• १९ चैत २०८१, मङ्गलबार

विद्यार्थीको भविष्यप्रति चिन्ता

blog

हालै भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी, उडिसा, भारतमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्या प्रकरणले नेपाल र भारत दुवै देशमा तहल्का मच्चायो । प्रकृति निजी क्षेत्रको प्रतिष्ठित मानिएको केआइआइटी (किट) विश्वविद्यालय भनिने सो इन्स्टिच्युटमा बिटेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । २० वर्षीया प्रकृति भैरहवा निवासी सुनिल लम्सालकी छोरी हुन् । उनी यही फेब्रुअरी १६ अर्थात् फागुन ४ गते विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा भेटिएकी थिइन् ।

यो यस्तो घटना थियो, जुन एक विद्यार्थीको सामान्य मृत्यु जस्तो मात्र नभएर दुई देशको सम्बन्धलाई प्रभाव पार्न सक्ने घटना थियो । जस्तो परिस्थितिमा प्रकृतिको मृत्यु भयो, त्यो शङ्कास्पद थियो । यसका पछाडि एक भारतीय विद्यार्थी थिए भन्ने तथ्य बाहिर आए । उनी लखनउ निवासी २१ वर्षीय अद्विक श्रीवास्तव थिए । प्रकृति र अद्विक पहिले प्रेममा रहेको र दुवैबिच सम्बन्ध टुटेपछि अद्विकले प्रकृतिलाई ब्ल्याकमेल गरी मानसिक यातना दिने गरेको बताइएको छ । 

आफूमाथि भइरहेको मानसिक यातनापछि प्रकृतिले विश्वविद्यालय प्रशासनसँग सहयोगका लागि गुनासो गर्दा पनि प्रशासनले बेवास्ता गर्दा यस्तो घटना हुन पुगेको बताइएको छ । घटनापछि इन्स्टिच्युटले घटना लुकाउने प्रयास गर्दा नेपाली विद्यार्थीले विरोध गरे । आवाज दबाउने नियतले इन्स्टिच्युटका पदाधिकारी तथा प्राध्यापकले नै नेपाली विद्यार्थीलाई तल्लो स्तरको गाली गर्दै उनीहरूलाई बलपूर्वक निष्कासन गरिने वा कारबाही गरिने धम्की दिइएको मात्र होइन कि उनीहरूमाथि कुटपिटसमेत भएका भिडियो पनि भाइरल भए । भिडियोमा कर्मचारी तथा प्राध्यापकले नेपाली विद्यार्थीलाई सित्तैमा खुवाएर राखेको, विश्वविद्यालयको बजेट नेपालको बजेटभन्दा बढी हुने जस्तो नेपाली राष्ट्रि«यतालाई होच्याउने अभिव्यक्ति दिएका थिए । यसपछि विद्यार्थीलाई निष्कासन गरिएको र सयौँको सङ्ख्यामा नेपाली विद्यार्थी बेखर्ची र अस्तव्यस्त अवस्थामा नेपाल फर्कन बाध्य बनाइएका थिए । 

उनीहरूलाई बस तथा रेलवे स्टेसनसम्म पु¥याएर अलपत्र छोडिएको थियो । उनीहरूका मोबाइल फुटाउनुका साथै उनीहरूका मोबाइलबाट भिडियो डिलिट पनि गरिएका थिए । यसले नेपाली जनमानस उद्वेलित हुने नै भयो । जसका कारण सम्पूर्ण नेपालीले नेपाली विद्यार्थीको मागप्रति समर्थन जनाए र प्रकृति लम्सालले न्याय पाउनुपर्ने पक्षमा आवाज उठाए । नेपाली विद्यार्थीले पनि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै प्रकृतिलाई न्याय र दोषीलाई उचित कारबाहीको माग गरेका थिए ।

