमा आत्मनिर्भरता ल्याउन नीति र नतिजामा प्रस्ट देखिनुपर्ने चुनौती र अवसर पनि उत्तिकै छ ।

अन्त्यमा देशको आर्थिक, सामाजिक तथा शासकीय पद्धतिको रूपान्तरणमा युवा, उद्यम र नवप्रर्वतनको भूमिका ठुलो छ । यसर्थ, युवाका लागि रोजगारीमा जोड्ने शिक्षासँगै देश र समाजप्रति दायित्वबोध गराउने र श्रमप्रति सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी छ । यसले शिक्षा र रोजगारीको खोजीमा विदेश जाने युवालाई स्वदेशमै भविष्य खोज्ने बनाउन सकिने छ । युवालाई स्वदेशमै अवसर दिनका लागि सरकारले मात्र होइन, निजीक्षेत्र, गैरसरकारी सङ्घसंस्था र समुदायको पनि सहकार्य आवश्यक छ । युवाका नयाँ विचार र प्राविधिक ज्ञानलाई देशको विकास, राजनीति र निर्णय प्रक्रियामा सहभागिताका लागि अब ढिला गरिनु हुँदैन ।