नेपाल सरकारले पनि यसलाई गम्भीरतापूर्वक लियो र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले समस्या समाधान गर्ने पहल थाल्यो । यो एक गम्भीर घटना थियो र पढ्न भनेर विदेश गएका छोराछोरीलाई कुन दिन के हुन्छ भनेर बाबुआमाले चिन्ता लिनुपर्ने विषय थियो, जसले हजारौँ परिवारलाई प्रभाव पार्न सक्थ्यो ।

यति मात्र होइन यस घटनाले नेपाल–भारतबिच नै तिक्तताको वातावरण सिर्जना गर्न सक्थ्यो । यो घटना मानव अधिकार हननको विषय पनि भएकाले भारतमा पनि मानव अधिकारवादी तथा अन्य सङ्घसंस्था र सञ्चार माध्यमले एक विद्यार्थीमाथि भएको अन्यायको विरुद्ध साथ दिए । यसका लागि नेपालको मानव अधिकार आयोगले पनि भारतको मानव अधिकार आयोगसमक्ष पत्र लेखी निष्पक्ष छानबिनका लागि आग्रह गरेको थियो । फलतः कीट प्रशासन आफ्नो गल्ती सुधार्न बाध्य भयो । नेपाली विद्यार्थीसँग माफी मागिएका भिडियो पनि बाहिर आए । 

यसबाट जोकसैबाट भएको भए पनि अन्याय सहनु हुँदैन भन्ने प्रमाणित भयो र निष्कासन गरिएका विद्यार्थीलाई पनि फिर्ता आउन अनुरोध गरियो । त्रासपूर्वक लखेटिएका विद्यार्थी फर्कंदा सुरक्षा अवस्था कस्तो हुने भन्ने ख्याल राख्नैपर्ने विषय हो । यसमा भारतस्थित विद्यार्थीका सङ्घसंस्था तथा सामाजिक संस्थाले ध्यान दिनैपर्ने हुन्छ । नत्र त्यहाँ अध्ययनरत हजारौँ विद्यार्थीले यस्तै किसिमका दुव्र्यवहार भोग्नु नपर्ला भन्न सकिँदैन ।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत सम्बद्ध अधिकारीले चासो लिई दुई देशबिचको सम्बन्धलाई प्रभाव पार्न सक्ने यो विषयलाई सुल्झाउन प्रयास गर्नुभयो । फलतः दूतावासले पनि विश्वविद्यालयसँग संवाद थाल्यो । केही न्यायप्रेमी भारतीय सङ्घसंस्था र सञ्चार माध्यमले पनि यसमा साथ दिए । यसो नभएको भए नेपाल–भारत सम्बन्धमा असर त पथ्र्यो नै भारतले पनि हजारौँ नेपाली विद्यार्थी गुमाउनुपर्ने स्थिति आउन सक्थ्यो ।

नेपालबाट र भारतभित्रै पनि विभिन्न क्षेत्रबाट आलोचना हुन थालेपछि भारतीय प्रहरीले आरोपी अद्विकलाई भुवनेश्वरस्थित विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरी छानबिन थालेको छ । साथै, नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने विश्वविद्यालय प्रशासनका कर्मचारी, प्राध्यापक तथा गार्डलाई पनि पक्राउ गरी कारबाही अगाडि बढाइएको छ । नेपाली विद्यार्थीलाई कुटपिट गर्न बाहिरी मानिस र गुन्डा पनि प्रयोग गरिएको नेपाली विद्यार्थीको आरोप छ । यस विषयमा उडिसाको प्रान्तीय सरकारले पनि छानबिन थालेको र विश्वविद्यालयका संस्थापक अच्युत सामन्तसँग पनि बयान लिएको छ । घटनाको निष्पक्ष छानबिन हुनु पर्छ र दोषीलाई कडा कारबाही गरिनु पर्छ । 

यस घटनाबाट नेपाली विद्यार्थी तथा विद्यार्थीका अभिभावकले पनि शिक्षा लिनुपर्ने अवस्था आएको छ । विद्यार्थीले भारतमा पैसा तिरे अनुसार सम्मानपूर्वक र स्वतन्त्र वातावरणमा शिक्षा लिने अवसर पाएका छन् कि छैनन् त्यसमा चनाखो भइरहनु पर्छ । विद्यार्थीका अभिभावकले पनि आफ्ना छोराछोरी के कस्तो वातावरणमा कसरी अध्ययन गरिरहेका छन् र उनीहरू सुरक्षित छन् कि छैनन् भनी बेलाबखत चासो लिनु पर्छ ।

हिजोआज सामाजिक सञ्जालबाट विद्यार्थीले धेरै कुरा सिक्ने अवसर पनि पाएका छन् भने कतिपय भने यसबाट प्रताडित पनि हुने गरेका छन् । यसैले आफ्ना छोराछोरी सामाजिक सञ्जालको खराब असरबाट बच्न सक्षम छन् कि छैनन्, अभिभावक पनि सचेत भई छोराछोरीको मनोदशा बुझेर उचित सुझाव र रेखदेख गर्नुपर्ने हुन्छ ।

विदेशी भूमिमा अध्ययनरत विद्यार्थीले पनि आफ्ना अभिभावकको लगानी खेर जान नदिन आफू के गर्दै छु र कसरी देश फर्केर आफ्नो देशमा सेवा गर्न सक्छु भन्नेमा सचेत हुनु पर्छ । आफूलाई असहज लागेको कुरा बाबुआमालाई पनि खबर गर्न सक्नु पर्छ । साथै, आफू खराब सङ्गतमा लाग्नबाट पनि बच्नु पर्छ ।

प्रकृतिको आत्महत्याबाट शिक्षा लिई सबै नेपाली विद्यार्थीले आफू सुरक्षित हुनु आवश्यक छ । प्रकृतिका जस्ता घटना अब दोहोरिन नदिई कसैको पनि ज्यान जाने अवस्था नआओस् भनी सचेत भइरहनु आवश्यक छ । 

यसैबिच डर र त्रासबिच नेपाल फर्केका कीटका विद्यार्थीका लागि भर्ना लिने बताउँदै त्रिभुवन विश्वविद्यालयले पनि दरखास्त आह्वान गरेको छ । साथै, काठमाडौँ विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयले पनि यस्तो अवसर दिन सकिने बताएका छन् । सकभर त नेपाली विद्यार्थीले आफूले पढ्न चाहेको विश्वविद्यालयबाटै पढाइ पूरा गर्न पाउनु उनीहरूको अधिकार हो । उनीहरू त्यहाँ सुरक्षित अनुभव गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा प्रमुख हो । डर, त्रास र आशङ्काबिच उनीहरूले निश्चय नै पढ्न सक्ने छैनन् । नेपाली विद्यार्थी सङ्गठनले उनीहरूलाई आश्वस्त गराउन सक्छन् भने साविक विश्वविद्यालयबाटै पढाइ पूरा गर्नु राम्रो हुन्छ । 

विद्यार्थी फर्कन चाँहदैनन् भने उनीहरूलाई समकक्षतामा असर नपर्ने गरी नेपाली विश्वविद्यालयका समान कार्यक्रममा समावेश गरी पढाइ पूरा गर्ने अवसर दिनु वाञ्छनीय हुन्छ । विद्यार्थीलाई एक वर्ष त के छ महिना पनि पढाइमा असर प¥यो भने उनीहरूको मानसिकतामा ठुलो असर पर्छ । अभिभावकको लगानी पनि अनाहकमा डुब्न दिनु हुँदैन ।

यस कारण नेपालका सम्बद्ध पक्षले नेपाली विद्यार्थीको सुरक्षालाई ध्यानमा राखी उचित कूटनीतिक या अन्य माध्यमबाट दबाब बढाई विद्यार्थीको हितमा काम गर्नु पर्छ भने अनाहकमा ज्यान गुमाउन बाध्य प्रकृति र उनको परिवारलाई न्याय अनुभूत गराउन कुनै कसर बाँकी राख्नु हुँदैन ।